Comments Add Comment

ग्रामीण पर्यटन, यसो गरे कसो होला ?

दोस्रो विश्वयुद्धपछि जापानले गरेको विकास एउटा जादुभन्दा कम छैन । युद्ध र अणुबमले थलिएको कुनै देश यति छिटो कसरी उन्नत हुन सक्छ ? हरेकको मनमा पर्ने प्रश्न यही नै हुन्छ । किन्तु, परन्तु, यदि जस्ता अमूर्त कुरा जापानमा नगरे पनि हुन्छ । कि हुन्छ, या हुँदैन । विशुद्ध यान्त्रिक, तर यथार्थ । जापानले मात्र होइन, गर्नेले साच्चिँकै जादु गर्छ । नेपालको विकासमा पनि एउटा जादुगर क्षेत्र जरूरी छ ।

विकासका सन्दर्भमा आयोजित विशेष गरी जापानी विकासबारे विदेशी विद्यार्थीलाई लक्षित एकहप्ते सेमिनार स्मरणमा ताजै छ । सयौं मुलुकका सहभागीहरूको साझा र एउटै चासो दोहोरिन्छ । आफ्नो मुलुक पनि जापानजस्तो बनाउने कसरी ? यसो त सेमिनारको उद्देश्य नै यस्तै थियो । ता कि, संसारका सम्भावित नेतृत्वहरूले जापानको सीप, शैली र प्रविधिको अनुसरण गरुन् । सदाझै निर्धारित ठीक समय र तालिका अनुसार सेमिनार सुरू भयो ।

सुडानका एक शिक्षक सहभागीले प्रश्न गरे, ‘तुलनात्मकरूपमा प्राकृतिक स्रोत र साधनसम्पन्न अफ्रिकी देशहरूले किन छिटो प्रगति गर्न नसकेका होलान् ? जापानले प्राकृतिक श्रोत र साधनका अभावमा पनि कसरी विकास गर्न सकेको होला ?’

वास्तवमा यो हामी सबैको साझा र प्रतिनिधिमूलक प्रश्न थियो । जापानी प्रोफेसरले लामो श्वास लिएर भने, साधन र श्रोत छ भन्ने मनोविज्ञानले मान्छेलाई अल्छी बनाउँछ । वास्तवमा यो मनोविज्ञान र यथार्थले कुनै पनि चामत्कारिक परिवर्तनका लागि बाधा पार्छ । यो रोग नै हो । यसलाई विकासको सिद्धान्तमा ‘डच डिजिज’ भनिन्छ । धेरैजसो अल्प विकसित मुलुकहरू दुर्भाग्यवस यो रोगका शिकार बनेका छन् । यसलाई इन्टरनेटमा पढ्न पाइन्छ ।

संसारमा नहुनेले नै कि गर्नुपर्छ या मर्नुपर्छ । उसैका लागि अनिवार्य हुन्छ विकास र परिवर्तन । जापानको परिवर्तनको आधार यही हुनुपर्छ । हामीहरू शून्य भयौं । मैले गाउँका जग्गाजमिन र धनीमानीका दौतरी सम्झें ।

प्रश्नको जवाफ दिने जापानी शैली पनि अजीब लाग्छ । कार्यक्रम चलिरह्यो । विकासको उदाहरण दृष्टान्त दिँदै विकासमा निजी तथा सार्वजनिक साझेदारी कुरा रहेछ । एएए विकासको मूल मन्त्र बनेर देखा परेको छ ।

उदाहरणका लागि, समुद्रमाथि नयाँ शहर बसाउने सीटी अफिसले एउटा महत्वाकांक्षी योजना बनायो । पानीमाथि सम्भावित नक्सासम्म तयार गर्‍यो र निजी कम्पनीलाई खरिद गर्न अनुरोध गर्‍यो । जापानका ठूला ठूला कम्पनीले त्यही समुद्रमाथि आफ्नो मूख्य कार्यालय बनाउने तत्काल घोषणा गरे । सरकारले त्यसैलाई नक्सा मात्रलाई ठूलो रकममा बेचिदियो । कम्पनीहरूले नक्सा बमोजिम प्राप्त सम्पत्ती निर्माण गर्न कमिलालेझै मिलेर समुद्र पुरे । तत्काल लोभलाग्दो जमिन तयार भयो । एकपछि अर्को भव्य महलले भरियो र हेर्दाहेर्दै ठूलो शहर बन्यो । यसैको नाम योकोहामा शहर हो ।

