Comments Add Comment

अन्ततः चितवनमा नयाँ एसपी पठाइए, पन्त पर्सामा

२१ माघ, काठमाडौं । एक महिनादेखि नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङलाई पठाएको छ ।

चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि विकल्पमा नयाँ एसपीलाई अघि सारिएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले चितवनमा गुरुङलाई पठाइएको पुष्टि गरेका छन् ।

यसअघि प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सूची सार्वजनिक गरेको थियो, जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भयो । चितवनमा पन्त पठाइन् ।

तर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आडमा मल्लले प्रहरी हेडक्वार्टरको आदेश लत्याए । प्रचण्डलाई भनेर उनी सरूवा थमौती माग्नतिर लागेपछि विवाद भएको थियो ।

प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृत (पीएसओ) मल्ललाई चितवनबाट रमाना लिन बाध्य बनाउन प्रदेश प्रहरी कार्यालयले लिखित निर्देशन नै पठाउनुपरेको थियो ।

मल्लले प्रदेश प्रहरीको निर्देशन पनि लत्याएका थिए । तर, व्यापक दबावपछि २४ घन्टामा रमाना बुझे ।

प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सम्बन्धी स्टाटसमा पन्तले फेसबुक कमेन्टमा ‘रिप’ लेखेपछि उनको केही अघि आलोचना भएको थियो । त्यही विषयलाई लिएर पन्तलाई चितवनमा जानबाट रोक लगाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

गंगालाई पर्साको जिम्मेवारी

पन्तलाई चितवन पठाउन नसकेपछि प्रहरी हेडक्वार्टरले उनलाई पर्साको जिम्मेवारी दिएको छ । फेसबुकमा लेखेको कमेन्टका कारण विवादमा आए पनि उनी प्रहरीभित्र व्यवसायिक अधिकृत मानिन्छिन् ।

पर्सामा रहेका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको छ । उनी अपराध अनुसन्धानमा पोख्त अधिकृत हुन् । राठौरसँग यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखामा काम गरेको अनुभव छ ।

बारामा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई पठाइने भएको छ । यसअघि पन्तको विकल्पमा उनको नाम चितवनका लागि चर्चामा आएको थियो ।

काठमाडौं प्रहरीका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने बाराका एसपी विकास खनालको ५ नं. प्रदेश प्रदेश दंगा नियन्त्रण गण, सुनवलमा सरुवा भएको छ ।

खनाल साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपित भए पनि उनलाई प्रहरी प्रधान कार्यालयले आकर्षक पोष्टिङ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment