Comments Add Comment

वनवाटिकाको अधिवेशन : चुनावी प्रक्रिया रोकेर दलहरुबीच पद बाँडफाँट

राजनीतिक हस्तक्षेप भएको भन्दै उम्मेदवारबाटै विरोध

२७ माघ, बुटवल । रुपन्देहीको प्रमुख पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को तेस्रो अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रममा विवाद भएको छ । चुनावी प्रक्रियामा नगएर सहमतीमा नेतृत्व चयन गर्न लागिएको भन्दै विरोध भएको हो ।

नयाँ नेतृत्वका लागि निर्वाचन समितिले कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता गर्ने मिति माघ २४ गते थियो । तर कसैले फिर्ता नगरेपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रकृयामा जानुपर्नेमा तीन दलको सहमतिमा नेतृत्व चयन गर्न खोजिएको भन्दै चारजना उम्मेदवारहरुले विरोध गरेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार माघ ५ गते दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २६ गते मतदान प्रकृया शुरु गर्नुपर्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीबीचको सहमतिमा पदको भागबण्डा गरी चुनाव नै नगराउने प्रपञ्च रचिएको उनीहरुले गुनासो गरे ।

अध्यक्ष र कोषाध्यक्षसहित चार पद सत्तारुढ नेकपालाई, सचिव र लेखा समिति संयोजक नेपाली कांग्रेसलाई भागबण्डा गरिएको छ । यसैगरी जनमुक्ति पार्टीलाई दुईजना कार्यसमिति सदस्य दिने तयारी छ

निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै तिलोत्तमा नगरपालिकाको न्यायिक समितिमा न्यायको लागि निवेदन दिएको लेखा समिति सदस्यका उम्मेदवार गोविन्द भुसालले बताए । ‘घोषित तालिका अनुसार निर्वाचन प्रकृयामा जानुको सट्टा तीन दल मिलेर पदको भागबण्डा गर्नु विधिको शासनविपरीत, अलोकतान्त्रिक र निरंकुश  चरित्र भयो,’ भुसालले भने, ‘तिलोत्तमा नगरपालिकाको समेत करोडौं लगानी भएको संस्थाको अधिवेशन विधिसम्मत, स्वच्छ र पारदर्शी हुनुपर्नेमा दलीय हस्तक्षेप हुनु बिडम्बना हो ।’

कार्यसमिति सदस्य पदका उम्मेदवार विदुर केसी, सुरेश विश्वकर्मा तथा लेखा समिति सदस्यका उम्मेदवार गोविन्द भुसाल र सन्दिप भट्टराईले निर्वाचन समितिको रवैयाविरुद्ध कानूनी उपचार खोज्ने बताएका छन् ।

चारजना उम्मेदवारहरुको विरोधपछि निर्वाचन समितिले माघ २६ गते दिउँसो २५ गतेको मिति राखेर एक सूचना प्रकाशित गरी उम्मेदवारी फिर्ताको समय २८ गतेसम्म सारिएको जानकारी गराएको उम्मेदवार विदुर केसीले बताए । ‘निर्वाचन प्रकृया विवादित बनेपछि समितिले अघिल्लो दिनको मिति राखेर आइतबार कार्यतालिका हेरफेर भएको सूचना निकालेको छ,’ केसीले भने, ‘हिँजो साँझसम्म सूचना टाँसिएको थिएन, कमजोरी ढाकछोप गर्न आइतबार सूचना टाँसिएको छ, यसबारे पनि छानबिन हुनुपर्छ ।’

तीन दलबीचको सहमतिअनुसार अध्यक्ष र कोषाध्यक्षसहित चार पद सत्तारुढ नेकपालाई, सचिव र लेखा समिति संयोजक नेपाली कांग्रेसलाई भागबण्डा गरिएको छ । यसैगरी जनमुक्ति पार्टीलाई दुईजना कार्यसमिति सदस्य दिने तयारी छ ।

निर्वाचन प्रकृयाप्रति असन्तुष्ट उम्मेदवारहरुले हरेक संस्थामा दलीय राजनीति हाबी हुनुले सुशासन र पारदर्शिता कमजोर हुने र अनियमितता एवं बेथिति मौलाउने भएकाले विधि र प्रकृयासम्मत हुनुपर्ने माग गरेका छन् ।

निर्वाचन समितिका संयोजक केशवराज न्यौपानेले नगरभित्रका प्रमुख तीन दलहरुको सहमतिका आधारमा निर्वाचन तालिका हेरफेर भएको र सहमतिमा नेतृत्व चयन हुने समझदारी भएको बताए ।

लेखा समिति सदस्य पदका उम्मेदवार सन्दिप भट्टराईले सत्तारुढ नेकपाका स्थानीय नेताहरुले आफूलाई पार्टी कार्यालयमा बोलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएर आफ्नो संवैधानिक अधिकार कुण्ठित गर्न खोजेको गुनासो गरे । ‘निर्वाचनमा भाग लिन पाउने नागरिकको अधिकारमाथि दलको हस्तक्षेप निन्दनीय छ’, उनल भने, ‘दलहरुको यस्तो रवैयाले स्वतन्त्र रहन पाउने नागरिकको हक खोसिएको छ ।’

अर्का उम्मेदवार सुरेश विश्वकर्माले निर्वाचन समिति र संयोजकको भूमिका अवैधानिक भएको बताए ।

सुरूमा स्थानीय समाजसेवीहरूबाट सानो क्षेत्रमा फूलबारी र बालउद्यान निर्माण गरी सञ्चालन गरिएको वनवाटिका अहिले जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

वन वाटिकामा रहेको चिडियाखानामा करिब २५ प्रजातिका जंगली जनावर तथा पशुपंक्षी संरक्षित छन् भने जडीबुटी अनुसन्धान केन्द्र, जैविक विविधता अनुसन्धान केन्द्र, बोटानिकल गार्डेन, योग केन्द्र, बाल उद्यान, पार्क, सभास्थललगायतका भौतिक संरचना पनि निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment