Comments Add Comment

ऐतिहासिक ओडीआई सिरिज : सजिलो छैन नेपाललाई

१३ माघ, काठमाडौं । अब १० बाँकी छ, एकदिवसीय मान्यता प्राप्त क्रिकेट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल्न । सन् २०२३ मा भारतमा हुने विश्वकप क्रिकेटको रोडम्यापका रुपमा रहेको वल्र्डकप लिग २ मा नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

वर्ल्डकप लिग २ मा नेपालको यो पहिलो सिरिज हो । सन् २०१८ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटबाट एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालको लागि घरेलु मैदानमा पहिलो ओडीआई सिरिज पनि यही हुनेछ ।

त्यसैले नेपालका लागि यो सिरिज महत्वपूर्ण छ । तयारी भने त्यसअनुसार भएको देखिँदैन ।

सिरिजका लागि नेपालको राष्ट्रिय टिमले आइतबारबाट त्रिवि क्रिकेट मैदानमा अभ्यास थालेको छ । त्यसअघि पोखरामा केही दिनको प्रशिक्षण गर्नुका साथै मलेसिया–११ सँग ५० ओभरको तीन मैत्रिपूर्ण खेल खेलेको थियो । त्यही खेलका आधारमा ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।

र, टोलीका खेलाडीहरु घरेलु मैदानमा पहिलो ओडीआई सिरिज खेल्ने भाग्यमानी बन्नेछन् ।

‘ओडीआई पहिलो पटक टियूमा आएको छ’ कप्तान मल्लले भने, ‘यो क्राउडमा हामीले ठूला गेम खेलेको सपना देखेको छौं । त्यसैले पनि उत्साही छौं ।’ पोखराको अभ्यास र खेलले पनि खेलाडीहरुमा आत्मविश्वास बढाएको उनले बताए ।

मुख्य प्रशिक्षक उमेश पटवालले पनि पोखरामा राम्रो तयारी भएको दाबी गरे । ‘ओडीआई मान्यता पाएपछि पहिलो होम सिरिज हो र वल्र्डकप क्वालिफायर पनि हो । यो राम्रो अवसर हो’ उनले भने, ‘टिममा केही खेलाडी मात्र छन्, जसले ५० ओभर ब्याटिङ गर्न सक्छन, हामी उनीहरुलाई प्रयोग र्छौं ।’

पूर्वकप्तान पारस खड्काले पनि घरेलु दर्शकसामू एकदिवसीय सिरिज खेल्न पाउनु खुशीको विषय रहेको बताए । ‘मैले २०१५ मा नामियासँग खेलेपछि घरेलु मैदानमा खेल्नेको छैन’ उनले भने, ‘कीर्तिपुर मैदानमा नेपालको जर्सी लगाएर खेल्नु एकदमै ठूल उपलब्धी हो । यहाँ जस्तो समर्थन अन्यत्र पाइँदैन ।’

सिरिजसँगै त्रिवि क्रिकेट मैदानले ओडीआई मान्यता पाउनु अर्को उपलब्धी भएको उनले बताए । ‘नेपाली क्रिकेटका लागि ठूलो क्षण हुनेछ’ पारसले भने, ‘खेलाडीका रुपमा हामी भाग्यमानी छौं कि हामी यो एरामा क्रिकेट खेल्न पाइरहेका छौं । अब त्यसलाई नतिजाका कसरी कन्भर्ट गर्ने मुख्य कुरा हो ।’

कप्तान ज्ञानेन्द्रले पनि नेपालका लागि सिरिज अवसरसँगै चुनौती पनि भएको स्वीकार गरे । यो सिरिजसँगै विश्वकप छनोट यात्रा सुरु हुने भन्दै उनले भने, ‘पहिलाको जस्तो सजिलो पनि छैन । सबै टिम उत्तिकै राम्रा छन् ।’

एक वर्षपछि ओडीआई सिरिज

नेपालले गत वर्ष माघमा नै युएई भ्रमणका क्रममा तीन खेलको ओडीआई सिरिज खेलेको थियो । त्यसपछि अर्को सिरिज खेल्न अर्को एक वर्षसम्म कुर्नुप‍र्‍यो । नेपालले गत नोभेम्बरमा बंगलादेशमा एसीसी इमर्जिङ टिम्स कपमा ५० ओभरको त क्रिकेट खेलेको थियो । तर त्यो लिस्ट ए मान्यता मात्र थियो ।

लामो समय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका कार घरेलु संरचना लथालिंग रह्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गर्ने प्रधानमन्त्री कप र गत वर्षदेखि शुरु भएको एमएम कप एकदिवसीय प्रतियोगिता हुन् । तर छोटो समय हुने र सबै खेलाडीले नखेल्ने भएकाल खासै खेलाडीले आफूलाई प्रमाणित गर्न पाएका छैनन् भने नयाँ खेलाडी पनि आउन सकेका छैनन् । निलम्बन फुकुवा भएपनि क्रिकेट संघले क्रिकेट विकासमा ठोस काम गर्न सकेको छैन ।

राम्रा प्रतिस्पर्धी

नेपालमा आउन लागेका दुवै टिम अमेरिका र ओमानले भने वर्ल्डकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दुवै टिमले दुईदुई सिरिज खेलिसकेका छन् । अमेरिका ८ मध्ये सर्वाधिक ६ खेल जित्दै १२ अंकहसित अंक तालिकामा शीर्ष स्थानमा छ भने ओमान ४ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । ओमानका सुल्तानको मृत्युका कारण उसले घरेलु मैदानमा भएको सिरिजमा युएई र नामिबियासँग खेलेन र अंक बाँड्नु परेको थियो ।

नेपालले भने पहिलो सिरिज खेल्दैछ । त्यसैले नेपालको लागि राम्रो शुरुवात गर्नुपर्ने चुनौती छ । साथै घरेलु दर्शक र मैदानमा खेल्दा नतिजा आफ्नो पक्षमा ल्याउने अवसर पनि छ । कप्तान मल्ल र प्रशिक्षक पटवालले पनि नेपालले खेल्ने दुवै टिम राम्रो रहेको बताउँछन् । ‘अमेरिका अहिले टपमा छ । वेष्ट इन्डिज र साउथ अफ्रिकालगायत ठूला टिमका खेलाडी छन्’ ज्ञानेन्द्रले भने ।

यस्तै ओमानले पनि पछिल्लो वर्षहरुमा राम्रो क्रिकेट खेल्दै ठूला टिमलाई चुनौती दिइरहेको उनले सुनाए । ‘ओमानले गएको १(२ वर्षदेखि राम्रो खेलिरहेको छ । राम्रो टिमलाई हराइरहेको छ’ कप्तान मल्लले भने, ‘हामी पाि राम्रो क्रिकेट खेल्ने र अगाडि बढ्ने हो भने राम्रो टिमहरुलाई हराउन सक्नुपर्छ ।’

अलराउण्डर पारसले पनि ाम्रो क्रिकेट खेल्नसक्नुपर्ने बताए । ‘राम्रो क्रिकेट खेल्न मेहनत गर्नुपर्छ’ उनले भने, ‘हाम्रो चुनौती भनेको मैदानमा राम्रो क्रिकेट खेल्नु हो । ओडीआई मान्यतालाई हामीले गम्भीर रुपमा लिनुपर्छ । ब्याटिङ, बलिङ र फिल्डिङमा हामी उत्कृष्ट प्रदर्शन गरेर नै अगाडि बढ्नुपर्छ ।’

युवा टिम

नेपाली टिममा कप्तान ज्ञानेद्र र पूर्वकप्तान पारस, शरद भेषावकर र विनोद भण्डारी मात्र सिनियर हुन् । बाँकी १० खेलाडी २०१० यता राष्ट्रिय टिमबाट खेल्न थालेका छन्, जसमा पनि धेरैले राष्ट्रिय टिममा खेल्न थालेको धेरै भएको छैन ।

कमल सिंह ऐरी पहिलो पटक सिनियर टिममा परेका छन् । राष्ट्रिय टिमका नियमित सदस्य सोमपाल कामी चोट कारण बाहिर हुँदा कमल टिममा परेका हुन् । फास्ट बलर सोमपालसंगै भेट्रान स्पिनर बसन्त रेग्मी टिममा छैनन् । अर्का युवा खेलाडी कुशल मल्लले पहिलो पटक ओडीकआई टिममा स्थान बनाएका छन् ।

स्पीनर सुशन भारी र तीव्र गतिका बलर अभिनाश बोहराले पनि ओडीआईमा डेब्यु गर्न बाँकी छ । त्यसैले नेपाल टिमलाई युवा टिम मान्छन् पूर्वकप्तान पारस । भने ‘समग्रमा यो योङ टिम हो । युवाहरुसामू आफूलाई प्रमाणित गर्ने अवसर छ ।’

कप्तान ज्ञानेन्द्रले भने अनुभवी खेलाडीहरु टिममा नहुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘अनुभवी खेलाडीको अभाव त भइहाल्छ । उनीहरुको अनुभव म्याच सिचुएसनमा काउन्ट हुन्छ’ उनले भने, ‘नयाँ खेलाडीलाई अवसर पनि हुन्छ । नयाँलाई कसरी अवसर दिने र खेल जित्ने आधरा कसरी तयार पार्ने भन्ने महत्वपूर्ण हो ।’

प्रशिक्षक पटवालले पनि नयाँ खेलाडीहरुले कढा मेहनत गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘नयाँ खेलाडीको लागि प्रमाणित गर्ने यो ठूलो अवसर हो’ पटवालले भने । टिमले हारेमा सिनियर खेलाडी मिस हुने र जितेमा उनीहरुको चर्चा पनि नहुने बताए । ‘खेलाडीलाई मिस गर्ने भन्दा पनि सही समयमा प्रदर्शन गर्नु ठूलो कुरा हो । यही चार वटै खेल जितेमा कसैले पनि अनुपस्थित खेलाडीको कुरा गर्ने छैन, तर २(३ खेल हार्दा सबैले कुरा गर्नेछन् ।’

पारस ओपनिङ गर्न तयार

नेपालको ब्याटिङ अर्डर र ओपनिङ जहिल्यै चर्चाको विषय बन्छ । खासगरी राम्रो प्रदर्शन गर्न नसकेका कारण । अझ ५० ओभरको खेलमा निरन्तर प्रयोग भइरहँदा पनि सही ओपनिङ जोडी भेठिएको छैन । त्यसैले कुनै समय मिडल अर्डरमा जमेका दुई खेलाडी नै अहिले पनिङमा ब्यटिङ गर्न थालेका छन् ।

कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने पक्का जस्तै छ । उनलाई कसले साथ दिन्छ भन्ने निर्धारण हुन बाँकी छ । तर अहिलेको टिममा ओपनिङ गरिसकेका खेलाडी कम रहेको र टिम कम्बिनेस मिलाउन पनि ज्ञानेन्द्र र निवर्तमान कप्तान पारसले ओपनिङ गर्ने सम्भावना बढी छ । दुवै खेलाडीले पनि यही मानेका छन् ।

कप्तान ज्ञानेद्रले जसले जहाँ ब्याटिङ गरे पनि खेल जिताउनु मुख्य हुने बताउँछन् । ‘टिम म्यानेजमेन्ट बसेर निर्णय गर्ने हो’ उनले भने, ‘निरन्तर ओपनिङ गरेको म र पारस हो । विनोद भण्डारीले ओपनिङ गर्नपनि सक्छ नगर्न पनि सक्छ ।’

प्रशिक्षक उमेश पटवाले भने अहिले टिममा रहेका मध्ये धेरै ब्याटिङ गर्न सक्नेले ओपनिङ गर्ने बताउँछन् । ‘ब्याटिङ अर्डरको कुरा गर्दा जसले ५० ओभर ब्याटिङ गर्न सक्छ, उसले ओपनिङ गर्छ र अरुले त्यसपछि ब्याटिङ गर्छ’ उनले भने ।

पारस खड्काले आफू टिमको आवश्यकताअनुसार जुनसुकै पोजिसजनमा ब्याटिङ गर्न तयार रहेको बताए । ‘टिम म्यानेजमेन्टले के भन्छ, त्यसमा भर पर्छ । २०१० देखि २०१८ सम्म लगभग मैले ८(९ वर्ष नम्बर ४ मा ब्याटिङ गरेँ । २०१८ मा नामिबियामा मैले ३ नम्बरमा ब्याटिङ गरेँ राम्रो पनि भयो’ पारसले भने ‘भोलि गएर ओपनिङ गर्नुपर्छ । वान डाउन अथवा टु डाउनमा गर्नुपर्छ भने म व्यक्तिगत रुपमा तयार छु । टिमका लागि योगदान महत्वपूर्ण हो ।’

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, विनोद भण्डारी, मोहम्मद आरिफ शेख, रोहित कुमार पौडेल, ललितनारायण राजवंशी, अभिनाश बोहरा, सुशन भारी, कुशल मल्ल, कमलसिंह ऐरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment