+
+

आर्मीलाई तीन अंकको अग्रता, भरत ५० गोल नजिक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते २०:१९

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा सोमबार च्यासल युथ क्लबमाथि ३–० को जित हात पार्दा त्रिभुवन आर्मी क्लबलाई दुई अर्थमा महत्व रह्‍यो ।

पहिलो, यो जितले आर्मीले अंक तालिकामा ३ अंकको स्पष्ट अग्रता बनायो ।

दोस्रो, नेपाल शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति शशी किरण रायमाझीलाई जन्मदिनको उपहार भयो ।

दुवैमा प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवास खुशी देखिन्थे । सातौं चरणको खेल समाप्तीपछि आर्मी १६ अंक जोड्दै लिग तालिकामा शीर्ष स्थानमा छ । आर्मीभन्दा पछाडि रहेको मछिन्द्र क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लबको समान १३ अंक छ । मछिन्द्र गोल अन्तरमा अगाडि छ ।

दशरथ रंगशालामा च्यासलविरुद्ध जित हात पार्ने क्रममा आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफमा च्यासलले केही अवसर पाएपनि गोल गर्न सकेन । दोस्रो हाफमै खेलाडीले राम्रो खेलेको र गोल गर्न सफल भएको प्रशिक्षक नवीन न्यौपानेले बताए । ‘हामीले पहिलो हाफमा राम्रो खेल्न सकेनौं । दोस्रो हाफमा अग्रता लिएपछि सजिलो भयो’ न्यौपानले भने, ‘काउन्टरमा गोल गर्न सफल भयौं, यसले सहज बनायो । ३ अंक हाम्रो लागि महत्वपूर्ण थियो, त्यो लिन सफल भयौं ।’

प्रशिक्षक न्यौपानेले यो तीन अंक शशी किरणलाई जन्मदिनको उपहारका रुपमा डेडिकेट गरे । ‘आज करसा’बको जन्मदिन थियो । उहाँले पनि खेल हेरिरहनुभएको थियो’ न्यौपानेले भने, ‘यो खेल जितेर उपहार दिने चाहना थियो, त्यसमा सफल भयौँ ।’

सातौं चरणकै पहिलो खेलमा मछिन्द्र, हिमालयन शेर्पासँग पराजित भएपछि आर्मी यो सिजन पहिलो पटक लिगको शीर्ष स्थानमा पुगेको थियो । मनाङ र थ्री स्टारले बराबरी खेल्दा पनि आर्मीलाई नै फाइदा भयो । र, अहिले ३ अंकको अग्रता लिन सफल भयो ।

तर यसले टिममा दबाव पनि हुने प्रशिक्षक न्यौपेनेले बताए । ‘शीर्ष स्थानमा पुग्न जति गाह्रो हुन्छ, त्यसलाई कायम राख्न झन गाह्रै हुन्छ’ उनले भने, अर्को खेल एनआरटीसँग छ । त्यसपछि पुलिस र मछिन्द्रसँग खेल बाँकी नै छ ।’

यद्यपि आफ्नो टिमले उपाधि जित्ने लक्ष्य लिएको र त्यसका लागि मेहनत गरिरहने उनले बताए ।

आर्मीको जितमा ५८औं मिनेटमा पहिलो गोल गरेका भरतले पनि ३ अंक जोड्दा खुशी लागेको बताए । ‘टिमको लागि गोल गर्दा खुशी छु’ उनले अघि भने, ‘अहिले भएका कमीकमजोरी सुधारेर उपाधि जित्ने कोशिश गर्नेछौं ।’

लिगमा भरतको गोल संख्या पनि ४७ पुगेको छ । खेलको ७३औं मिनेटमा आर्मीले पेनाल्टी पाउँदा भरतलाई ५० गोल नजिक पुग्ने अवसर थियो । तर उनले सन्तोष तामाङलाई पेनाल्टी हान्न दिए । खेलपछि भने उनले ५० गोल नजिक पुग्ने थाहा नभएको सुनाए । ‘पेनाल्टी पाएपछि सन्तोषले म हान्छु दाइ भन्यो । मैले पनि पहिलो गोल हुन्छ उसको भनेर दिएँ’ भरत भन्छन्, उसले थ्री स्टारविरुद्ध गोल गरेको मैले बिर्सिएछु । नत्र त्यो पेनाल्टी मै आफैं हान्थे होला ।’

आर्मीसँग हारेपछि च्यासल दबावमा परेको छ । लिगको पहिलो खेलमै साविक विजेता संकटा क्लबलाई २-० ले पराजित गर्दा जस्तो उत्साह च्यासलमा थियो, ७ खेलपछि च्यासल अर्कै बनेको छ । ७ खेलबाट त्यही एक जित र ३ बराबरीबाट च्यासलको ६ अंक मात्र छ । च्यासलको यो तेस्रो हार हो ।

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले नतिजाबाट निराश बनेको प्रतिक्रिया दिए । ‘टिममा धेरै समस्याहरु छ । जती खेल्दै गयो उती समस्या आइराछ’ उनले भने ।

खेलाडीमा कमिटमेन्टको अभाव भएको उनले सुनाए । ‘टिम सेटअप अनुसार नखेल्ने, आफ्नै अनसार खेल्ने भइरा’छ । टिम गेम खेल्नुपर्ने त्यो भएको छैन’ साहुखलले भने ।

आर्मीविरुद्ध पहिलो हाफमा राम्रो खेल्दै केही अवसर बनाएपनि त्यसको फाइदा लिन नसकेको उनले सुनाए । अहिलेको अंकतालिका हेर्दा च्यासल रेलिगेशन ब्याटलमै रहेको प्रशिक्षकसाहुखलले बताए । ‘अब खेल जित्नुपर्छ य गेम त्यो गेम भन्ने छैन’ उनले अघि भने, ‘हाम्रो लागि अब हरेक गेम महत्वपूर्ण हुन्छ ।’

७ खेलबाट ६ अंक रहेको च्यासल पुछारबाट तेस्रोमा छ । च्यासलपछि रहेको एपीएफको ५ र सरस्वती युथ क्लबको १ अंक छ । यो सिजन एक टिम मात्र रेलिगेसनमा पर्ने भएकोले सरस्वतीमाथि रेलिगेसनको दबाब धेरै छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?