Comments Add Comment

लेखापरीक्षक मृत्युको अनुसन्धान फितलो भएको गुनासो

१३ माघ, विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरे शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानमा चासो नदेखाएको दाबि गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

शंकास्पद अवस्थामा शव भेटिएको एकसातासम्म प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको दाबि गर्दै जनप्रतिनिधी र लेखा परीक्षकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सोमबार विराटनगर महानगरपालिका – २ का अध्यक्ष कुमार पोखरेलको नेतृत्वमा पुगेका स्थानीय र लेखा परीक्षकहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै निश्पक्ष छानविन गर्न माग गरे ।

गत मंगलबार बिहान संघिया खोलामा मृत अवस्थामा भेटिएका घिमिरेको हत्या भएको आफन्तले दाबि गर्दै आएका छन् । विराटनगर– २ तीन पैनी घर भएका ५० वर्षका प्रवल घिमिरेको शव संघीया खोलामा भेटिएको थियो ।

प्रवलका आमा सीतादेबी घिमिरेले छोरालाई हत्या गरी फालिएको बताइन् । बुबा कृष्णले पनि साथीभाईले बोटोमै छाडेर हिड्नु संकास्पद रहेकाले छानविन निश्पक्ष छानविन गर्न माग गरे । मृतकका आफन्त दीपक चापागाई प्रहरी अनुसन्धान फितलो भएको बताए । उनले शंकास्पद अवस्थामा प्रहरीले तालिम प्राप्त कुकुर पनि प्रयोग गर्न सक्ने बताउँदै मोरङ प्रहरीको अनुसन्धान फितलो देखिएको बताए ।

पानी थोरै भएको खोलामा मान्छे डुबेर मृत्यु भएको भनिनु शंकास्पद रहेको स्थानीयको भनाइ छ । मृतकका दाजु रबिन घिमिरे प्रवलको हत्या भएको दाबी गर्छन् । सँगै बसेका व्यक्ति सकुशल घर फर्कनु र प्रलव घर नफर्कनु शंकास्पद भएको उनले बताए । प्रमुख जिल्ला अधिकारी मनोज भुजेलले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइएको बताए ।

थप तीन जनामाथि अनुसन्धान

जिल्ला प्रहरी कार्यालय मोरङले घिमिरे मृत्यु प्रकरणसँग जोडिएका सात जनामाथि अनुसन्धान सुरु गरेको छ । गत सोमबार साँझ घिमिरेसँग होटलमा भेटिएका चार र थप तीन जनामाथि अनुसन्धान अघि बढाएको हो ।

विराटनगरका व्यावसायी नन्दकिशोर राठी, अरुण राठी, झापा सताक्षीधामका विनय कर्ण,उर्लाबारीका अनिल चाण्डक, मुन होटल सञ्चालक विजयराज प्रसाई, नन्दकिशोर राठीका सवारी चालक पशुपति खड्का, चाण्डका सवारी चालक चन्द्रबहादुर दर्जी माथि निगरानी राखेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।

प्रहरीले सातजनाको कल डिटेल अध्ययन गरेको छ । तर होटलमा सँगै बसेका अशोक अटलको मोबाइल रेकर्ड हेरिएको छैन । डीएसपी थापाले राति १० बजेपछि शंकास्पद व्यक्तिबाट कतै फोन भएको नदेखिएको बताए ।

आठ वर्षयता लेखा परीक्षकको काम गर्दै आएका घिमिरे गत सोमबार बेलुका उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनलाई भेट्न गएका थिए । राठीसँग उनी आमाज बेकरी क्याफे हुँदै होटल मुन र लोटस बारमा पुगेका थिए । राति अबेरसम्म घिमिरे घर नआएपछि उनको परिवारले खोजी गरेको थियो । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो ।

विराटनगरका ठूला ५० हाराहार कम्पनीको अडिट गर्दै आएका घिमिरे सोमबार साँझ अडिटकै सिलसिलामा नन्दकिशोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । मोटरसाइकल राठीको उद्योगमै राखेर आमाज बेकरी पुगेका थिए ।

आमाजबाट नन्दकिशोरले उर्लाबारीका अनिल चण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरु भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए । मुन होटलमा विराटनगरका सुन पसल सञ्चालक अरुण राठी, अशोक अटल र अन्य व्यक्तीसँग भेटभएपछि एउटै टेबुलमा बसेर खानपान गरेका थिए । मुनबाट लोटस बार पुगेका थिए ।

लोटसबाट अनिलको गाडीमा लिफ्ट मागेर आएका घिमिरे विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय अगाडि उत्रिएका थिए । घर जान भनी हिँडेका उनी घर पुगेनन् । मोबाइल पनि अफ भएपछि आफन्तले रातभर खोजी गरेका थिए । अस्पताल होटल र सडकमा खोजी गर्दा नभेटिएका उनको शव गत मंगलबार बिहान खोलामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment