+
+
Shares

सेनाको बेग्लै गुप्तचर सेवा गठन गर्ने विधेयक संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १४:४१

२६ माघ, काठमाडौं । नेपाली सेनाभित्र विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर सुरक्षा नीति बनाउन सैनिक इण्टेलिजेन्ससम्बन्धी अलग्गै सेवा गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको छ ।

सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतवार सैनिक ऐन २०६३ संशोधन विधेयक संघीय संसदमा दर्ता गरेका छन् । यो ऐन पारित भएमा अब नेपाली सेनाले सैनिक इन्टेलिजेन्स सेवा अन्तरगत गुप्तचर विभाग गठन गर्न पाउनेछ ।

विधेयकमा नेपाली सेनामा हाल कायम रहेको इन्टेलिजेन्स महानिर्देशनालयमा कार्यरत सैनिक कर्मचारीहरुलाई अब गठन हुने सैनिक गुप्तचर सेवामा लगिने प्रस्ताव छ । यसो गर्दा सरकारलाई थप आर्थिक भार नपर्ने उपप्रधानमन्त्री पोखरेलले बताएका छन् ।

डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स (डीएमआइ) मार्फत हुने सैनिक गुप्तचरीको काममा विभिन्न कोषबाट खर्च हुँदै आएको छ । महानिर्देशनालयबाट भन्दा अलग्गै गुप्तचर विभागमार्फत काम गर्दा सेनाको प्रतिरक्षा क्षमता बलियो हुने निष्कर्षसहित कानुन संशोधन गर्न लागिएको सैनिक स्रोतले जनाएको छ ।

विधेयक पारित भएमा अब नेपाली सेनामा सैनिक इन्टेलिजेन्स सेवाका रुपमा विशेष संरचना रहनेछ ।

अहिलेसम्म नेपाली सेनाभित्रै गुप्तचर विभागमार्फत सूचना संकलन, विश्लेषण लगायतका गुप्तचरी काम हुँदै आएका छन् । सेनाले अलग्गै गुप्तचर सेवा आवश्यक भएको तर विद्यमान सैनिक ऐनमा त्यस्तो सेवा गठन तथा सञ्चालन सम्बन्धी नियमावली बनाउने व्यवस्था नरहेकाले ऐनमा संशोधन गर्नुपरेको उपप्रधानमन्त्री पोखरेलको तर्क छ ।

विश्वका धेरै मुलुकमा सैनिक संगठनभित्र गुप्तचरीसम्बन्धी काम गर्ने अलग्गै निकाय रहने भएकाले नेपालले पनि सैनिक इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालनका लागि कानुनमा संशोधन गर्न लागिएको मन्त्री पोखरेलले बताएका छन् ।

यो विधेयक पारित भएमा नेपाली सेनामा पनि पाकिस्तानको आइएसआई जस्तै शक्तिशाली सैन्य गुप्तचरी निकाय निर्माण हुने भन्दै कतिपयले नेपाली सेनामा डीआई हुँदाहुँदै अलग्गै गुप्तचरी सेवा आवश्यक नरहेको बताउँदै आएका छन् ।

उपेन्द्रका पालामा कानून मन्त्रालयबाट फकाईएको विधेयक

पूर्वकानूनमन्त्री उपेन्द्र यादवले सैन्य गुप्तचर विभाग गठन सम्बन्धी यो विधेयक संविधानविपरीत रहेको सरकारबाट बाहिरिनासाथ बताएका थिए ।

नेपाली सेनाभित्र पाकिस्तानको आइएसआई जस्तै अलग्गै गुप्तचरी निकाय बनाउने र त्यसले गर्ने खर्चको समेत लेखापरीक्षण गर्नु नपर्ने गरी हुन लागेको सैनिक ऐन संशोधनसम्बन्धी विधेयक आफूले कानून मन्त्रालयबाट फिर्ता गरिदिएको यादवले यसअघि बताएका थिए ।

पूर्वकानूनमन्त्री यादवले आफ्नो पालामै सैनिक ऐन संशोधन हुन लागेको तर कानून मन्त्रालयमा आइपुगेको विधेयक आफूले फर्काएको बताए । तर, आफू सरकारबाट बाहिरिएपछि यसलाई कानून र रक्षा मन्त्रालयले अघि बढाउने सम्भावना रहेको बताएका थिए । यो विधेयक पारित भएमा नागरिक स्वतन्त्रता नरहने यादवको दाबी छ ।

उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि कानून मन्त्रालयको नेतृत्व नेकपा नेता भानुभक्त ढकालले गर्दै आएका छन् । कानून मन्त्रालयले कुनै पनि विधेयक बन्दाखेरि त्यो संविधानसँग बाझिएको छ कि छैन भनेर हेर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?