Comments Add Comment

‘हिटर बालेर होइन, झ्यालढोका बन्द गरेर हिटर बाल्दा ज्यान जान्छ’

सोमबार भारतको केरलाबाट नेपाल घुम्न आएका १५ जना पर्यटक मकवानपुर थाहा नगरपालिकाको एभरेस्ट पानोरमा रिसोर्टमा बस्न पुगे । उनीहरुले १११ देखि ११५ नम्बरसम्मको कोठा बुक गरेका थिए । केरलाको गर्मीमा बसेका उनीहरुलाई दामनको तापक्रम अत्यधिक चिसो लाग्यो । कोठामा ‘इलेक्ट्रिक बेड’ भए पनि उनीहरुले ‘रिसेप्सन’बाट हिटर लगे । अर्को कोठामा सुतिरहेकाहरु त्यही कोठामा हिटर ताप्न आए । तर कोठाको झ्यालढोका खुल्ला छाडेनन् ।

हिटरको तातोले निदाएका उनीहरु बिहान अबेरसम्म उठेनन् । होटलका कर्मचारी चिया लिएर जादाँ अचेत अवस्थामा थिए । तत्कालै हेलिकप्टरमार्फत काठमाडौं स्थित ह्याम्स अस्पतालमा ल्याइयो । आईसीयूमा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरे । उनीहरुको मृत्युको कारण ‘हिटर’ बालेर सुत्दा निसास्सिएर भनियो ।

****

गत वर्ष पुषको पहिलो सातामा हिटरबाट काठमाडौंको कलंकीको एक कोठामा आगलागी भयो । झ्याल ढोका बन्द गरेको कारणले इन्जिनियर दम्पत्ति पुष्कर जोशी र अप्सरा श्रेष्ठ कोठाबाट निस्किन सकेनन् । घाइते भएका भइसकेपछि उनीहरुले बल्लतल्ल झ्यालको शिशा फुटाए । लगत्तै अस्पताल पुर्‍याइएको उनीहरुको ५ दिनको फरकमा मृत्यु भयो । घटनामा घाइते भएका डेढ वर्षका छोरा मात्र बाँच्न सफल भए ।

****

पुषकै अन्तिम साता नयाँ बानेश्वरको होस्टलमा नुहाउने क्रममा स्वस्तिका तामाङको मृत्यु भयो । झापा घर भएकी स्वस्तिकाको साथी क्रान्तिका बुवा पदमको भोलिपल्ट ५ बजे कुवेत जाने फ्लाइट पक्का भएको थियो । पदमले होस्टलमा बस्ने छोरी क्रान्तीलाई ब्लांकेट लिन कोटेश्वर बोलाए थिए । क्रान्तिसँगै कोटेश्वर जान तयारी हुन भन्दै स्वस्तिका नुहाउन बाथरुम छिरिन । तर डेढ घण्टा बितिसक्दा पनि उनी निस्किइनन् । ढोका पनि खुलेन । क्रान्तिले बाथरुमको भेन्टिलेसन फुटाइन् । बाथरुममा ढलिरहेकी स्वस्तिकाको शरीर चिसो भइसकेको थियो । हतार हतार बानेश्वरको सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरे ।

****

माथिका तीन प्रतिनिधि घटनाहरुमा एउटै समानता छ, ‘तीनवटै घटना भएको कोठाको झ्याल ढोका बन्द थियो ।’

जनरल फिजिसियन परशुराम घिमिरे भन्छन्, ‘झ्याल ढोका बन्द भएको कोठामा अक्सिजनको मात्र अत्यन्तै कम हुन्छ र कार्बन मोनो अक्साइड उत्पादन हुने सम्भावना ज्यादा ।’

अक्सिजनको मात्रा कम भएको कोठा मानिसको लागि त्यसैपनि खतरा हुन्छ । अझ ग्यास हिटर बाल्दा आगोको तापक्रमले अक्सिजन सोस्ने र कार्बन मोनो अक्साइड फाल्छ । हामीले सास फेर्दा पनि कार्बन मोनो अक्साइड फाल्छौं र हिटरले पनि । यसले गर्दा अक्सिजनको मात्रा नभएर हाम्रो ‘मल्टी अर्गान फेल’ हुन जान्छ’ उनी भन्छन्, ‘फोक्सोले अक्सिजन नपाएपछि हाम्रो मष्तिष्क चल्दैन र मानिस बेहोस हुन्छ ।’

कार्बन मोनो अक्साइडले घरलाई विषाक्त बनाउने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । सवारी साधन वा ताप उत्पन्न गर्ने उपकरणबाट यो ग्यास निस्कन्छ । अक्सिजनको ठीक उल्टो स्वाभाव हुन्छ यो ग्यासको ।

कार्बन मोनो अक्साइडमा के हुन्छ, जसको कारण मानिसको मृत्यु हुन्छ ?

स्वास्थ्यसम्बन्धी वेबसाइट वेबमेडकाअनुसार शरीरका तन्तुहरुमा अक्सिजन पुर्‍याउने काम रातो रक्तकोषिकाहरुले गर्छन् । अक्सिजन नभएको अवस्थामा रातो रक्तकोषिकाहरुले कार्बन मोनो अक्साइडलाई सजिलै ग्रहण गर्छ । राता रक्तकोषिका मार्फत शरीरका तन्तुका कार्बन मोनो अक्साइड फैलिएपछि मष्तिष्कले सधैंका लागि काम गर्न छोड्छ । टाउको दुख्ने, झुम्म हुने, कमजोर हुने, रिंगटा लाग्ने, वाकवाक लाग्ने र मुर्छा पर्ने जस्ता लक्षणहरु देखा पर्दा पर्दै मुटुको चाल बन्द हुनसक्छ ।

यो पनि पढ्नुहोस हिटर प्रयोग गर्दा के के कुरामा सावधानी अपनाउने ?

कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुनजान्छ र यसको सिधा असर मष्तिष्कमा पर्न जान्छ । वेबमेडले लेखेको छ, ‘कोठाभित्र अक्सिजन कम हुनेबित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ । यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ । जसको परिणाम भयानक हुन्छ ।’

हिटरमा जस्तै गिजरमा पनि उस्तै प्रकिया लागू हुने बताउँछन् डाक्टर घिमिरे । उनको अनुसार बाथरुममा गिजर खोल्दा झ्याल ढोका बन्द हुनासाथ मानिस बेहोश भएर ढल्ने सम्भावना हुन्छ । ‘बन्द कोठामा त्यसै अक्सिजन कम हुन्छ झन गिजर खोलेपछि त अक्सिजन रहने चान्स नै हुन्न’ घिमिरे भन्छन्, ‘बाहिरी हावा छिर्ने किसिमले झ्याल खोल्यो भने मानिस मर्ने खतरा हुन्न । हामीले बुझ्नुपर्ने कुरा के हो भने हिटर बाल्नु खतरा होइन, झ्याल ढोका बन्द गरेर हिटर बाल्नु चाहिँ खतरा हो ।’

वेबमेडकाअनुसार हिटरको माध्यमबाट कोठालाई न्यानो बनाउनु परे झ्याल ढोका खुला राख्नुपर्छ । यसो गरे कार्बन मोनोअक्साइडजस्ता विषालु रसायनहरू कोठाबाट बाहिर निस्किन पाउँछन् र अक्सिजन भित्र जान्छ ।

कतिपय अवस्थामा हिटर जस्ता उपकरण खराबी हुदाँ पनि अत्यधिक कार्बन मोनो अक्साइड उत्पादन हुन्छ । त्यसैले हिटर जस्ता उपकरणहरु नियमित जाँच गर्नुपर्छ । हिटरमा आगोको ज्वाला केही निलो नभइ पहेंलो छ भने त्यसमा केही गडबढी भएको बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment