Comments Add Comment
सन्जमको नजरमा त्रिकोणात्मक सिरिज :

‘अमेरिकाविरुद्ध सन्दीप मुख्य हतियार, ओमानविरुद्ध ब्याटिङ चल्नुपर्छ’

२१ माघ, काठमाडौं । सन्जम रेग्मी, शक्ति गौचन र बसन्त रेग्मी कुनै समय नेपाली क्रिकेटमा स्पिन टि्रयो थिए । र, त्यसबेला नेपालको खेल जित्ने हतियार नै स्पिन थियो ।

नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्ने तयारी गर्दा तीनै खेलाडी राष्ट्रिय टिममा छैनन् । सन्जमले क्रिकेट खेल्न छाडेको धेरै भइसक्यो भने शक्तिले सन् २०१८ मा नेदरल्याण्ड्समा पहिलो ऐतिहासिक सिरिज खेल्दै सन्यास लिए । बसन्त पनि पारिवारिक कारण यसपटक टिममा छैनन् ।

माघ २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने सिरिज खेल्ने नेपाली टिममा युवा खेलाडीको बाहुल्य छ । वर्ल्डकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न ओमान र अमेरिकाको टिम पनि काठमाडौं आइसकेका छन् । अमेरिका २०१० र ओमान २०१२ पछि पहिलो पटक नेपाल आएका हुन् ।

नेपालले २०१० मा त्रिवि क्रिकेट मैदानमै अमेरिकालाई हराउँदै डिभिजन ५ को उपाधि जितेको थियो ।

त्यो ५० ओभरकै खेल थियो, जसलाई अहिले एकदिवसीयको मान्यता दिइएको छ । त्यसबेला खेलेकामध्ये चार खेलाडी नेपालको राष्ट्रिय टिममा छन् । अमेरिकालाई हराउँदा नेपाली टिमबाट खेलेका ३७ वर्षीय सन्जम भन्छन्, ‘यो सिरिजले थाहा हुन्छ हाम्रो त्यो बेलाको टिम राम्रो थियो कि अहिले छ भनेर ।’

तर उनलाई टी-२० लिगहरुले ५० ओभरको क्रिकेटमा त असर गरेन भन्ने चिन्ता छ । भन्छन्, ‘हाम्रो देशमा ३ वटा टी-२० लिग हुन्छ विश्वमा कही हुँदैन यस्तो ।’

ठीक विपरीत २०१० मा नेपालले खेलेको र अहिलेको अमेरिकी टिममा धेरै फरक आएको उनको बुझाइ छ । ‘त्यो बेला अमेरिका ५० ओभरको क्रिकेटमा राम्रो थियो । बोर्डको विवादका कारण डिभिजन ५ मा धकेलिएको थियो,’ पूर्वक्रिकेटर सन्जम भन्छन्, ‘अमेरिकाको टिम अहिले डबल स्ट्याण्डर्ड छ ।’

त्यसमाथि त्यसबेला खेलेको डिभिजन क्रिकेट थियो भने अहिलेको ओडीआई लिग हो । ‘यो विश्व क्रिकेट लिग होइन ओडीआई म्याच हो । रेटिङमा जान्छ । यसले जोश पनि आउँछ,’ सन्जमले ओडीआई खेल्नुको अर्थबारे प्रष्ट पारे ।

आईसीसीले सन् २०२३ मा भारत हुने ५० ओभरको विश्वकपका लागि २०१८ मा नयाँ संरचनामा जाने निर्णय गरेको थियो । त्यसअनुसार २०१९ बाट वर्ल्डकप लिग टु सुरु भइसकेको छ । त्यसैले यो विश्वकपको छनोट आधार पनि हो । लिगमा अमेरिका र ओमानले २-२ सिरिज खेलिसकेका छन् भने नेपालले भने पहिलो सिरिज खेल्दैछ । तर यो नेपालका लागि सहज छैन भन्छन् सन्जम ।

‘हामीले अमेरिकालाई हरायौं र ओमानसँग हार्‍यौं वा दुवै टिमसँग हार्‍यौं भने हामीले बुझ्नुपर्छ कि त्यो बेलाको भन्दा अहिले टिम खराब भाएको छ । किनकी टी-२० ले गर्दा ५० ओभरको म्याच हुन छाडेको छैन,’ सन्जमले भने ।

उनकाअनुसार कुनै समय बराबरी अवस्थामा रहेको ओमान अहिले स्तरीय टिम बनेको छ ।

सन्दीप फ्याक्टर

सन्जम पुस्ताका स्पीनरहरु नभए पनि अहिले नेपाली टिममा नयाँ पुस्ता आइसकेको छ । त्यसको नेतृत्व सन्दीप लामिछानेले गर्दैछन् । तीन वर्षअघि विश्व क्रिकेट लिगमा नामिबियाविरुद्ध खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए सन्दीपले । उनी अहिले टी-२० फ्रेन्चाइज लिगहरुमा नेपालका ग्लोबर स्टार हुन् ।

उनलाई ललित नारायण राजवंशी र सुशन भारीको साथ रहनेछ । उनीहरु सबैको खेलबारे सञ्जम परिचित छन् र सिरिजमा मुख्य बलर सन्दीप नै हुनसक्ने मान्छन् । प्लेअर टु वाच को होला भन्ने प्रश्नमा सन्जमले बलिङमा सन्दीप तथा ब्याटिङमा पारस खड्का र ज्ञानेन्द्र मल्लको नाम लिए ।

‘अमेरिकासँग सन्दीप एक्लै चल्छ । किनकी उसको बलिङ फ्याक्टर धेरै छ र अमेरिकाको ५-६ विकेट लिन सक्छ,’ सन्जमले भने, ‘तर धेरै कुरा कन्डिसनमा पनि भर पर्छ ।’

‘अमेरिकी टिममा स्टेभन टेलर छ । उनलाई चाँडै आउट गर्न सकियो भने फाइदा हुन्छ,’ सन्जमले भने, ‘लेफ्टलाई बलिङ गर्न सन्दीप गाह्रो भएको हेरेको छु । अमेरिकाविरुद्ध दुईवटै म्याचमा सन्दीपले लगातार ५ विकेट लिन सक्छ ।’

ओमानसँग हुने नेपालको खेलबारे चाहिँ अहिले भन्न नसक्ने पूर्वक्रिकेटर सन्जमले सुनाए । ‘सन्दीपले केमियो रोल खेल्न सक्छ । २-३ विकेट लिन्छ’ उनले भने, ‘अर्को बलर को हुन्छ भन्न सक्दिनँ । पारसले पनि विकेट निकाल्न सक्छन् ।’

यस्तै ब्याटिङमा ओमानविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले राम्रो खेल्नसक्ने उनको विश्लेषण छ । ‘ब्याटिङमा पारस छन् । तर ओमानको बलिङ जस्तो छ, त्यसमा ज्ञानु चल्छ,’ उनले भने ।

पारस र ज्ञानेन्द्रले ओपनिङ गर्न हुन्न

ब्याटिङ नेपालको कमजोर मानिन्छ । त्यसमा पनि ओपनिङमा लगातार संघर्ष गर्दै आएको छ । कुनै बेला वान डाउनमा ब्याटिङ गर्ने ज्ञानेन्द्र अहिले नेपालको पर्मानेन्ट ओपनर भइसके । उनलाई कसले साथ दिन्छ अहिलेसम्म पक्का भएको छैन ।

गत वर्ष युएई सिरिजमा ज्ञानेन्द्र र विनोद भण्डारीले ओपनिङ गरेका थिए । टी-२० मा पारस खड्काले पनि ओपनिङ गरे । ५० ओभरमा करिब ८ वर्ष २ डाउनमा ब्याटिङ गरेका निवर्तमान कप्तान पारसले अहिले वान डाउनमा ब्याटिङ गरिरहेका छन् । यो सिरिजमा आवश्यकताअनुसार जुनसुकै पोजिसनमा ब्याटिङ गर्न आफू तयार रहेको पारसले बताएका छन् । यसको संकेत ज्ञानेन्द्रको जोडीको रुपमा पारसले पनि ओपनिङ गर्ने सम्भावना छ ।

तर यो सही नहुने सन्जमको तर्क छ । ‘ओपनिङ पारस र ज्ञानुले गर्ने मैले पनि कतै सुनेँ । यो एकदमै नराम्रो कुरा हो,’ उनले भने, ‘दुवै टिमको फास्ट बलिङ राम्रो छ । पारसले स्पिन राम्रो खेल्छ । त्यसैले १/२ डाउनमा खेलाइयो भने राम्रो हुन्छ ।’

अहिले ओमानी टिमको बलिङ अट्याक राम्रो रहेकाले नेपालको ब्याटिङ चल्नुपर्ने भन्दै उनले भने, ‘अमेरिकालाई हाम्रो स्पिनले पनि हराउन सकिन्छ । तर ओमानको बलिङ अट्याक धेरै स्ट्रोङ छ । हामीले १५० चेज गर्न पनि गाह्रो पर्नसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment