Comments Add Comment

मनाङ उपाधि होडमा फर्कियो

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब यस सिजन शहीद स्मारक ए डिभिजन लिगमा आठौं चरणसम्म अपराजित रहने एक्लो टोली बनेको छ । यस सिजन गत वर्षको लिग जितेको टिमका कप्तान विराज महर्जनसहित अधिकांश खेलाडीले क्लब छाडेपनि मनाङले उपाधि रक्षा अभियानलाई कायमै राखेको छ ।

शुरुवाती तीन खेलमा जित हात पार्दै मनाङले त्यसको छनक समेत दिएको थियो । तर त्यसपछिका चार खेलमा बराबरी खेलेपछि मनाङको उपाधि होड केही कमजोर समेत बनेको थियो । तर चार बराबरीपछि मनाङ जित यात्रामा फर्किएको छ । मनाङले आठौ चरणको खेलमा शुक्रवार अंक तालिकामाको पूछारमा रहेको सरस्वती युथ क्लबलाई १-० ले पराजित गर्दै यस सिजन चौथो जित हात पारेको छ ।

विमल रानाले गरेको एकमात्र गोल निर्णायक बन्दा मनाङले ३ अंक जोडेको हो । उनले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका थिए । मनाङले पहिलो हाफमा समेत गोल गरेको थियो । तर रेफ्रीले त्यसलाई मान्यता नदिँदा मनाङ अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा मनाङका विमल रानाले हानेको बल सरस्वतीका गोलकिपर प्रदिप भण्डारीले हाफ क्लियर गरेका थिए । त्यसैमा निशान लिम्बुले सशक्त प्रहार गर्दै गोल गरेका थिए । तर गोलपोष्टको जाली प्वाल परेकोले बल बाहिर गएपछि रेफ्री श्याम दनुवारले त्यसलाई मान्यता दिएनन् ।

यसबारे मनाङका प्रशिक्षकले धनेश्वर प्रजापतिले पनि जिज्ञासा राखे । उनले किन गोल भएन भनेर रेफ्रीसंग कम्प्लान समेत गरेको बताए ।

तर खेलमा ३ अंक जोड्न सकेकोमा भने उनले सन्तुष्टी व्यक्त गरे । यस जितले उपाधि रक्षा अभियानमा फर्केको संकेत गर्दै प्रजापतिले त्यसका लागि यो भन्दा दोब्बर राम्रो प्रदर्शन गर्नुपर्ने बताए ।

८ खेलबाट ४ जित र ४ बराबरीसहित १६ अंक जोडेको मनाङ गोलअन्तरमा पछि रहँदै तेस्रोमा छ । विभागीय टोली त्रिभुवन आर्मी र मछिन्द्र क्लबको पनि समान १६ अंक छ । आर्मीले एक खेल कम खेलेको छ भने मछिन्द्रले ८ खेल खेलिसकेको छ । आर्मीले आठौं चरणमा शनिवार एनआरटीसंग खेल्दैछ । उक्त खेल जितेमा आर्मीले ३ अंकको स्पष्ट अग्रता लिने अवसर छ ।

आठौं चरणसम्म पनि जितबिहिन रहेको सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले मनाङ विरुद्ध आफ्नो टोलीले राम्रो खेलेकोमा सन्तुष्ट जनाए । उनले पहिलो हाफमा मनाङलाई रोक्ने रणनीतिमा सफल भएपनि दोस्रो हाफमा सिल्ली गोल हुँदा पाजित हुनुपरेको बताए ।

यस सिजन सरस्वतीले ८ खेलमा जम्म १ अंक मात्र जोडेको छ । ७ खेलमा पराजित भएको सरस्वतीले ब्रिगेड ब्वाइज क्लबसैग गोलरहित बराबरी खेल्दै एक अंक जोडेको थियो । लगातारको हारले सरस्वतीलाई रेलिगेसनको दबाब रहेको प्रदिप नेपालले स्वीकारे ।

सन्तोषको गोलमा च्यासललाई राहत

च्यासल युथ क्लबले यस सिजन लिगको शुरुवात दमदार गरेको थियो । गत सिजनको उपविजेता संकटा क्लबलाई पहिलो खेलमै २-० ले पराजित गरेपछि च्यासलको लक्ष्य उपाधिमै थियो । दोस्रो खेलमा स्टार खेलाडी भित्र्याएको मछिन्द्र क्लब विरुद्ध पनि बराबरी खेलेपछि च्यासलको मनोबल उच्च थियो । तर तेस्रो खेलमा एनआरटीसंग अप्रत्यासित हार बेहोरेपछि च्यासलको लय बिग्रियो । पहिलो खेल जितेको च्यासल त्यसयता लगातार ६ खेलमा जितबिहिन रह्यो ।

मनाङले चार खेलको बराबरीपछि जित हात पार्दा च्यासलले पनि आठौं चरणमा आएर दोस्रो जित हात पारेको छ । दशरथ रंगशालमा शुक्वार भएको दोस्रो खेलमा सन्तोष साहुखललको गोलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १-० ले पराजित गरेको हो । ललितपुरे डर्बी खेलमा निर्धारित ९० मिनेट च्यासल र ब्रिगेडले गोलरहित बराबरी खेलेका थिए । तर इन्जुरी टाइमको दोस्रो मिनेटमा साहुखलले जापानी खेलाडी ताएगा नाकामुराको पासमा गोल गर्दै च्यासललाई जित दिलाए ।

यस सिजन च्यासलको यो दोस्रो जित हो । २ जित र ३ बराबरीबाट ९ अंक जोडेको चयासल अंक तालिकामा आठौँ स्थानमा उक्लेको छ ।  यस्तै च्यासलको जितमा गोल गरेका सन्तोष साहुखल सर्वाधिक गोलकर्ताको होडमा एकल अग्रता बनाएका छन् । उनले ८ खेलमा ६ गोल गरेका छन् । एपीएफका आशिष लामाको नाममा ५ गोल छ । सन्तोष साहुखलले संकटा विरुद्ध पहिलो खेलमा २ गोल गरेका थिए । दोस्रो खेलमा मछिन्द्र विरुद्ध पनि १ गोल गरेका थिए । यस्तै नेपाल पुलिस विरुद्ध २ गोल गरेका सन्तोषले गोल गरेको यो चौथो खेल हो । पुलिस विरुद्ध पहिलो गोल गर्दै साहुखलले ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । ब्रिगेड विरुद्धको गोल ए डिभिजन लिगमा साहुखलको १०२औं गोल हो ।

सरस्वती विरुद्ध निर्णायक गोल गरेका मनाङका विमल रानाको गोलसंख्या ४ गोल पूगेको छ । विमलसंगै नेपाल पुलिसका सुमन लामा र त्रिभुवन आर्मीका नवयुग श्रेष्ठको पनि ४ गोल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment