+
+
Shares

छापामा आज : पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते ७:०४

१४ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् ।

‘पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई’ शीर्षक दिएर नयाँ पत्रिकाले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएकाे हाे ।

यसअघि गोकर्ण रिसोर्ट, दरबारमार्गलगायत स्थानका जग्गा पनि सरकारले यती समूहलाई कौडीको भाउमा दिएको खुलासा भएको थियो ।

नयाँ पत्रिका आफ्नो खबरको अगाडि लेख्छ– केपी ओली ०५१ मा गृहमन्त्री हुँदा पिए बनेका पुष्प बरुवाल ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष छन् । यती समूहको लगानीमा पाथीभरामा बन्न लागेको केबलकारको सञ्चालक पनि उनै बरुवाल हुन् । केबलकार चलाउन सो कम्पनीले सरकारको ३१७ रोपनी जग्गा ८० वर्षका लागि सित्तैमा लिएको छ ।’

पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केबलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङ्छिरिङ शेर्पाले गत वर्ष १५ फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेको समाचारमा उल्लेख छ ।

पर्यटनमन्त्रीलाई केबलकार सञ्चालन गर्ने क्षेत्र देखाउने इच्छा शेर्पाको थियो । तर, दुर्भाग्यवश होलिकप्टर दुर्घटनामा उनीहरूको सोही क्षेत्रमा निधन भएको थियो ।

कोरोना भाइरस परीक्षण गर्ने ५० किट एकै दिनमा सकिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । कोरोना भाइरसको आशंका गर्दै अस्पताल जाने बिरामी बढेपछि एकै दिन ५० किट सकिएको हो ।

सडकका नाममा भइरहेको वन जंगल विनाशबारे कान्तिपुरले समाचार बनाएको छ । समाचार अनुसार भित्री मधेससँग जोडिएको महाभारतको तल्लो भेगका जडिबुटी र वन मासेर डडेल्धुराको चिर्किटे जोड्नका लागि दलका नेता, ठेकेदार र काठ तस्करको मिलेमतोमा ठाउँठाउँमा सडक खनिएको छ । १७ वर्षमा २७ करोडभन्दा बढी खर्च भए पनि कुनै पनि सडक १० किमिभन्दा लामो बन्न नसकेको समाचारमा उल्लेख छ ।

मिडिया काउन्सिल विधेयकबाट दण्ड जरिवाना हटेको विषयलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा कभरेज गरेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमा रहेको काउन्सिलले दण्ड जरिवाना गर्न सक्ने प्रावधान हटाएको हो ।

नागरिकमा नाकको सहयोगले सिर्जनात्मक कर्म गर्ने एक प्रतिभाबारेको सामग्री छापिएको छ भने गोरखापत्रले ‘नेपाली पोर्ट शुभारम्भ’ शीर्षकमा मुख्य समाचार बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?