Comments Add Comment
फोटो फिचर :

करण र सुशन बलिङ तथा शरद र सन्दीप ब्याटिङमा जम्दा पनि नेपाल हारेको दिन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले बुधबार ओमानसँग १८ रनको हार बेहोरेको छ ।

दुई वर्षपछि ओडीआई मान्यता पाएको नेपालले घरेलु मैदानमा पहिलो ओडीआई खेल समेत खेलेको हो । यही खेलबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले पनि ओडीआई मैदानको मान्यता पाएको छ ।

पहिलो घरेलु ओडीआई हेर्न कीर्तिपुरमा करिब ८ हजार दर्शक उपस्थित थिए । स्कोर लो भएपनि प्रतिस्पर्धात्मक बनेको खेलमा १९८ रनको लक्ष्य पछ्यएको नेपाल ४६.५ ओभरमा १७९ रनमा अलआउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

पहिलो घरेलु ओडीआई खेलमा पराजित भएपनि केही खेलाडीले व्यक्तिगत रुपमा सम्झनलायक प्रदर्शन गरे । नेपालका लागि शरद भेषावकरले अर्धशतक बनाए । करण केसीले ४ विकेट लिए । सुशन भारीले ३ विकेट लिए । टी-२० मा ग्लोबल स्टार बनेका सन्दीप लामिछानेले घरेलु मैदानमा बलिङबाट विकेट लिन सकेनन् । तर रोमाञ्चक स्टाइलमा उत्कृष्ट ब्याटिङ गरे ।

यही खेलबाट नेपालका सुशन भारी र अभिनाश बोहराले ओडिआईमा डेब्यु गरेका छन् । दुवै खेलाडीले यसअघि नै राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका छन् भने टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । तर ओडीआईमा भने घरेलु मैदानबाटै उनीहरुले डेब्यु गरे ।

सुशनले त्यसको भरपुर फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा १ मेडन राख्दै जम्मा १४ रन खर्चेर ३ विकेट लिए । अभिनाशले पनि उत्कृष्ट बलिङ शुरुवात गरेका थिए तर पछिल्ला ओभरमा महँगा हुँदा ९ ओभरमा २ मेडनसहित ३८ रन खर्चिन पुगे । उनले उनले विकेट लिन सकेनन् ।

यस्तै नेपालको लागि मुख्य बलर रहेका सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४५ रन खर्चे पनि विकेट लिन सकेनन् ।

उनले नेपालको ब्याटिङ अर्डरमा भने राम्रो प्रदर्शन गरे । नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले २८ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए । नेपालको स्कोर १२४ हुँदा ३७औं ओभरमा क्रिजमा पुगेका सन्दीपले शरद भेषावकरलाई गतिलो साथ दिएका थिए । सन्दीप र शरदले आठौं विकेटका लागि ३८ रनको साझेदारी गरे । तर शरद ४४औं ओभरको पहिलो बलमा आउट भएपछि नेपाल हारतर्फ ढल्कियो । तैपनि सन्दीपले खेलमा चौका छक्का प्रहार गर्दै नेपालको आशा कायम राख्दै खेललाई रोमाञ्चक बनाएका थिए ।

सन्दीप पनि ४५औं ओभरको पहिलो ओभरमा आउट भएपछि नेपाल धेरै बेर क्रिजमा टिकेन । ओमानविरुद्ध नेपाली ब्याट्सम्यानले एक मात्र अर्धशतक बनाए । त्यो उनै शरदको ब्याटबाट थियो । अर्धशतक पूरा गरेपछि शरदले आकाशतिर फर्केर सेलेब्रेसन गरेका थिए । शरदले आउट हुनुअघि १०८ बल खेल्द ५ चौकाको मद्दतमा ५५ रन बनाएका थिए । घरेलु मैदानमा ओडीआईमा अर्धशतक बनाउने शरद पहिलो खेलाडी समेत बनेका छन् । यस्तै उनी ओडीआईमा अर्धशतक प्रहार गर्ने छैटौं नेपाली खेलाडी बने । यसअघि पारस खड्का, ज्ञानेन्ऽ मल्ल, सोमपाल कामी, सुवास खकुरेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment