+
+

कलंकीमा दुई जनालाई ठक्कर दिएर भागेको टिपर नख्खुडोलमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १४:०८

२३ माघ, काठमाडौं । कलंकीमा बुधबार मध्यराति दुई जनाको मृत्यु हुने गरी मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुडोलमा भेटिएको छ । नख्खु खोलाको पुल छेऊ चन्द्रसूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा टिपर भेटिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले टिपरलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘सीसी टीभी फुटेज र र्‍याडम चेकजाँचका क्रममा सम्भावित क्षेत्रमा खोजतलास गर्ने क्रममा बा४ख ८५७९ नम्बरको टिपर नियन्त्रणमा लिएका छौं ।’

उनका अनुसार सवारीधनी प्रहरीको सम्पर्कमा आइसकेका छन् । यद्यपि, चालक भने फरार छन् । उनको पनि खोजी भइरहेको बोगटीले बताए ।

कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बल्खुबाट आएको मोटरसाइकलाई ठक्कर दिँदा आगजनी पनि भएको थियो । मृतकको शरीरसमेत जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा रौतहटका हटहरिया गाउँपालिका-४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया- ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?