Comments Add Comment

आइसीयुको त्यो त्रासदी !

फाइल फोटो ।

आज पनि एकान्तमा आँखा चिम्लिँदा त्यो दिन डाक्टरले बोलेका नमिठा एवं त्रासपूर्ण शब्दका झन्कारहरु कुनै डरलाग्दो चलचित्रको आवाजझैं मेरो मन मस्तिष्कमा तरङ्गित हुन पुग्छ ।

एक्कासी हातमा रिर्पोटसहित अल्का हस्पिटलको क्याबिनमा डाक्टरको प्रवेश अनि डाक्टरका ती भनाइहरुको आतंङ्ककारी आक्रमणका चोटहरुले यो हृदयरुपी मानसपटलमा बनाएका घाउहरुको दाग ताजा नै लाग्छ ।

‘तपाईंलाई इमान्स सिन्ड्रोम नामक भयानक अटो इम्युन रोग लागेको छ, जसले जतिखेर पनि शरीरको जुनसुकै अङ्गमाथि आक्रमण गरी शरीरका अङ्गलाई नै निष्क्रिय तुल्याउन सक्छ । अब भगवान नै आएर तपाईंको शरीरमा बास गरे पनि यो रोग सञ्चो हुँदैन ।’

डाक्टरका यी त्रासपूर्ण वाक्यांशले एकछिन त मुटुको गति यति तीव्र हुन गयो कि, आँखा वरिपरि अँध्यारो छाएकोजस्तो भयो । एकैछिनमा आफूलाई सम्हाल्दै लामो सास फेर्न थालें । अनि आफूसँगै उभिएर मलाई नियाल्दै गरेकी मेरी आमालाई हेर्न थालें । आमाका आँखाबाट झर्दै गरेका आँशुका ढिक्काहरुसँगै मैले आफूलाई सम्हाल्नुपर्ने आवश्यकता महसुस गरें ।

त्यो क्षण आफूलाई सम्हाल्नैपर्ने मेरो आवश्यकता र वाध्यता दुबै थिए । आमा बाबाका दुई सन्तानमध्येकी म कान्छी अनि एउटी छोरी । मेरो समाप्तिसँगै उहाँहरुको बाँकी जीवनको अपाङ्गता सुनिश्चित नै थियो ।

तर, पनि म बिचरीले के नै चमत्कार गर्न सक्थें र त्यो दर्दपूर्ण परिवेशमा ? आखिर म पनि त एउटा सामान्य मानिस नै हुँ । सामान्य मानिसहरु जस्तै म पनि त विभिन्न सपनाहरु अनि सुन्दर भविष्यको परिकल्पनालाई साथमै बोकेर हिँडेकी थिएँ । सामान्य मानिसहरुजस्तै म पनि त विभिन्न रहर अनि इच्छा आकांक्षाहरुको परिपूर्तिको पर्खाइमा थिएँ ।

एकैछिनमा मेरा सारा सपना अनि इच्छा आकांक्षामा विष फैलँदा यमराजको रोजाइमा नै पो पर्ने हो कि भन्ने भयले मुटु पड्कन खोज्यो । आफूलाई समाल्नु निकै कठिनपूर्ण एवम् चुनौतिपूर्ण भयो ।

तैपनि लामो–लामो स्वास फेर्दै हँसिलो मुहार बनाउने कोसिस गर्दै आमातिर हेरें । अनि आमालाई शान्त्वना दिँदै भनें ‘हरे, बेकारमा किन आँशु निकालेको ? हिजोमात्र ज्योतिषीले तिम्री छोरीको आयु लामो छ भनेको होइन ? फेरि रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने कहाँ लेखेको छ र ?’

आमालाई त्यसो भन्दै गर्दा मैले आफैंले आफैंलाई आन्तरिकरुपमा सान्त्वना पनि दिँदै थिएँ । दिन पनि मैले किन नदिनु र, आखिर चितामा जलाउन भनेर आर्यघाटमा लगेका मानिसहरु बाँचेर आएका उदाहरणहरु पनि त मैले समाजमा सुनेकी छु । मैले मेरो रोगबाट मुक्ति नपाउने तथ्यचाहिँ कुन ग्रन्थमा लिपीवद्ध गरिएको छ ? के डाक्टरले भन्दैमा सत्यता नै हुन्छ र ? जीवनमा चमत्कार भएका उदाहरणहरु पनि त मैले पुस्तकहरुमा पढेकी छु ।

आफ्नै अन्तरमनसँग केही समयको अन्तरलाप पश्चात मैले हिम्मत गर्दै डाक्टरलाई प्रश्न गरें– डनक्टर अब मेरो उपचार के हुन्छ त ? डाक्टरले फेरि पनि त्रासपूर्ण जवाफ नै दिनुभयो ‘अब तपाईंलाई आइसीयुमा राखेर कडा–कडा सुईहरु दिनुपर्छ ।’

आइसीयुको नाम सुन्नेबित्तिकै सम्हालिराखेको मन फेरि डग्मगाउन थाल्यो । एक्कासी आफूले परम आस्था अनि विश्वास गर्दै आएको ईश्वरप्रति पनि रीस उठेर आयो । ‘कलीयुगमा जसले गर्छ धर्म उसकै फुट्छ कर्म, जसले गर्छ पाप, उसकै फलिफाप’ भन्ने उद्गारले सत्यता बोकेको आभाष हुन थाल्यो ।

हरेक पटक दुःखको पोको मेरो मात्र पिठ्युँमा बोकाउने, अनि हरेकपल्ट ममाथि मात्र पहाड खसाउने ? त्यो मैले मान्दै आएको, तर जानी नसकेको ईश्वरमाथि पनि वितृष्णा पैदा भयो ।

निरर्थक मेरा प्रश्नहरुको जवाफ मैले बाहिरबाट त कहाँ पाउन सक्थें र । कुनै दिन गीता पढ्ढा त्यहाँ लेखिएका वाक्यांशहरु जे भयो राम्रो भयो ,जे भइरहेको छ राम्रै भैरहेको छ र जे हुने छ सो पनि राम्रै हुनेछबाट अतृप्त आफ्ना प्रश्नहरुको उत्तर खोज्ने प्रयत्न गरें ।

मृत्युकै लागि रोग लागेको भए पनि के नै भयो र ? आखिर यो धर्तीमा जन्म र मृत्युभन्दा स्वासत अरु के नै छ र ? आफ्नै अन्तरमनसँगको संवादमा म आफैं हराइरहेका बेला आमाले मलाई आइसीयुमा लैजानका लागि सबै कागजी प्रकृयाहरु पुरा गरिसक्नुभएछ ।

आइसीयु मा लाने भनेर होला, आमाले काठमाडौंमा रहेका इष्टमित्रलाई पनि खबर गरिसक्नुभएछ । मलाई आइसीयुमा लैजाने खबरले टाढा रहेका बाबालाई कति आकुल–ब्याकुल बनायो होला ? त्यो क्षण मसँगै उपस्थित आमा र दाजुको अनुहारमा छाएको त्यो कालो निराशाको बादल अहिले पनि म झल्झली सम्झन्छु ।

स्टेचरमा राखेर मलाई आइसीयुमा लगियो । त्यहाँ मेरा लागि एउटा बेड तयार गरिएको रहेछ । आइसीयुमा प्रवेशसँगै मैले त्यहाँ कस्ता– कस्ता बिरामीहरुलाई राख्दा रहेछन् त भनेर विस्तारै चाल नपाइँदो ढङ्गबाट वरिपरि नियाल्न थालें ।

कठैबरा ! जीवनको अन्तिम घडीको पर्खाइमा रहेका वृद्ध आमा–बाबाहरुलाई आइसीयुका ती मेसिनहरुले घोचेको मिचेको अनि थिचेको देख्दा मन गह्रुंगो भएर आयो । गह्रुंगो त्यो वातावरणमा पनि मनलाई हलुको राख्नुपर्ने मेरो वाध्यता थियो ।

जब आइसीयुको लुगा लगाएर मलाई बेडमा सुताइयो, फेरि पनि आफ्नै मनसँग संवाद गर्न थालें ।

आखिर त्यो क्षणमा मेरा लागि आफ्नै मनभन्दा नजिक अरु को नै थियो र । त्यो क्षण मनको एउटा पाटोले भन्न थाल्यो ‘तैंले जसरी भए पनि, आमा–बाबाका लागि भए पनि यो क्षणलाई जित्नैपर्छ’ तत क्षण फेरि मनको अर्को पाटोले भन्न थाल्यो, आ.. मृत्युसँग पनि केको भय ? आखिर मृत्यु जीवनको ध्रुवसत्य हो भने यसको प्रत्यक्ष अनुभूतिलाई नै मैले मेरो अन्तिम क्षणको लक्ष्य बनाउनुपर्छ । आखिर प्रशिद्ध दार्शनिक सुकरातले पनि त मृत्युलाई नयाँ जीवनको सुरुवात भनेका छन् ।

अन्तरमनको द्वन्द्वमा हराइरहेका बेला मलाई दिने सुई पनि आइसकेको रहेछ । आवश्यक पूर्वतयारीहरुका साथमा मलाई नसाबाट औषधी दिइयो । शरीरभित्र औषधी प्रवेशको त्यो क्षण त मेरा लागि झनै दर्दनाक हुन पुग्यो । त्यो औषधी सर्पको विषभन्दा केही कम थिएन । सायद म अधीक कमजोर भएर पनि होला, औषधिको त्यो झट्कालाई खप्न कठिन भएको ।

एकैछिनमा औषधी शरीरमा प्रवेश गरेपछि सर्पको विष लागेझैं सारा शरीर झमझमाउन थाल्यो । झमझमाएको शरीरवीच चेतनालाई सन्तुलनमा राख्नुपर्ने बाध्यता मेरा लागि अलि कठिन नै थियो ।

जतिसुकै दार्शनिक धारहरुले मन बाँध्ने कोसिस गरेता पनि जीवनप्रतिको मेरो मोह अनि बाँच्ने रहरबाट म कहाँ टाढा भाग्न सक्थें र ।

अब मेरो जीवनको भाग यतिमात्र हो कि भन्ने भयवीच एकपटक चेतनाको स्मृतिले सबैलाई सम्झने प्रयत्न गरें ।

जागिर खाएको भर्खर एक वर्ष मात्र भएको थियो । अफिसलाई पनि परिवारकै एउटा स्वरुप ठान्ने म, फेरि अफिस जान पाउदिनँ कि, सबैलाई भेट्न पाउँदिन कि भन्ने भावसँगै एक–दुई थोपा आँशु पनि चुहाउन पुगेछु ।

ईश्वरसँग जतिसुकै रुष्ट भए पनि अन्तिम साहारा त उसकै नाम हुँदोरहेछ । चुहाएको आँशुको थोपालाई गालामा महसुस गर्दै फेरि पनि लामो–लामो सास लिँदै उसकै नाम पुकार्न थालें ।

यसरी अन्तरमनसँगको द्वन्द्व अनि ईश्वरको नाम जपसँगै आफूलाई दुईघण्टा सम्हालेपछि औषधीको प्रभाव पनि विस्तारै कम हुँदै जान थाल्यो । मभित्रको विश्वास र धैर्यता पनि विस्तारै बलियो हुँदै जान थाल्यो । आखिर जीवन भनेको पनि के नै रहेछ र ? निराशालाई चिर्दै जाने, अनि आशाको ज्योति बाल्दै जाने ।

आज पनि आशाको त्यही ज्योति बोकेर म बाँचिरहेकी छु । बाँचिरहेकी छु फेरि पनि अर्को कथा लेख्न । मलाई विश्वास छ, अबको कथा जितको हुनेछ ।

(गौतम नेपाल पर्यटन बोर्डमा कार्यरत अधिकृत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment