Comments Add Comment

आमाबुवाले जब बालबच्चाबाट आफ्ना आकांक्षा पूरा गर्न खोज्छन्

तपाईं गायक/गायिका बन्न चाहनुहुन्थ्यो, तर सफल हुनुभएन । तपाईं खेलाडी बन्न चाहनुहुन्थ्यो, तर सक्नुभएन । तपाईं चित्रकार बन्न चाहनुहुन्थ्यो, तर सक्नुभएन । यस्तो अवस्थामा तपाईंले गर्नसक्ने एउटा गल्ती हो, आफ्ना अधुरा इच्छा/चाहना छोराछोरीमाथि लाद्ने ।

तपाईं आफ्नो जीवनकालमा जे बन्न चाहनुहुन्थ्यो, त्यही इच्छा तपाईंले छोराछोरीले पुरा गरोस् भन्ने आकंक्षा राख्नुहुन्छ । स्वभाविक हो, हरेक आमाबुवा छोराछोरीप्रति चिन्तित हुन्छन् । छोराछोरी सफल भएको, प्रतिष्ठित भएको, चर्चित भएको, मान-मर्यादा आर्जन गरेको हेर्न चाहन्छन् । तर, यो चाहनाले बेलाबखत छोराछोरीको इच्छा/चाहना, क्षमता/खुबीमाथि अंकुस लगाइदिन्छ ।

यसले गर्दा बालबच्चा जे बन्नुपर्ने थियो, जस्तो बन्नुपर्ने थियो, जसरी बन्नुपर्ने थियो, त्यो विकास-क्रम रोकिन्छ । बालबच्चा आफ्नो क्षमता, खुबी, रुची, इच्छा अनुरुप होइन, आमाबुवाको आकंक्षा अनुरुप अगाडि बढ्न थाल्छन् । बुझ्नुपर्ने कुरा त के भने, हरेक बच्चाको आ-आफ्नै क्षमता हुन्छ । जब तपाईंले उनको क्षमता पहिचान नगरी आफ्नो इच्छा उनीहरुमाथि लाद्न थाल्नुहुन्छ, बच्चाले आफ्नो क्षमता गुमाउन पुग्छन् ।

छोराछोरीको भविष्यमा पनि बुवाआमाले हस्तक्षेप गर्छन् । बच्चा गर्भमा रहँदै उनी के बन्ने भन्ने कुरा बुवाआमाले तय गरिदिन्छन् । भन्छन्, ‘म मेरो छोरोलाई फुटबरल बनाउँछु ।’ भन्छन्, ‘म मेरो छोरोलाई उद्योगपति बनाउँछु ।’

बच्चालाई के बन्ने, के नबन्ने थाहा हुँदैन । उनीहरुलाई भविष्यको चिन्ता पनि हुँदैन । यद्यपी अभिभावकले उनीहरुको कलिलो मस्तिष्कमा त्यही कुरा लाद्न थाल्छन्, ‘भोलि तिमीले यस्तो बन्नुपर्छ । फलानो जस्तो बन्नुपर्छ ।’

यहि कारण त बच्चामाथि अभिभावकको निगरानी र दबाव हुन्छ । बच्चालाई कहाँ पढाउने, के पढाउने भन्ने कुरामा समेत अभिभावकले हस्तक्षेप गर्छन् ।

हामी सोध्दैनौ, भोलि तिमी के बन्न चाहन्छौ ?

हरेक बालकालिकाको आफ्नो रुची हुन्छ । आफ्नै खुबी हुन्छ । आफ्नै क्षमता हुन्छ । तर, हामीले अपेक्षा गरे अनुरुप उनीहरुमा क्षमता एवं खुबी नहुन सक्छ ।

जस्तो, म आफ्नो बच्चालाई चिकित्सक बनाउन चाहन्छु । आफ्नो बच्चा चिकित्सक हो भनेर गर्व गरेर हिँड्ने सपना देख्छु । आफन्त-इष्टमित्रलाई भन्छु पनि, ‘मेरो बच्चा चिकित्सक बन्नेछ ।’

तर, बच्चालाई विज्ञानमा रुची नहुन सक्छ । उनको क्षमताले पनि नभ्याउन सक्छ । त्यस्तो अवस्थामा हामी निरास हुनपुग्छौ । छोराछोरीले आफ्नो इच्छा पुरा नगरिदिएकोमा खिन्न हुन्छौ । के यसमा बलबच्चाको गल्ती छ ?

पक्कै छैन । गल्ती त हाम्रो छ । हामीले आफ्नो इच्छा उनीहरुमाथि लादेका छौ । हाम्रो इच्छा र आकंक्षाको भारी बोकाएका छौ ।

बच्चा के बन्न चाहन्छन् ? उनको रुची के छ ? आमाबुवाले बुझ्नैपर्ने कुरा यही हो । बच्चाहरुको आफ्नै रुची हुन्छन् । उनीहरुले जुन कुरामा रुची राख्छन्, त्यसैलाई मलजल गरिदिने काम हाम्रो हो । कुनैपनि क्षेत्र आफैमा कमसल र कमजोर छैनन् । बच्चा एउटा शिक्षक बन्न चाहन्छ, फुटबलर बन्न चाहन्छ, कलाकार बन्न चाहन्छ । यो उनको आफ्नो रुचीका क्षेत्र हुन् । जुन क्षेत्रमा उनीहरुको रुची हुन्छ, त्यही क्षेत्रमा उनीहरुको भविष्य सुनौलो हुन्छ ।

डाक्टर वा पाइलट बन्दैमा, सरकारी जागिर खाँदैमा बच्चाको भविष्य सुरक्षित र उज्वल हुने होइन । उनीहरुले जे गरोस्, त्यसमा तन र मन लगाएर गरोस् । आफुलाई सम्पूर्ण रुपमा त्यही काममा लगाउन सकोस् । तब उनले उन्नती गर्छ । चाहे खेती किसानीमा होस् वा उद्यममा । चाहे कलाकारितामा होस् वा खेलकुदमा ।

हरेक क्षेत्रमा आफ्नै संभावना हुन्छन् । कुनैपनि क्षेत्र सानो वा ठूलो हुँदैन । महान र कमसल हुँदैन । उक्त क्षेत्रमा तपाईं कसरी काम गर्नुहुन्छ ? त्यो चाहि महत्वपूर्ण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment