Comments Add Comment

लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव सुरु

लुम्बिनीका नाममा भ्रम छर्ने काम भयो :  मुख्यमन्त्री

२४ माघ,बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबारदेखि तीन दिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्व महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन एक कार्यक्रमका बीच मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन् ।

महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकासमा स्वार्थको राजनीति हावी भएको बताए । लुम्बिनीको विकास अपेक्षाकृत रुपले अगाडि बढ्न नसक्नुको मूल कारण राजनीतिक स्वार्थ रहेको भन्दै उनले स्थानीय जनप्रतिनिधि र राजनीतिक दललाई विकासमा राजनीति नगरी मिलेर अघि बढ्न आग्रह गरे ।

‘लुम्बिनीको नाममा जनतामा भ्रम छर्ने र यहाँको विकासमा क्षणिक स्वार्थका लागि अवरोध गर्ने परिपाटीले लुम्बिनीको विकास पछाडि परिरहेको छ,  यही अवस्थामा लुम्बिनीलाई रहन दिने हो भने स्थानीयले यसबाट केही फाइदा लिन सक्दैनन्,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीलाई विश्वशान्तिको वास्तविक उद्गम थलो बनाउन स्थानीयले बुद्धिजमलाई गहिरो गरी अध्ययन गर्न जरुरी रहेको बताए । ज्ञानका माध्यमबाट शान्ति कायम गर्ने सबैभन्दा सशक्त माध्यम बुद्धिजम रहेको भन्दै उनले बुद्धिजमसँग जोडिएको कला, संस्कृति र साहित्यलाई विश्व कला बजारकै महत्वपूर्ण हिस्सा मानेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल मात्र नभएर विश्वशान्तिको उद्गम थलो भएकाले यसको विकासमा कसैले पनि राजनीति गर्न नहुने बताए ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले लुम्बिनीको विकास जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै स्थानीयलाई सहभागी गराएर लुम्बिनीको विकासमा जोड दिनुपर्ने खाँचो औंल्याए ।

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले लुम्बिनीको विकास सरकार एक्लैले गरेर नहुने भन्दै यसका लागि निजी क्षेत्र, संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताए ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा आयोजित महोत्सव तीन दिनसम्म चल्ने छ । महोत्सवकै अवधिमा मोलाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने छन् ।

महोत्सवमा पूर्व मन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, वसन्त विडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment