Comments Add Comment
व्यंग्य–कथा :

कांग्रेस–कम्युनिस्ट : एउटै बाँसका दुई भाटा !

हाम्रो गाउँलगायत वरपरका गाउँमा पनि २०४६ मा आएको बहुदलको हलचल ह्वात्तै बढेको थियो । कहिले कांग्रेसको आमसभा त कहिले कम्युनिस्टको जनसभा । कहिले कांग्रेसको जुलुस त कहिले कम्युनिष्टको बैठक । कहिले कांग्रेस प्रवेश गर्नेको लर्को त कहिले कम्युनिष्ट छिर्नेको ताँती । आफ्नो दुश्मन कांग्रेस बने आफू कम्युनिस्ट बन्ने र आफ्नो झगडिया कम्युनिस्ट परे आफू कांग्रेसी बन्ने आइडिया मामूली हुन थालेको थियो ।

‘आयाराम गयाराम’ संस्कारले जनस्तरमा जग हाल्दै थियो । पूजाआजा, बिहे–बटुलो, मेला–भेला, न्वारान, पास्नीजस्ता मांगलिक सांस्कृतिक उत्सवहरूमा पनि यसो दुई/चारजना भेला भो कि ‘कांग्रेस–कम्युनिस्ट’ भन्दै राजनीतिक गफ सुरू भैहाल्थ्यो । बिहे गर्ने बेलामा पनि कुल, खानदान, गोत्र, केटाकेटीको गुण दोष आदिभन्दा कांग्रेस हो कि कम्युनिस्ट हो भनेर सोधीखोजी गरेपछि मात्र कुरो अघि बढ्थ्यो । कांग्रेसकी छोरी कम्युनिस्टले बिहे गर्दैनथ्यो, कम्युनिस्टकी छोरी कांग्रेसकी बुहारी पनि हुन पाउन्नथिन् ।

कांग्रेसमा लाग्नेले कम्युनिस्ट पत्रिका पढ्नु महापाप ठहरिन्थ्यो । कम्युनिस्टमा लाग्नेले कांग्रेसको पत्रिका किन्नु अपराध हुन्थ्यो । कांग्रेसको आमसभामा कम्युनिस्टजन वा कम्युनिस्टको जनसभामा कांग्रेसजन निहित उद्देश्यले मात्रै जान्थे, स्रोता बनेर केही जान्ने सुन्ने नियतले जाँदैनथे । कलेजको त कुरै छोडौं, विद्यालय तहसम्मै दलका विद्यार्थी संगठनका कमिटीहरू खुलिसकेका थिए ।

कांग्रेसी शिक्षकले पढाएको कम्युनिस्ट विद्यार्थीले बहिष्कार गर्नु वा कांग्रेसी विद्यार्थीलाई कम्युनिस्ट शिक्षकले ‘त्यो कांग्रेसीलाई म पढाउँदिनँ’ भन्नु पनि सामान्य नै हुन थालेको थियो ।

अरू त अरू, मलामी जाँदा पनि दलभेद देखिन थालेको थियो । एक किसिमले कांग्रेस र कम्युनिस्टबीच छुवाछुत नै शुरू भैसकेको थियो । दलीय छुवाछुतको यस्तो अद्भूत शैलीलाई रेडियो नेपालको त्यतिबेलाको चर्चित कार्यक्रम घटना र बिचारले झन् मलजल गर्ने गर्दथ्यो । यस्तो लाग्थ्यो, त्यो कार्यक्रमको जन्म नै दलीय छुवाछुतलाई प्रोत्साहन गर्न भएको थियो ।

०४६ को आन्दोलनमा ‘कांग्रेस–कम्युनिस्ट एक हौं’ भनेर नारा लगाए पनि यिनको द्वन्द्व र छुवाछुत देख्दा भने यस्तो प्रतीत हुन्थ्यो कि यिनको एकताले होइन, कुनै अदृश्य शक्तिको बाध्यताले पञ्चायत ढालेर प्रजातन्त्रको पुनस्र्थापना गरिदिएको थियो ।

०००

दलमाथिको प्रतिबन्ध हटेसँगै कमरेड शिखर अर्थात् कम्युनिस्ट पार्टीका एक नेताको पनि अब भूमिगत राजनीति सकियो ।

आफ्नै गाउँलाई कार्यक्षेत्र बनाएर खुला राजनीतिमा ऊनी आक्रामक ढङ्गले अघि बढे । हाम्रै गाउँका, त्यसमाथि हाम्रो तेह्र दिने नाताका, अझ त्योभन्दा माथि मेरा आदर्शका मानक यसरी अघि बढ्नु मेरा लागि साह्रै खुशीको कुरो थियो । म उनको अनुयायी थिएँ, ऊनी भूमिगत हुँदादेखि नै ।

उनको कुरो बुझे पनि नबुझे पनि मलाई ऊनका हरेक कुरा सही लाग्थे । जायज लाग्थे । बहुदल आएपछिको करीब–करीब तीन चार महिना भने म उनको अनुयायीबाट बढुवा भएर एउटा उन्नत हनुमानको रूपमा रहें । लाल लठैतको रूपमा रहें ।

म आफूलाई कम्युनिस्ट भन्नुमा धुन्धान गर्व गर्थें । हँसिया हथौडाको चित्र बनाउनुमा उत्पात मजा लाग्थ्यो । कम्युनिस्टका आदर्श नेता दार्शनिक अर्थात् मार्क्स, ऐंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर देख्दा त्यसै–त्यसै आँत भरिएर आउँथ्यो । आँट उर्लिएर आउँथ्यो । त्यो झण्डा र ती तस्वीरहरूप्रति अहिले पनि आस्था र सम्मान छ । तर, पुरै दल निरपेक्ष आस्था र सम्मान ! आवश्यकताको सिद्धान्तअनुसार ती तस्वीर र झण्डालाई कहिले फुकाउँदै, कहिले लुकाउँदै राजनीतिक वृत्ति विकासको मार्गमा हिँडेर सत्तासुखको चरमोत्कर्षमा पुग्नेहरूले दल निरपेक्ष आस्था र सम्मानको मर्म बुझ्छन् जस्तो लाग्दैन ।

भर्खर चौध टेकेको मेरो बाल मष्तिष्कमा कम्युनिस्ट भनेका भगवान् भन्दा असल हुन्छन् भन्ने परिसकेको थियो । यद्यपि मैले भगवानलाई मान्न छाडिसकेको थिएँ । सञ्जय थापाको ‘सूर्जेमानको सानो संसार’ भन्ने पुस्तिका कमरेड शिखरले पढ्न दिएका थिए । पाठ्यपुस्तक बाहेक अरू पुस्तक पढ्न पाउनु नै ठूलो कुरा थियो त्यो समयमा । त्यो किताब पढेपछि मलाई कम्युनिस्टहरू एकदमै असल हुँदारहेछन् भन्ने पर्‍यो । अनि फटाहा, शोषक, सामन्त, दुर्जनको अर्को नाम कांग्रेस हो भन्ने प¥यो । कमरेड शिखरले पनि यसैगरी बुझाउँथे ।

यसरी एउटा होनोहार हनुमान बन्दै थिएँ म । त्यतिखेर अहिलेको जस्तो फेसबुक हुन्थ्यो भने मिनेटैपिच्छे आफ्नो स्टाटसमा ‘हाम्रो गौरवशाली कम्युनिस्ट पार्टी जिन्दावाद!’ ‘जुन देशमा हाम्रोजस्तो कम्युनिस्ट पार्टी छ, त्यो देशका जनताले कदापि दुःख पाउन्नन् ’ इत्यादि लेख्दै हनुमानगिरी गरिरहेको हुन्थें । कम्युनिस्ट पार्टीको आलोचना गर्नेहरूलाई शब्दकोशमै नभएका शब्दहरूले गालीहरू पनि बर्षाइरहेको हुन्थें ।

०००

मेरो मावल मेरै गाउँको नजिकै थियो । करीब पौने घण्टाको पैदल दूरीमा । मावलका हजरबुवा सो गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थो । तर, भित्रभित्रै कट्टर कांग्रेस हुनुहुँदो रहेछ । जग्गा जमीन प्रशस्तै भाको जमिन्दार हुनुहुन्थ्यो । २०३६ सालको जनमत संग्रहमा आफू प्रधानपञ्च हुँदै पनि खुलेरै बहुदलको पक्षमा लाग्नुभएको थियो । स्वाभाविक नै थियो बहुदल आएपछि वहाँ बहुदलभित्रको पनि नेपाली कांग्रेसमा लाग्नुभयो ।

२०३६ सालमा वहाँ निर्दलवादीहरूको निशानामा पर्नु भएको थियो । बहुदल आएपछि कम्युनिस्टको निशानामा पर्न थाल्नु भो । विस्तारै अब नाति अर्थात् मेरो निशानामा पनि पर्न थाल्नुभो ।

म कम्युनिस्ट पार्टीको लाल लठैत हुन थालेपछि वहाँ मेरो नजरमा कांग्रेसी बढी, हजुरबुवा कम लाग्न थाल्यो । सीधै भन्नुपर्दा बहुदल आएपछि म वहाँलाई देख्नै सक्दिनथें । तर, यो कुराको पत्तो वहाँलाई थिएन ।

बहुदल आउनुअघि कम्तिमा हप्तामा एक पटक मावल गएकै हुन्थें । माया ममता पाएकै हुन्थें । मीठो मसिनो खाएकै हुन्थें। फर्किने बेला दुईचार रूपैयाँ पाएकै हुन्थें। अब भने मावल जाँदा पनि हजुरबुवा नभएको मौका छोपेर मात्रै जान थालेको थिएँ । खर्चबर्च र मीठो मसिनोको लोभ गर्न छाडिसकेको थिएँ । हजुरबुवा देख्नासाथ रिसको पारो एकाएक बढेर आउँथ्यो । कारण एउटै थियो– वहाँ कांग्रेसी हुनुहुन्थ्यो ।

कमरेड शिखरको अनौपचारिक प्रशिक्षणको प्रतिफल थियो त्यो । कांग्रेसका दाइहरूको प्रशिक्षणको प्रतिफल पनि यो भन्दा कम हुन्थेन । तिनका लठैतको चारतारे चर्तिकला देख्दा यो निष्कर्ष सहजै निस्कन्थ्यो । तब न कांग्रेस–कम्युनिस्ट द्वन्द्वले देश हल्लाएको थियो । तिनको छुवाछुतले जातीय छुवाछुत जस्तै बदनाम कमाउन थालेको थियो ।

०००

यही सेरोफेरोमा एक दिन नेपाली कांग्रेसले हाम्रो गाउँको हाइस्कुलको मैदानमा आमसभा गर्ने भयो । स्वाभाविक थियो त्यो आमसभामा मेरा हजुरबुवा पनि एक वक्ता हुनुहुन्थ्यो । आमसभाको अघिल्लो दिन नै कमरेड शिखरका घरमा कांग्रेसको त्यो आमसभा कसरी बिथोल्ने भन्ने योजना बन्यो । सभा हुँडल्न जुटिङ, हुटिङ, कुटिङ र लुटिङका आइडियाहरू आए ।

कमरेड शिखरले मलाई ‘भाइ भोलि तिमीले पनि सानो काम गर्नुपर्छ है’ भने ।

मैले बुल्किएर भनें– ‘कांग्रेसलाई तह लाउन जे गर्न पनि तयार छु।’

‘यी देश बेचुवालाई त आमसभा गर्न दिनै हुन्न ।’

मैले थप हनुमानगिरी गरें ।

भोलिपल्ट निर्धारित समयमै कांग्रेसको आमसभा भयो । दर्शकका रूपमा हामी पनि जुट्यौं र आम दर्शकहरू बस्ने ठाउँमै मुकाम बनायौं । वक्ताहरू बोल्ने क्रममा कम्युनिस्टको विरोध के गर्थे, तुरुन्तै हुटिङ गरिहाल्थ्यौँ । ताली पनि बज्दथ्यो । तर, तालीको हुर्मत हुटिङले लिन्थ्यो ।

बोल्नासाथै हुटिङ्ग भएको देखेर होला कांग्रेसी वक्ताहरू पनि उत्तेजित हुन्थे । धेरै वक्ताहरूले कांग्रेसको महिमा गाउनुभन्दा, आफ्ना भावी योजना, कार्यक्रम सुनाउनु भन्दा कम्युनिस्टको विरोधमा मात्रै समय खर्च गरे ।

कम्युनिस्टको जनसभा हुँदा पनि यसैगरी आफ्नो सिद्धान्त, कार्यक्रमको व्याख्यान दिनुभन्दा कांग्रेसको उछित्तो काढ्नमा नै वक्ताहरूले ज्यादा समय लिने गर्थे । त्योबेलाको देशव्यापी माहौल नै यस्तै थियो । सँगै हिँडेको प्रजातन्त्रको सहयात्रीलाई पनि ‘माले, मसाले, मण्डले एकै हुन्’ भनेर उपल्ला नेता नै यस किसिमको द्वन्द्वलाई बढावा दिन्थे । अर्कोतिर कम्युनिस्टहरू भन्ने गर्थे– ‘कांग्रेसले कोशी बेच्यो, गण्डकी बेच्यो, अब देश बेच्छ्र र नेपाललाई सिक्किम बनाउँछ्र । कांग्रेस भनेको शोषक, सामन्ती, दलालहरूको पार्टी हो’ आदि आदि ।

त्यो सभामा कांग्रेसी वक्ताहरूले ‘कम्युनिस्टले ६० वर्ष उमेर पुगेपछि मार्छन्, दिदीबहिनी केही भन्दैनन्, देवीदेउता केही मान्दैनन्, मन्दिर गुम्बा सब भत्काउँछन्, धर्म संस्कृति सबै स्वाहा हुन्छ…’ यस्तै यस्तै कुराहरू बोलिरहे ।

नेपाली राजनीतिको रङ्गीन रहस्य– कोशी बेच्यो, गण्डकी बेच्यो भन्दै कांग्रेसको खेदो खन्नेलाई त्यस्तै अमूक नदी बेच्यो भन्ने कलंकले छोडेन भने देवी देउता मान्दैनन् मन्दिर, गुम्बा भत्काउँछ्न् भन्ने कांग्रेसको आरोप सप्ताह पुराण र मन्दिर, गुम्बा, चर्च निर्माणमा कम्युनिस्टको दमदार दिलचस्पीले खारेज गरिदियो ।

मेरा हजुरबुवाको बोल्ने पालो आयो । वहाँले आफ्ना कुराहरू राख्न थालेको करीव पाँच मिनेटजति भएको हुँदो हो, यत्तिकैमा कमरेड शिखरले मलाई एउटा चीट दिएर त्यो चीट भाषण गरिरहेका मेरा हजुरबुवाकहाँ पुर्‍याउन अह्राए । पार्टी र यसका नेताले अह्राए जे पनि गर्ने खालको लठैत भैसकेको थिएँ म । आफ्नो लठैतगिरी सिद्ध गर्ने उपयुक्त अवसर थियो यो । दायाँ–बायाँ कतै नहेरी, सही गलत केही नसोची मैले त्यो चीट सरासर लगेर भाषण गरिरहेका मेरा हजुरबुवालाई दिएँ ।

भर्खर चौध टेकेको केटोले दायाँ बायाँ असल खराब सोच्ने कुरा पनि थिएन । हजुरबुवा कांग्रेसी हुनुको घृणा पनि टन्नै थियो । त्यो चीटमा के लेखिएको थियो, किन लेखिएको थियो मलाई फेदटुप्पो केही थाहा थिएन । थाहा पाउनु जरूरी पनि ठानिनँ । एक किसिमले लादेन र लिट्टेको लठैतभन्दा कम थिइनँ म ।

त्यो चीट दिइसकेपछि भित्रभित्रै गर्वले फूलें । आफ्नो पार्टी र सिद्धान्त भनेपछि आफ्नो हजुरबाउलाई पनि हाँक दिनसक्ने म गज्जब कै मान्छे हुँ जस्तो लाग्यो । कुन्नि कुनचाहिँ नेताले हो, आफ्नो सामन्ती बाउलाई खाँबोमा बाँधेर चुटेका थिए रे भन्ने सुनेको थिएँ । मनमनै आफूलाई उसैसँग तुलना गरें । मखलेल भएँ ।

चीट दिइसकेर सरासर कमरेड शिखरको छेउमा आएर बसें । वहाँ लगायत अरू कमरेडहरूले क्यावात ! भनेर स्याबासी दिनु भो । म झन् खुशीले बुल्किएँ । भित्रभित्रै गमें–‘उत्पातै बहादुरीको काम पो गरिएछ त हँ ।’

बोल्दाबोल्दै रोकिएर हजूरबाले त्यो पढ्नु भो । त्यसपछि कम्युनिस्टहरूलाई अगाडीका वक्ताको भन्दा चर्का–चर्का गालीहरू बर्साउनुभो ।

वर्षौंवर्ष सँगसँगै सत्ता समागममा लीन भएर ‘भाग शान्ति जय नेपाल’ हुँदा त एक अर्काको आलोचना सुन्न र पचाउन सक्दैनन् भने त्यतिखेरको त झन् कुरै नगरौं । जसै हजुरबुवाले गाली बर्साउनुभो, कमरेड शिखरबाट हामीले पनि ढुङ्गा बर्साउने मौन आदेश पायौं । ढुङ्गाको जोहो अगाडि नै गरिसकेका थियौं ।

गाली त अघिल्ला वक्ताले पनि गरेका थिए, तर ढुङ्गा भने हजुरबुवा बोल्ने क्रममा बर्साउने योजना कमरेड शिखरको मनमा थियो होला । ढुङ्गा बर्साएपछि मञ्चमा गएर माइक खोस्यौं । अर्थात् सुरू भो लुटिङ । हाम्रो एक झुण्डले माइक, कुर्सी सबै लुटेर छिन्नभिन्न परिदियौं । अर्को झुण्डले कांग्रेसीका कठालो समात्दै कुटिंग सुरू गर्‍यो । उनीहरू पनि कहाँ कम थिए र कुट्नमा । हाम्रो ‘जनवादी कुटाइ’ को विरुद्धमा उनीहरूको ‘प्रजातान्त्रिक कुटाइ’ पनि खाइयो ।

आक्रमणपछि प्रत्याक्रमण हुनु स्वाभाविक नै थियो । एकाएक मेरो स्कुलको मैदान रणभूमिमा परिणत भयो । को कांग्रेस, को कम्युनिस्ट चिन्नै नसकिने गरी धूलो उड्यो । त्यो अवस्थामा शायद कांग्रेसीले कांग्रेसीलाई अनि कम्युनिस्टले कम्युनिस्टलाई पनि पिटे हुन् ।

आमसभा पूर्णरूपमा बिथोलियो । पुलिस आए । भाग्यौं । मैदान खाली भो । मलाई भने कुटाइ खाए पनि निकै खुशी लाग्यो । किनभने, कांग्रेसीको सभा जो बिथोलिएको थियो ।

घर परिवार लगायत आफ्ना नाता सम्बन्धका प्रायः मान्छेले त मलाई ‘आफ्नै हजुरबुवालाई के गरेको त्यस्तो ? नगर्ने काम गरिस् बाबु’ भन्ने नै भए । मसंग तीन न तेह्रका साइनो नभएकाहरूले पनि ‘हैट्! त्यति सारोचाहिँ गर्नुहुन्नथ्यो’ भनेपछि चाहिं बल्ल मलाई ‘ओहो मैले त गल्ती पो गरेंछु कि क्याहो’ भन्ने भयो ।

यसपछि क्रमशः ग्लानीबोध हुँदै गयो मलाई । आफूले गलत गरेको रहेंछु भन्नेमा हल्का कन्भिन्स हुँदै गएँ ।

२०४८ र २०५१ को संसदीय निर्वाचनमा जिल्लाका जम्मै सीटमा कम्युनिस्टले जीतेपछि जिल्लामा कम्युनिस्ट हुने लहरै चल्यो । बचेखुचेका कांग्रेस पनि कम्युनिस्ट बन्न थाले । यही मेसोमा मेरा हजुरबुवा पनि कम्युनिस्ट हुनु भो ।

२०५४ को स्थानीय चुनावमा हजुरबुवाले कम्युनिस्ट पार्टीको टिकटबाटै गाविस अध्यक्ष नै जित्नुभो । तर, कम्युनिस्ट हुनुको बास्तविक मजै नलुटी कम्युनिस्ट भएरै बित्नुभो । प्रायश्चितसहितको हार्दिक श्रद्धाञ्जली मेरा स्वर्गवासी हजुरबुवालाई !

कांग्रेसको त्यति कट्टर र धुरन्धर मान्छे एकाएक किन कम्युनिस्ट पार्टी प्रवेश गर्नुभो, त्यो रहस्यकै गर्भमा रह्यो ।

हजुरबुबाको यो प्रवेश मेरा लागि भने ‘कागलाई बेल पाक्नु’ भन्दा कुनै अर्थमा भिन्न रहेन। किनभने, त्यतिखेरसम्म मैले मेरो ध्यान राजनीतिबाट हटाइसकेको थिएँ । हुन त त्यसबखतमा यसैगरी कोही ‘प्रजातन्त्र’को प्रवेश परीक्षा पास गरेर नेपाली कांग्रेस ज्वाइन गर्थे भने कोही ‘जनवाद’को प्रवेश परीक्षा पास गरेर कम्युनिस्ट । केही कुख्यात पञ्चहरूले पनि राम्रै अंकका साथ प्रवेश परीक्षा पास गरे अनि बहुदलको हरियो मैदानमा मजैले चरे ।

देशबाट पुरानो सामन्तवाद उन्मूलन हुँदै थियो । नयाँ सामन्तवाद जन्मिँदै थियो । ‘प्रजातान्त्रिक सामन्तवाद’ र ‘प्रगतिशील सामन्तवाद’ नाम अलग अलग भए पनि फरक भेट्टाउन कठीन थियो । वास्तवमा ‘कांग्रेस कम्युनिस्ट– एक हौं’ भन्ने नाराको सार्थकता भेटिँदै थियो ।

कांग्रेसप्रतिको विगतको त्यो हदको घृणा सम्झेर त्यतिखेरदेखि प्रायश्चित गर्न थालें, जतिखेर कांग्रेस र कम्युनिस्ट एउटै सिक्काका दुई पाटा भए । एउटै बाँसका दुई भाटा भए । एउटै गन्तव्यका दुई बाटा भए । अर्थात् फरक छुट्याउने सबै नाता समाप्त भए ।

जतिखेर कमरेड शिखर उनले आफैंले भन्ने गरेको सामन्तीभन्दा घनघोर सामन्त भए । राजनीतिमै लागेर धनी अनन्त भए ।

अहिले पार्टी नेतृत्वको उपल्लै आसनमा भएकाले कमरेड शिखर आजपर्यन्त दलाल पुँजीवाद र सामन्तवाद विरुद्ध संघर्षरत छन् । शुभकामना ऊनलाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment