Comments Add Comment

सांसदको प्रश्न- भिजिट २०२० बारे काम कम, हल्ला धेरै किन ?

मन्त्री भन्छन्-कारोनाले समस्या पार्‍यो

२२ माघ, काठमाडौं । सांसदहरुले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा काम कम हल्ला धेरै भएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

भ्रमण वर्षबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बुधबार आयोजना गरेको बैठकमा सहभागी सांसदहरुले आवश्यक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको व्यवस्थापन र सरसफाइमा ध्यान दिनेभन्दा सरकार प्रचारमा मात्रै बढी केन्द्रित भएको टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले नेपाल भ्रमण वर्ष घोषणा गर्नुभन्दा पहिले हुनुपर्ने अध्ययन र गृहकार्यमा सरकारको ध्यान पुग्न नसकेको भन्दै आलोचना गरे ।

‘सिंगापुर, थाइल्यान्ड, कम्बोडियालगायतका देशले पर्यटकलाई कसरी आकर्षण गरेको गर्यै छन् । त्यसबारे अध्ययन छ कि छैन ? अध्ययन गर्न लगाएका छौं कि छैनौं ?’ नेता नेपालले भने ।

देशको आम्दानीको महत्वपूर्ण र दीर्घकालीन माध्यमका रुपमा पर्यटनलाई विकास गर्न उनको सुझाव छ । नेता नेपाल भन्छन्, ‘अहिलेको लागि २०२० सकिइहाल्ला । तर, नेपालको आम्दानीको महत्वपूर्ण माध्यम पर्यटन र दीर्घकालीन हो । यसलाई यसैगरी अगाडि बढाउन सक्नुपर्छ ।’

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नेपाल भ्रमण वर्षको प्रचार गरिरहँदा ठमेलमा ढल फुटेकोतर्फ ध्यान नगएको बताए । ‘नेपाल भ्रमण वर्ष भन्ने तर, ठमेलमा ढल फुटेको नहेर्ने, यसरी भिजिट नेपाल सफल हुन्छ ?’ सांसद सिंहको सरकारलाई प्रश्न छ ।

कांग्रेसकी सचेतकसमेत रहेकी समिति सदस्य पुष्पा भुसालले सरकारलाई पूर्वाधार निर्माण र व्यवस्थापनमा ध्यान दिन सुझाव दिइन् ।

नेकपाका सांसद मोहन बानियाँले भ्रमण वर्षबारे काम कम र हल्ला धेरै भएको बताए । ‘टुरिजम भनेको हल्ला मात्र होइन । पूर्वाधार निर्माण पनि हो । भिजिट २०२० बारे काम कम हल्ला धेरै किन ? यसतर्फ ध्यान जाओस्,’ बानियाँको सरकारलाई सुझाव छ ।

सांसद रेनुका गुरुङले विमानस्थल वरपर रहने ट्याक्सिवालाहरुको व्यवहार सुधि्रन आवश्यक रहेको बताइन् । ‘विमानस्थल वरपर रहने ट्याक्सिवालाले पर्यटकलाई गर्ने व्यवहार राम्रो छैन् । भन्दा सानो लाग्ला तर, यस्ता कुराले पनि ठूलो अर्थ राख्छ,’ सांसद गुरुङले भनिन् । तर, कस्ता ब्यबहार सुधार गर्नुपर्ने हो ? यसबारे गुरुङले ब्याख्या गरिनन् ।

सांसद सुदन किरातीले पशुपति आउने पर्यटकमा निगरानी बढाउनुपर्ने बताए । ‘पशुपतिमा आउँछन्, त्यहीँ खाना पकाउँछन् । त्यस्ता धार्मिक पर्यटकका सन्दर्भमा निगरानी बढाउनुपर्छ,’ किराँतीको भनाइ छ ।

‘विदेशी र नेपालीलाई हवाई भाडा समान गरौं’

नेकपाका सांसद भीम रावलले विदेशी र नेपालीलाई हवाई भाडा समान गर्नुपर्ने बताए ।

यसो गर्दा नेपालमा पर्यटकको संख्या वृद्धि हुने उनको भनाइ छ । नेपालमा विदेशी र नेपाली भनेर हवाई भाडामा विभेद रहेको सन्देश अन्तर्राष्ट्रिय स्तरमा रहन दिँदा भ्रमण वर्ष खल्लो हुन सक्ने सांसद रावलको भनाइ थियो । ‘पर्यटकलाई बढी भन्दा बढी तान्न हवाई भाडा विदेशी र नेपालीका लागि समान हुनुपर्छ,’ रावलले भने ।

पर्यटन मन्त्रालयका अनुसार हाल नेपालीको तुलनामा विदेशी नागरिकले करिब दोब्बर मूल्य तिरेर नेपालमा हवाई यात्रा गर्नु परिरहेको छ । जसका कारण नेपाल महंगो गन्तब्यका रुपमा स्थापित भएको भन्दै सरोकारवालाहरुले समेत नेपाली र विदेशीलाई हवाई भाडा समान बनाउन सुझाव दिँदै आएका छन् ।

नेपालले भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा हवाई भाडा समान बनाएर पर्यटकलाई थप आर्कषण गर्न सकिने सांसद रावलको तर्क छ ।

सांसद रावलको भनाइमा समिति सभापति पवित्रा निरौला (खरेल)ले पनि सहमति जनाइन् । तर, समितिले यसबारे ठोस निर्णय वा निर्देशन भने दिएको छैन् ।

पर्यटकलाई आर्कषक बनाउन पूर्वाधारलाई गज्जब बनाउनुपर्नेमा सभापति निरौलाले जोड दिएकी छन् ।

मन्त्रीको जवाफ- कोरोनाले समस्या पार्‍यो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपले नेपाल भ्रमण वर्षलाई असर पारेको गूनासो गरे ।

चीनबाट करिब ५ लाख पर्यटक नेपाल भ्रमणमा आउने अपेक्षा गरिएको उल्लेख गर्दै मन्त्री योगेश भट्टराईले कोरोना भइरस फैलिएपछि चिनियाँ पर्यटकको विकल्प खोज्न सुरु गरिएको समितिलाई जानकारी दिए ।

‘कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्षलाई घाटा भयो । परिपूर्ति कहाँबाट गर्ने भनेर अन्य मार्केट खोजी भइरहेको छ,’ उनले भनेका छन् । मन्त्री भट्टराईका अनुसार गएको वर्ष करिब २ लाख चिनिया नेपाल भ्रमणमा आएका थिए ।

चीनको विकल्पमा पर्यटक ल्याउने बजारको बारेमा अध्ययन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागको महानिर्देशकलाई फोकल पर्सनका रुपमा तोकेर जिम्मेवारी दिइएको पनि मन्त्री भट्टराईले जानकारी दिए ।

भिजिट २०२० लाई सफल पार्ने सन्दर्भमा काम भन्दा हल्ला धेरै भएको सांसदहरुको गुनासोलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० मात्रै नभएर २०३० सम्मको लागि कार्ययोजना बनाउने कार्य भइरहेको बताए ।

भौतिक पूर्वाधार निर्माण, विमानस्थलको सुधार र सरसफाइमा पर्याप्त ध्यान दिइएको मन्त्री भट्टराईको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment