Comments Add Comment

एउटा किड्नी फेर्छु अनि बेस्सरी काम गर्छु : प्रधानमन्त्री

'भैंसेपाटी केही होइन, हामी भर्खरै भेट भएका केटाकेटीजस्तो होइन'

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चाँडै मृगौला फेर्ने र तीन वर्षसम्म सक्रियतापूर्वक सरकार हाँक्ने बताएका छन् । मृगौला फेर्नु अहिलेको जमानामा कुनै ठूलो कुरो नभएको प्रधानमन्त्रीले बताए ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले भने, ‘चुनावपछिका कुरा नगरौं । तीन वर्षपछि चुनाव हुन्छ । तीन वर्षसम्म प्रधानमन्त्री रहने हो । तपाईहरुलाई बताइदिऔं, किड्नी ट्रान्सप्लान्ट गर्छु अब छिट्टै ।’

आफ्नो स्वास्थ्य सामान्य रहेको आत्मविश्वास प्रकट गर्दै प्रधानमन्त्रीले भने, ‘अलिअलि समस्या छ किड्नीमा । अलिअलि समस्या किन राख्ने आजको जमानामा ? एउटा किड्नी ल्याएर राख्छु । यो ठूलो कुरै होइन । तपाईहरु ढुक्क हुनोस् । अनि तीन वर्ष…. ।’

छिट्टै किट्नी ट्रान्सप्लान्ट गरेपछि बेस्सरी काम गर्न सजिलो हुने प्रधानमन्त्रीले बताए । ‘मैले किड्नी छिट्टै किन राख्ने भने बेस्सरी काम गर्न सजिलो होस् भनेर । अहिलेभन्दा बढी सजिलोसँग काम गर्नका लागि ।’

‘आलोपालो हटाइदियौं, पार्टीमा समस्या छैन’

प्रधानमन्त्री ओलीले अर्को चुनावसम्म प्रधानमन्त्री हाँक्नलाई पार्टीभित्रबाट अब कुनै समस्या र विमति नरहेको बताए ।

‘पहिले त मैले भन्याथें प्रचण्डजीलाई, आलोपालो गरौंला नि त भनेर । अस्ति उहाँले भन्नुभयो, अस्थिरता देखिन्छ, त्यसकारण त्यस्तो नगरौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ (प्रचण्ड) कै प्रस्तावमा यो आलोपालो भन्ने कुरालाई हामीले हटाइदियौं । अब निरन्तर बाँकी अवधि अगाडि लाने भन्ने कुरा पनि हामीले निर्णय गर्‍यौं । प्रचण्डजीले नै आलोपालो छाडेर स्थिर ढंगले लाने, अस्थिरता नदेखाउने भन्ने कुरा उहाँकै प्रस्तावमा हामी गइराखेका छौं ।’

पार्टीभित्र सानातिना समस्याहरु जहाँसुकै हुने प्रधानमन्त्रीले बताए । उनले भने ‘अलिअति के छ भने पचासौं वर्ष राजनीति गरेका, खली खाएका छन्, एउटाले भनेको आदेश अर्काले मान्ने तहका छैनन् । यहाँ सम्पादक र सहसम्पादक जस्ता होइन, सबै सम्पादकभन्दा माथिका जस्ता छौं ।’

पार्टीभित्रका अन्य नेतातर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘मभन्दा अगाडि प्रधानमन्त्री भइसकेकाहरु छन् । मभन्दा अगाडि पार्टी प्रमुख भैसकेकाहरु छन् त अनि मैले एकदम खुरुक्क यसो गर त भनेर आदेश दिन त मिल्दैन । मैले विचार गरेर, मान-भाउ पुर्‍याएर काम गर्नुपर्ने हुन्छ । यस्ता अलिअलि कम्प्िलकेसन त हुन्छन् नि पार्टीमा । समस्या नभएको पार्टी त कहाँ छ र ?’

तत्कालीन माओवादी र एमालेको तिक्ततापूर्ण सम्बन्ध स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु कल्पना गर्न सक्नुहुन्छ, एमाले कहाँ थियो, माओवादी कहाँ थियो ? वल्लो डाँडो र पल्लो डाँडोबाट तोप हानाहान गर्थे धुमधामसँग । मैले त झन साह्रो तोपका गोलाका गोला ठोक्ने ! तर, त्यस ठाउँबाट हामी यहाँसम्म एकतामा आइपुगेका छौं । यो मौकाले भेट भएको जस्तो होइन, सचेत प्रयासबाट गरिएको हो ।’

पत्रकारहरुले भैंसेपाटी बैठकको कुरो उठाएर अलमलमा पर्न जरुरी नरहेको भन्दै प्रधानमन्त्रीले भने- ‘भैंसेपाटी त्यस्तो कन्फ्युजन केही पनि होइन । खुमलटार बैठक हुन्छ, बालुवाटार बैठक हुन्छ, डल्लु बैठक हुन्छ । भर्खरै भेट भएका केटाकेटीजस्तो होइन । अर्कासँग यस्सो बोल्या देख्यो भने हँ गर्ने हामी त्यस्तोखालको होइन । हामी धेरै वर्ष राजनीति गरेर, चुनावमा तालमेल गरेर, एकीकरण गरेर यहाँसम्म आएका हौं, कसो गर्दा पार्टी मजबुद हुन्छ भन्ने थाहा छ, कसो गर्दा कमजोर हुन्छ भन्ने पनि थाहा छ ।’

यो पनि पढ्नुस् 

एमसीसी संसदको यही अधिवेशनबाट पास हुन्छ : प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment