+
फिफा विश्वकप २०२६ :

बुबाकै पाइला पछ्याउँदै विश्वकपमा इतिहास रच्ने नर्वेका तीन खेलाडीहरू

२०८३ असार  १२ गते १४:१७ २०८३ असार १२ गते १४:१७

सन् १९९४ को फिफा विश्वकप, अमेरिका । नर्वेको टोलीमा तीन खेलाडी थिए– गोलरक्षक एरिक थोर्स्टभेड्ट, मिडफिल्डर अल्फ–इंगे हालान्ड र फरवार्ड गोरान सोर्लोथ । ३२ वर्षपछि फेरि अमेरिका विश्वकपको आयोजक बनेको छ र इतिहासले एउटा अद्भुत घेरा पूरा गरेको छ ।

यसपटक नर्वेको जर्सीमा मैदान उत्रिएका छन् उनीहरूकै छोराहरू– क्रिस्टियन थोर्स्टभेड्ट, एर्लिङ हालान्ड र अलेक्जान्डर सोर्लोथ ।

इराकविरुद्धको समूह चरणको खेलमा यी तीनै खेलाडी एकसाथ मैदानमा उत्रिएसँगै नर्वे फिफा विश्वकप इतिहासमा एउटै खेलमा पूर्व विश्वकप खेलाडीका तीन छोरालाई खेलाउने पहिलो राष्ट्र बनेको छ।

अमेरिकाबाट सुरु भएको कथा, अमेरिकामै दोहोरियो

सन् १९९४ को विश्वकप नर्वेका लागि विशेष थियो । १९३८ यता पहिलोपटक विश्वकप खेलेको टोलीमा अल्फ–इंगे हालान्ड, गोरान सोर्लोथ र एरिक थोर्स्टभेड्ट एकसाथ थिए । उनीहरूले छनोटमा नेदरल्यान्ड्सलाई पछि पार्दै इंग्ल्यान्डलाई बाहिर राखेका थिए ।

विश्वकपमा नर्वेले मेक्सिकोलाई १–० ले हरायो, इटालीसँग १–० ले हार्‍यो र आयरल्यान्डसँग गोलरहित बराबरी खेल्यो। चार टोली समान चार अंकमा पुगे पनि गोल अन्तरका कारण नर्वेको यात्रा समूह चरणमै टुंगिएको थियो।

त्यही टोलीका तीन छोराहरू अहिले फेरि अमेरिकी भूमिमै विश्वकप खेलिरहेका छन्। यस्तो संयोग विश्व फुटबलले यसअघि कहिल्यै देखेको थिएन ।

एर्लिङ हालान्ड : बुवाको भन्दा ठूलो विरासत

अल्फ–इंगे हालान्डले नर्वेका लागि ३४ खेल खेलेका थिए । क्लब फुटबलमा उनले नटिङ्घम फरेस्ट, लिड्स युनाइटेड र म्यानचेस्टर सिटीबाट खेले ।

उनका छोरा एर्लिङ हालान्ड भने विश्व फुटबलकै सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एक बनिसकेका छन् । लिड्समा जन्मिएका हालान्डले क्लब करियरमा ३८० खेलमा २९७ गोल गर्दै १३ उपाधि जितिसकेका छन् ।

विश्वकप डेब्यूमै उनले इराकविरुद्ध दुई गोल गरे भने सेनेगलविरुद्ध पनि दुई गोल गर्दै नर्वेलाई लगातार दोस्रो जित दिलाए । अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या ५७ पुगेको छ, जुन उनले केवल ५१ खेलमा हासिल गरेका हुन् ।

‘विश्वकपमा डेब्यू गर्नु र २८ वर्षपछि नर्वेलाई जित दिलाउनु मेरो लागि गर्वको विषय हो’ हालान्डले भनेका छन् ।

सोर्लोथ परिवार : बाबुजस्तै स्ट्राइकर

गोरान सोर्लोथले नर्वेका लागि ५५ खेल खेल्दै १५ गोल गरेका थिए । उनले घरेलु फुटबलमा पाँच लिग उपाधि र चार कप जितेका थिए भने जर्मनीको बोरुसिया मोन्चेनग्लाडबाख र टर्कीको बर्सास्पोरबाट पनि खेले ।

उनका छोरा अलेक्जान्डर सोर्लोथले भने युरोपका १४ सिजनमा १३ क्लबको यात्रा गरिसकेका छन् । भिल्लारियल, रियल सोसिडाड र एट्लेटिको म्याड्रिडबाट खेलिसकेका उनले नर्वेका लागि ६७ खेलमा २६ गोल गरिसकेका छन् ।

३२ वर्षअघि उनका बुवा विश्वकप खेलिरहेका थिए, अहिले छोरा नर्वेको आक्रमण पंक्तिको महत्त्वपूर्ण हिस्सा बनेका छन् ।

थोर्स्टभेड्ट परिवार : गोलपोस्टदेखि मिडफिल्डसम्म

एरिक थोर्स्टभेड्ट सन् १९९४ मा नर्वेका पहिलो रोजाइका गोलरक्षक थिए । टोटेनहमबाट आठ वर्ष खेलेकाका उनले अन्तर्राष्ट्रिय फुटबलबाट ९७ खेलपछि संन्यास लिएका थिए, जुन त्यतिबेला नर्वेको कीर्तिमान थियो ।

उनका छोरा क्रिस्टियन थोर्स्टभेड्ट भने फरक भूमिकामा छन् । सासुओलोका मिडफिल्डर क्रिस्टियन इराकविरुद्ध बेन्चबाट मैदान छिरेका थिए र चौथो गोलको निर्माणमा योगदान दिएका थिए ।

२८ वर्षपछि फर्किएको नर्वे

सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलेको नर्वेले यसपटक शानदार सुरुआत गरेको छ । इराकलाई ४–१ र सेनेगललाई ३–२ ले हराउँदै नर्वेले नकआउट चरणको टिकट सुनिश्चित गरिसकेको छ ।

मार्टिन ओडेगार्ड, एर्लिङ हालान्ड र अलेक्जान्डर सोर्लोथसहितको यो टोलीलाई नर्वेको ‘गोल्डेन जेनेरेसन’ मानिएको छ ।

तर यस विश्वकपमा नर्वेको सबैभन्दा सुन्दर कथा अंक तालिकामा होइन, परिवारमा लेखिएको छ ।

बुवाहरूले १९९४ मा अमेरिकी भूमिमा विश्वकप खेलेका थिए । ३२ वर्षपछि छोराहरूले त्यही भूमिमा इतिहास रचेका छन्। फुटबलमा विरासतको कुरा धेरै सुनिन्छ, तर नर्वेको यो कथा विरासतभन्दा धेरै ठूलो छ- यो तीन परिवार र दुई पुस्ताले मिलेर लेखेको विश्वकपको अद्भुत अध्याय हो।

एर्लिङ हालान्ड एलेक्जेन्डर सोर्लोथ क्रिस्टियन थोर्स्टभेड्ट नर्वे फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय