Comments Add Comment

राष्ट्रियसभामा नेकपाका १६ र राजपाका २ निर्वाचित

९ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् ।

विपक्षी नेपाली कांगे्रसले पूर्वानुमान अनुसार नै एकसीट पनि जितेन । विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट घटेको छ ।

राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो ।

प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरी २÷२ सिट बाँडफाँट गरेको थियो । र, नतिजा पनि सोही अनुसार आएको छ ।

प्रदेश १

प्रदेश १ बाट नेकपा उम्मेदवारहरु गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अछामी दलिततर्फका सदस्य हुन् भने गौतम महिला र दाहाल अन्यतर्फका सदस्य हुन् ।

अछामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए ।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।

प्रदेश २

प्रदेश २ मा नेकपाका तुलसा दाहाल र राधेश्याम पासवान तथा राजपाका मृगेन्द्रसिंह यादव र शेखर सिंह निर्वाचित भए ।

दाहाल महिला सदस्य र पासवान दलित सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै यादव अन्य समूहबाट र सिंह अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट निर्वाचित भएका हुन् ।

५ हजार २ सय ८ मतभारसहित विजयी भएकी नेकपाकी दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई हराइन् । यादवले ४ हजार ७ सय ४० मतभार पाइन् ।

५ हजार २ सय ९२ मतभारसहित विजयी भएका पासवानले समाजवादी पार्टीका रामप्रित पासवानलाई पराजित गरे । पासवानले ४ हजार ७ सय ४ मतभार पाएका थिए ।

राजपा उम्मेदवार मृगेन्द्र सिंह यादवले आफ्नै भाइसमेत रहेका समाजवादी पार्टीका अनिरुद्र यादवलाई पराजित गरे । मृगेन्द्रले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए ।

राजपाका शेखर सिंहले नेपाली कांग्रेसका भोला पञ्जियारलाई पराजित गरे । सिंहले ५ हजार ५ सय २ र पञ्जियारले ४ हजार ५ सय १२ मतभार पाए ।

प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको थियो ।

बागमती प्रदेश

बागमती प्रदेशमा महिलामा गंगाकुमारी बेलबासे र अन्य समूहमा बेदुराम भुसाल निर्वाचित भए । बेलबासेले ६ हजार ८ सय २८ र भुसालले ६ हजार ८ सय १० मतभार पाए ।

बेलबासेले कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेलाई पराजित गरेकी हन् । भुसालले कांग्रेसका हरिशरण श्रेष्ठ र नेमकिपाका कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशबाट अन्य समूहमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने विजयी भए । ३४ सय ६२ मतभार पाएका श्रेष्ठले कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए ।

न्यौपानेले कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।

प्रदेश ५

प्रदेश ५ बाट राष्ट्रियसभामा विमला घिमिरे, जगप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई निर्वाचित भए । महिला सदस्यमा घिमिरे, अपांगता भएका वा अल्पसंख्यक सदस्यमा शर्मा र अन्य समूहबाट भट्टराई निर्वाचित भएका हुन् ।

घिमिरेले नेपाली कांग्रेसकी गिरिजादेवी न्यौपाने, शर्माले कांग्रेसका मेराज अहमद हलवाई र समाजवादी पार्टीका सुनीलकुमार सिंघललाई पराजित गरे । त्यस्तै भट्टराईले कांग्रेसका बालकृष्ण पाण्डे र समाजवादी पार्टीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेललाई पराजित गरे ।

कर्णाली

कर्णाली प्रदेशबाट नेकपाकै अन्य समूहका मायाप्रसाद शर्मा र महिला समूहकी सुमित्रा विसी निर्वाचित भए । शर्माले तीन हजार ६ सय १८ मतभार पाए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका डिल्लीराम पाठकले एक हजार २६ मतभार पाए ।

यस्तै, बीसीले तीन हजार ६ सय ८४ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ मतभार पाए ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वाँर निर्वाचित भए । भट्टले ३ हजार ७ सय ३८ र स्वाँरले ३ हजार ७ सय २० मतभार पाए । महिला समूहकी कांग्रेस उम्मेदवार तुलसा देवकोटाले १ हजार ८ सय ५४ र अन्य समूहका कांग्रेस उम्मेदवार प्रताप ठगुन्नाले १ हजार ८ सय ४२ मतभार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment