+
+
Shares

लाहुरेकी छोरीको सफलता

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ माघ १२ गते १९:००

१२ माघ, काठमाडौं । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको सिकैचामा जन्मेकी हुमाकुमारी बखिम फागुनमा ५० वर्ष पुग्दैछिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतका रुपमा कार्यरत उनलाई सजिलो गरी चिन्न खाद्य वैज्ञानिक भन्दा हुन्छ ।

घाँस दाउरा, गोठालो र भान्साको जोहोसँगै गाउँकै सरकारी स्कुलमा पढेर हुर्किएकी हुमाले बेल्जियमबाट खाद्य प्रविधि विषयमा स्नातकोत्तर र अष्ट्रेलियाबाट विद्यावारिधि गरेकी छिन् ।

यूरोप र अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा आफू एशियन मुलकी विद्यार्थी भएकै कारण विश्वविद्यालय टपर हुनबाट गोरो छाला भएकाहरुले बञ्चित गरेको उनी सुनाउँछिन् ।

आफ्नो समुदायको आरक्षणको पक्षमा बोलेकै कारण अन्तर्वार्ताबाट फेल गराइएको अनुभव पनि हुमाले संगालेकी छिन् ।

उत्कृष्ठ विषयगत ज्ञान र हक्की स्वाभावकी हुमालाई अध्ययन पूरा भएपछि नेपाल नर्फकन भन्नेहरु धेरै थिए । विश्वविद्यालयले पनि आफ्नो तेज विद्यार्थीलाई आफ्नै मुलुकमा राख्न चाहेको थियो । तर, उनी खाद्य वैज्ञानिक बनेर नेपाल फर्किइन् । आफूलाई नास्तिक भन्न रुचाउने हुमा नेपाली मुलको विदेशी वैज्ञानिक बन्ने अवसर लत्याएर आफू जन्मेकै माटोमा फर्किएको बताउँछिन् । उनी अहिले सरकारी सेवामा अहिले २३ औं वर्ष बिताउँदैछिन् ।

कृषि उद्यम गरेका तर व्यवसायिकता नबुझेका, खल्तीमा थोरै पैसा भएका तर आफ्नै रैथाने उत्पादनको बजार नदेखेका, खाना खाएका तर असल– खराब गुणको मात्रा नबुझेका आम नेपालीलाई बुझाउनमा अहिले उनको समय व्यतीत भइरहेको छ ।

सिनामदेखि धरानसम्म

हुमालाई पढाउनका लागि बुबाआमाले मामाघर सिनाममा पठाएका थिए । उनका दाइ र भाइ पनि मामाघरमै बसेर पढ्थे । कक्षा पाँचसम्म परिवारका १८ सदस्यलाई खाना बनाएर स्कुल जानुपथ्र्यो ।

मामाघरमा १५ जनाको परिवार छँदै थियो, तीनजना भाञ्जाभान्जी थपिएपछि परिवार १८ जनाको भयो । भएका मध्ये बलको काम गर्न नसक्ने हुमा नै थिइन् । त्यसैले हुमाको भागमा भान्साको काम पर्‍यो । दाइभाइ र अरु सदस्यहरु वनपात, गोठालो गर्थे । १० देखि १४ वर्षसम्म (कक्षा ५, सात पढ्दाको समय) उनी १८ जनाका लागि भान्सा तयार गर्थिन् । खाना बनाएर विद्यालय जान्थिन् ।

शुक्रबार वा अरु सार्वजनिक बिदाको दिन घरमा आमाबुबालाई सघाउन तीनैजना सिकैचा फर्कन्थे ।

त्यसबेला सिनामको उच्च मावि नाम चलेको र राम्रो थियो । तर, त्यहाँ विस्तारै राजनीति शुरु भयो । पढाइ अवरुद्ध हुने क्रम बढ्यो । हुमा भन्छिन्, ‘स्कुल नहुँदा हामीलाई त मजै लाग्थ्यो, तर बुबाले बच्चाको पढाइ बिग्रन्छ भनेर हामीलाई धरान ल्याउनुभयो । म कक्षा सातमा पढ्थेँ । छोराछोरीको पढाइका लागि सबै कुरा गुमाउन तयार बुबाले हामीलाई धरानको बोर्डिङ स्कुलमा भर्ना गर्न लैजानुभयो ।’

कक्षा सात र आठको ८० प्रतिशत वार्षिक पाठ्यक्रम सकिएको थियो । बोर्डिङ स्कुलले उनीहरुलाई सात कक्षामा भर्ना नलिने भन्यो । सरकारी विद्यालयबाट आएकाहरु कमजोर हुन्छन् भन्दै उनीहरुलाई कक्षा झार्ने भनियो ।

हुमा सुनाउँछिन् ‘बुबाले प्रिन्सिपलको कुरा रुचाउनुभएन, एक महिनापछि परीक्षा थियो । बुबाले भन्नुभयो छोराछोरीले परीक्षा दिन्छन्, फेल भए कक्षा झार्नुस् नत्र यही कक्षामा बसुन् ।’

एक महिनाको तयारीमा दाजुले कक्षा ८ र हुमा कक्षा ७ मा प्रथम भए । त्यसपछि स्कुल तहमा उनीहरु कहिलेकाहीँ दोस्रो, नत्र सधै‌ं प्रथम भए ।’

पढाइको महत्व

हुमाका ठूलोबुबाका ९ जना छोरी थिए, कसैले पढ्न पाएनन् । गाउँलेहरुको बुझाइ थियो, पढेर केही पनि हुन्न । गाउँभरिका मान्छेले हुमाका बुबालाई गाली गर्थे, छोराछोरीलाई किन पढाएको ? अझ छोरी त भोलि अर्काको घर जाने जात !

हुमाका बुबा सिंगापुरका लाहुरे । देश छोडेर परदेशमा फौजी बन्दाको पीडा र बाहिरी दुनियाँ देखेका कारण उनले छोराछोरीलाई पढाउन कुनै कसर बाँकी राखेनन् । समाजले जेसुकै भनोस्, आफूले पाएको दुःख छोराछोरीले नपाउन् भन्ने उनको सोच थियो । हुमा भन्छिन्, ‘हाम्रो पढाइ र आजको सफलताको श्रेय बुबाको मेहनत र आमाको साथ हो ।’

धरानबाट एसएलसी पास गरेपछि हुमाले धरानमै आईएस्सी पढिन् । कक्षा १२ मा नेपाल परिचय भन्ने नेपाली विषयमा फेल भइन् । त्यसपछि उनले आफ्नो एक वर्षे समय भोलियन्टियर बनेर गाउँको सेवा गरिन् । गाउँमा दिउँसो स्कुल र साँझ प्रौढ शिक्षा पढाएर परीक्षाको तयारी गरिन् र अर्को वर्ष पास भइन् ।

धरानमै उनले स्नातक तहमा (बीटेक) खाद्य पोषण विषय पढिन् । आमा बिरामी भएर काठमाडौं आएकी हुमाले खाद्य अनुसन्धान अधिकृत तहमा लोक सेवाको फर्म भरिन् । ०५२ सालमा नेपाल सरकारले पहिलो ब्याज खाद्य अनुसन्धान अधिकृत माग गरेको थियो । हुमा एकै पटकको परीक्षामा पास भइन् र सरकारको शाखा अधिकृत बनिन् ।

विवाह भयो, बच्चा जन्मिए । जागिर चलिरहेको थियो । प्रविधिक विषय भएकाले आफ्नो क्षेत्रमा संस्थागत विकास कम हुने देखेपछि उनले व्यक्तिगत उन्नतिका लागि थप पढाइबारे सोचिन् ।

सन् २००१ मा खुल्ला कोटाबाट स्नातकोत्तर गर्न बेल्जियम सरकारको छात्रावृत्तिमा उनी छानिइन् । फुड टेक्नोलोजीमा स्नातकोत्तर गर्ने विश्व विद्यालयको उक्त ब्याचको लिखित परीक्षामा सबै भन्दा धेरै नम्बर ल्याउने छात्रा उनै भइन् ।

नेपाल फर्केर ८ वर्ष सरकारी सेवामै बिताएपछि हुमा फेरि पीचडी गर्न अष्ट्रेलिया सरकारको छात्रवृत्तिमा छानिइन् । सन् २०११ देखि १५ सम्म उनले क्वीन्स विश्वविद्यलयबाट खाद्य प्रविधि विषयमा विद्यावारिधि गरिन् ।

हुमा बखिम परिवारकी एकमात्र पीएचडी, पहिलो महिला सरकारी उपसचिव र वैज्ञानिक हुन् ।

चाहिएन पीआर

२०७२ बैशाख १२ गते नेपालमा भूकम्प गयो । भूकम्पकै बाहाना बनाएर कयौं मानिसहरु विदेश हानिए, तर हुमा अष्ट्रेलिया बस्ने कयौं अफरहरु त्यागेर बैशाख १९ गते नेपाल फर्किईन् । अष्ट्रेलियमा पीएचडी सुरु गर्दै गर्दा हुमाको मेहनत र ज्ञान देखेर कलेजका मानिसहरु भन्थे, तिम्रो ज्ञानको दायरा अनुसार नेपाल तिम्रा लागि अनुकुल मुलुक होइन । नेपालमा तिम्रा लागि कुनै वातावरण छैन । तर, हुमाले जवाफ दिइन् अष्ट्रेलियालाई मेरो जरुरत छैन । वातावरण आफंैले बनाउने हो, म आफ्नै जन्मभूमि फर्कने हो ।
यूरोप र अष्ट्रेलियाको ७ वर्षे अध्ययन क्रममा उनका नेपाली साथीहरु कसरी पीआरको लागि नम्बर ल्याउने भनेर ध्यान दिन्थे तर हुमा पढाई सकेर नेपाल फर्कनेमा मात्रै आफूलाई सिमित राखेको बताउँछिन् । बेल्जियमको पिएचडी अफर पनि उनलाई उतै बसाउन आएको थियो, तर उनले युरोपमा जात र रंगभेद छ भन्ने आफ्नै अनुभवबाट सिकेपछि विदेशी मुलुक बस्न उनको मनै मानेन ।

बुबाले ताप्लेजुङको सिकौचाको विद्यालयमा डोर्‍याउँदै गर्दा हुमालाई भनेका थिए, तिमीले यो देशका लागि केही गर्नुपर्छ, केही गर्नका लागि पहिले पढ्नुपर्छ ।

ओहो तपाईं त जनजाति महिला !

