+
+
Shares

३ खर्बका नयाँ नोट छाप्दै राष्ट्र बैंक, अब हजारको नोटमा जुम्ल्याहा हात्ती

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १६:२९

१३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले हजार रुपैयाँकामात्रै ३१ करोड थान अर्थात ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्न लागेको हो ।

यी नोटहरु छाप्नका लागि राष्ट्र बैंकले गत असोजमा टेण्डर आह्वान गरेको थियो । टेण्डर प्रक्रिया सम्पन्न भई चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड माइनटिङ कर्पोरेशनसँग सम्झौता समेत गरिसकेको छ ।

३१ करोड थान हजारका नोट छाप्नका लागि ९१ लाख ९० हजार अमेरिकी डरलमा सम्झौता भएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकके यसबाहेक पनि नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको छ ।

केही दिन मात्रै राष्ट्र बैंकले ५, १० र पाँच सयको नयाँ नोट छपाइ प्रस्ताव आह्वान गरेको थियो । बैंकले ५ रुपैयाँको ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान तथा ५ सयको १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो ।

नयाँ नोटको डिजाइन छपाइ र आपूर्तिका लागि विदेशी कम्पनीहरुसँग टेण्डर आह्वान गरिएको छ । तर यो प्रक्रिया सुरु भए पछि छापिन भने करिब एक वर्ष लाग्ने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

४६ दिने टेण्डरमा सहभागी मध्येबाट छनोट गरी थप प्रक्रिया सुरु हुने राष्ट्र बैंकले बताएको छ ।

नयाँ नोटमा जुम्ल्याहा हात्ती

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार नयाँ नोटको डिजाइन समेत फाइनल भइसकेको छ । नयाँ नोटमा अब जुम्ल्याहा हात्तीको चित्र राखिने भएको छ । ‘जुम्ल्याहा हात्ती राखेर डिजाइन समेत फाइनल गरिसकिएको छ’ उनले भने, ‘अबको चार महिनामा नयाँ नोट आउने गरी काम सुरु भएको छ ।’

प्रवक्ता भट्टका अनुसार नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राखिएको छ । यस अघि एक हजार रुपैयाँको नोटमा एउटामात्रै हात्ती थियो । त्यसलाई परिमार्जन गर्दै २ वटा हात्ती राखिएको उनले जानकारी दिए ।

हात्तीको चित्त भने वन तथा वातावरण मन्त्रालय माताहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको प्रवक्ता भट्टले जानकारी दिए । अन्य सुरक्षण विशेषताहरु भने यथावत नै राखिएको उनले बताए ।

हजारको नोटमा हुने सुरक्षण विशेषताहरु

पानीछाप (वाटरमार्क) : नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइट (टर्च लाइटर मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभइ नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एउटा हात्ती) भएको भाग दुबैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।

नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पुरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

सुरक्षण धागो : सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पुरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पुरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’

भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?