
२६ माघ, काठमाडौं । ७० सदस्यीय दिल्ली विधानसभा चुनावमा ६७२ उम्मेदवारले भाग लिएका छन् । शनिबार भएको मतदानमा ५९ प्रतिशतले मताधिकार प्रयोग गरे । एक करोड ४८ लाख मतदाताका लागि १३ हजार ७५० मतदान केन्द्र तोकिएको थियो ।
दिल्लीमा यसपटक कसले बाजी मार्ला त ? सही जवाफ थाहा पाउन मंगलबार हुने मतगणनाको परिणाम कुर्नुको विकल्प छैन ।
तर निर्वाचनपछि गरिएका विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) हरूले भने सत्तारुढ आम आद्मी पार्टी (आप) कै पल्ला भारी हुने देखाएका छन् ।
इन्डिया टुडे–एक्सिस, इन्डिया टिभी, एबीपी, टिभी–९, न्युज–२४, टाइम्स नाउ, न्युज–एक्स, रिपब्लिक र न्युज–एक्स–नेता औसत परिणामले अरविन्द केजरीवालको आपले ५५ स्थानमा विजय हासिल गर्ने देखाएको छ ।
नौ सर्वेक्षणमध्ये इन्डिया टिभीले ४४ र इन्डिया टुडे–एक्सिसले ६८ सिटसम्म आपले जित्न सक्ने सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ ।
सबै सर्वेक्षण हेर्दा आपले फेरि पनि सरकार बनाउन आवश्यक बहुमत पु¥याउने देखाएको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट आवश्यक पर्दछ ।
२०१५ को निर्वाचनमा ६७ स्थान जितेर आपले अरविन्द केजरीवालको नेतृत्वमा सरकार बनायो । यो सरकारको कार्यकाल २२ फेब्रुअरीमा सकिदैछ ।
२०१३ को निर्वाचनपछि करिब दुई महिनाका लागि मुख्यमन्त्री बनेका केजरीवालको दोस्रो कार्यकाल सफल रहेको आपको दाबी छ ।
बिजुली, पानी, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा गरेको सुधार हेरेर जनताले आफ्नो पार्टीलाई यसपटक पनि मतदाताले जिताउन लागेको केजरीवालको भनाइ छ ।
भाजपाको सिट बढ्ला ?
गत वर्ष सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीको सात वटै क्षेत्रमा जितेको थियो । विधानसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पनि उसले भरमग्दुर प्रयत्न नगरेको पनि होइन ।
तर मत सर्वेक्षणले भने यसपटक पनि दिल्ली विधानसभामा भाजपाको दाल गल्ने देखाएको छैन । आपले जित्ने नतिजा निकालेको नौ वटा सर्वेक्षणले यसपटक भाजपाले १४ स्थानमा जित्ने देखाएको छ ।
इन्डिया टिभीको सर्वेक्षण अनुसार २६ र इन्डिया टुडे–एक्सिस अनुसार २ देखि ११ स्थानमा भाजपाले जित्ने देखिन्छ ।
२०१३ मा ३१ सिट जितेको भाजपा २०१५ मा जम्मा तीन स्थान खुम्चिएको थियो ।
कांग्रेस बौरिने सम्भावना कम
सामाजिक अभियन्ता अन्ना हजारेले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानलाई टेकेर २०१२ मा स्थापना भएको आपले २०१५ मा दिल्लीमा भारी बहुमत सहितको सरकार बनायो । आपको उदयअघि दिल्लीमा भारतीय नेसनल काँग्रेसले लगातार १५ वर्ष एक छत्र शासन गरेको थियो ।
२००८ मा ४३ सिट जितेको काँग्रेस २०१३ मा ८ र २०१५ मा शून्य सिटमा झ¥यो । यसपटकको नौ वटा सर्वेक्षणको औसत नतिजाले काँग्रेसले एक स्थानमा जित्ने देखाएको छ ।
इन्डिया टुडे–एक्सिस, इन्डिया टिभी, न्युज–एक्स, टाइम्स नाउ र न्युज–२४ को सर्वेक्षणले भने काँग्रेसले यसपटक पनि खाता खोल्न नसक्ने देखाएको छ । यद्यपि चार सिटसम्म काँग्रेसले जित्नसक्ने एबीपीको सर्वेक्षण छ ।
एक्जिट पोलको नतिजा मिल्छ नै भन्ने चाहिँ होइन । २०१५ मा दिल्ली विधानसभामा डाटामेनेरियाले आपले ३१ र भाजपाले ३५ सिट जित्ने सर्वेक्षण सार्वजनिक भएको थियो । त्यतिबेला आपले ६७ सिट जित्दा भाजपाको भागमा जम्मा ३ सिट पर्यो ।
प्रतिक्रिया 4