खुल्ला प्रतिस्पर्धामा दुईजना उपसचिव पदमा लोक सेवाले भर्ना खुलायो । हुमाले खुल्लाबाटै लिखित पास गरिन् । उनीसँगै ब्राह्मण क्षेत्री समुदायबाट अरु मान्छे पनि उपसचिवको दौडमा थिए । अन्र्तवार्तामा आएका ब्राह्मण समुदायका माथिल्लो तहका मानिसले हुमालाई कोठामा छिर्नेवितिक्कै सोधे, अहो तपाई त जानजाति, त्यसमाथि महिला ? तपाई जस्तो क्षमतावान् मान्छेलाई राज्यको आरक्षण चाहिन्छ कि चाहिँदैन ?

जवाफमा हुमाले भनिन्, ‘म एउटा व्यक्तिलाई हेरेर तपाईले आरक्षण निर्धारण गर्ने होइन । म पुरुषसँग प्रतिस्पर्धा गर्न सक्छु । तर, यसैलाई दाँजेर अरु मानिसहरु पछि पर्नुहुँदैन ।’

हुमाले थपिन्, ‘हाम्रो समुदाय आफंैले चाहेर पछि परेको नभई समुदायले गरेको विभेद मुख्य कारण भएकाले यसलाई राज्यले सच्याउनुपर्छ । यसका लागि आरक्षण आवश्यक छ ।’

तर, हुमा अन्तरवार्तामा फेल भइन् ।

भगवानसँग गुनासो !

हुमा आफूलाई नास्तिक मान्छे बताउँछिन् । आफूलाई जीवनका दुईवटा घटनाले धर्मप्रतिको विश्वास हटेको उनको अनुभव छ ।

उनको जीवनको सबै भन्दा प्रिय र आदरणीय दुईपात्र आफ्ना बाबु र आमा । धर्म र देउतामा निकै आस्थावान् थिइन् आमा । किरात धर्मदेखि हिन्दु धर्ममा आमाको ठूलो लगाव थियो । मन्दिर धाउने, ब्रत बस्ने, पूजापाठ लगाउनेजस्ता कार्य गर्थिन् । सबै हिसाबले स्वस्थ आमालाई ५० वर्षको उमेरमा अचानक मष्तिष्काघात भयो, जसबाट उनमा पक्षघात भयो । आमाको शरीरको दाहिने पाटो १२ वर्षसम्म चलेन ।
धर्मात्मा आमाको पक्षघापूर्ण जीवनको १२ वर्षे कष्ट हुमाका आँखा अगाडि झलझल्ती आउँछन् । उनी भन्छिन्, ‘यदि छन् भने भगवानसँग मेरो गुनासो छ, यति धर्मात्मा आफ्नी शिष्यलाई किन दुःख दियौ ?’

हुमा भन्छिन्, ‘धर्मले मानिसलाई अनुशासनमा राख्छ, म सबै धर्म र धर्म मान्नेलाई सम्मान गर्छु । तर, आफू धर्म मान्दिनँ ।’

खाद्य गुणस्तरमा हुमाको काम

खाद्य गुणस्तरको अध्ययन, अनुसन्धान र नियमन गर्ने एक मात्र नियामक निकाय हो कृषि विकास मन्त्रालयअन्र्तगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ।

०५२ सालदेखि खाद्य अनुसन्धान अधिकृतका रुपमा हुमा यस विभागमा कार्यरत छिन् । ०६५ सालमा उनी बढुवा भएर विभागमा उपसचिव तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भएकी छिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण तथा सीप विकासको ज्ञान बाँड्न उनी लागि परेकी छिन् ।

थोरै लगानी भएका, सीप सिक्न चाहने, परम्परागत उत्पादन र वस्तुलाई व्यवसायिकता दिन उनी काम गर्छिन् । चिनो, कागुनो, फापरजस्ता परिकार स्वस्थ्यका लागि लाभदायी छ भनेर शहरका मान्छेलाई सिकाउने श्रेय उनी र उनकै विभागलाई जान्छ ।

गरीबले खाने भनेर हेपिएको खानाका परिकारको उचाई बढाउन उनको महत्वपूर्ण योगदान छ । बजारमा पाइने भारतीय अचार विस्थापन गरी नेपाली अचार उत्पादन गर्न, पुष्टकारी, खुवाजस्ता परिकारको गुणस्तर मापन तथा पोषण अध्ययन गरी व्यवसायिकता दिन उनको योगदान महत्वपूर्ण छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?