यो टोकियो नजिकको विशाल बन्दरगाह हो । टोकियोपछिको ठूलो व्यवसायिक शहरको नाम हो योकोहामा । पानीमाथिको नक्सा मात्रै बेचेर आएको त्यो ठूलो रकम जापान सरकारको सीटी अफिसले उद्योग, कलकारखाना र पूर्वाधारमा लगानी गर्‍यो ।

यो एउटा दृष्टान्त मात्र हो । पछिल्लो समयमा अन्य सीटी अफिसले यसैको सिको गरे । जापानका सामुद्रिक किनारहरु कृत्रिम ज्यादा छन् र प्राकृतिक निकै कम छन् । आश्चर्य तब हुन्छ, जब यो सामान्य आँखा र दिमागले खुट्याउन नसकिने गरी सामुद्रिक तटहरू बनेका छन् । फिल्ड भ्रमणका दौरान यही पुरेको समुद्रभित्र निर्मित विशाल संग्रहालय हेरेपछि यस्तो लाग्छ, असम्भव भन्ने वास्तवमा केही नहुँदो रहेछ । सम्भवतः आउँदा दिनमा समुद्रभित्र बस्ती बसाल्न फेरि बेचिने छ घडेरी, त्यो पनि पानीभित्र । यस्तै–यस्तै जादु गर्न माहिर छ जापान । एएए को यो उदाहरण आश्चर्यलाग्दो छ ।

लेखिएको इतिहास पत्याउनै कर लाग्छ । तर, सपनाझै लाग्ने एकादेशको कथाझै लाग्छ, विकास । सन् १८७२ मा जापानले पहिलो रेल बनायो । आज २०२० सम्ममा पनि हाम्रो नेपालमा रेल छैन् । यसमा मन मार्नुपर्ने वा दोषारोपणको जरूरी छैन् । जरूरी छ त सिख र इखको । कम्तिमा हाम्रो पहिलो रेल एडभान्स प्रकृतिको हुने सुनिस्चित छ । मान्छेको गरेको जादुभन्दा प्रकृति स्वयंले रचेको, कमैले देखेको र आजसम्म नलेखेको कहानी छ, नेपालमा । आशाले जीवनलाई उर्जाशील बनाउँछ । कल्पनाले अन्नत सम्भावनाहरू खोतल्छ ।

संयोगले भ्रमण वर्ष २०२० मा हामीले हजार कोशिष गरे पनि विलासिता मात्रका लागि कोही पर्यटक नेपाल आउलान पत्याउन कठिन पर्छ । विकसित मुलुकको तुलनामा जादुई केवल कार र बाटाघाटा बनाउनभन्दा पनि प्राकृतिक नजरमा हाम्रो सामर्थ्य हो । यसमा थप तर्क र कारण गरिरहनुपर्दैन ।

सम्भवतः पर्यटकहरूलाई हामीले विकासभन्दा बढी अपूर्व प्रकृति र हिमाल हेर्न बोलाउँछौ । विश्वको प्राचीन देश नेपालमा उनीहरूको विगत र मानव सभ्यताको उद्‍गम हेर्न आउ भन्न सक्छौं । बेलाबखत उनीहरूलाई चुनौति दिँदै जिस्कन सकिन्छ । मानव निर्मित जादु र प्राकृतिक जादुको तुलना गर्न पनि नेपाल नै आउनुपर्ने भन्न सकिन्छ । विविधताले भरिपूर्ण प्रकृति, उस्तै संस्कृति र धार्मिक सहिष्णुताको अनुभूतिका लागि निम्ता दिन सकिन्छ ।

हो, हिमाल चढ्न आउ, मज्जले ट्रेकिङ्ग गर र अर्गा्निक जीवनको स्वास फेर भनेर प्रचार–प्रसार गरिन्छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा प्रस्तावित ग्रामीण पर्यटन नै हाम्रो दिर्घकालीन अवसर र गन्तव्य दुवै हो ।

कल्पनाभन्दा सोझै कार्ययोजनामा चर्चा गरौं ।

हाम्रो समाज शहर उन्मुख भएको छ । संघीयताले गर्दा नगरपालिका र गाउँपालिकाहरू थप क्रियाशील हुँदै आएका छन् । पर्यटन विकास मुलुकको साझा लक्ष्य र पहिचान गरेको सम्भावित क्षेत्र हो । यसैलाई टेकेर हरेक नगरपालिकाहरूले ग्रमिण पर्यटनको कार्ययोजना बनाउन् । कम्तीमा एउटा राम्रो मोडेल हुने गरी ट्रेकिङ्ग बाटो खोलुन् । यसको प्रस्थानविन्दुमा एउटा हेल्थ डेस्क होस् । हरेक पर्यटकको सामान्य वजन लिइयोस् । वीपी र सुगर जाँच गरियोस् । ठाउँठाउँमा स्वस्थ पिउने पानी र मनोरम विश्रामस्थलको प्रबन्ध गरियोस् । समुदायमा आधारित सुरक्षा तथा होम स्टे जस्ता आतिथ्यको प्रबन्ध मिलाइयोस् । फर्कदा हरेक केन्द्रले पर्यटकबाट सन्तुष्टि मापनको सर्भेक्षण फाराम भराउन् ।

उल्लेखित सुरक्षा र आतित्थका आधारमा मूल्यांकनका मापदण्ड बनोस् । पर्यटकले गरेको सन्तुष्टि सर्भेक्षणका आधारमा हरेक महिना नगरपालिकाले अंक सार्वजनिक गरोस् । हरेक पर्यटकको फर्कंदा सोही हेल्थ डेस्कमा पुनः सामान्य स्वास्थ्य परीक्षण गरियोस् । आन्तरिक तथा ग्रामीण पर्यटनमा जाँदा र फर्कदाको फरक लेखेर दिइयोस् । रिपोर्टको पछाडिपट्टि पर्यटनको प्रचार गरियोस् ।

निसन्देह, रिपोर्टमा सकारात्मक फरक आउने छ । पुनः भ्रमण हुनेछ । यसका लागि धेरै विदेशी कुर्नुपर्ने छैन र हरेक गाउँ सहरमा स्वस्थ्य हुने रहरमा मोटोपन घटाउन हिँड्न लालायित सचेत नागरिकको भिड छ ।

यस प्रकार, नगरपालिकापिच्छे ग्रामीण पर्यटन विकास हुँदै जानेछ । मौलिक शैली र आकर्षणबाट आपसमा नजानिँदो किसिमले प्रतिस्पर्धा हुन जानेछ । किनकि पर्यटन विशुद्ध रोजाइको विषय हो । यस कारण ग्रामीण पर्यटनको सेवा (सत्कारको स्तरबाट नै यो क्रमशः आफै फस्ट्याउँदै वा खुम्चेर जानेछ । अतः रुट आफै‌ंले प्रकारान्तरमा स्वतः आफ्नो नाम दामसहितको आकार लिँदै जाने हुन्छ ।

विशेष गरी ग्रामीण पर्यटनको चर्चा गर्दैगर्दा सडकको विस्तार रोक्नुपर्ने र यसको गुणस्तरमा थप ध्यान दिनुपर्ने देखिन्छ । विकासका लागि धर्म र शान्तिपछि अब प्रकृतिको नारा जोड्नु नै उपयुक्त छ । हाम्रो सीमित खर्च र समयमा व्यवस्थित वातावरण मैत्री ट्रेकिङ रुटहरूबाट नै गाउँ शहर जोड्नुपर्छ । ग्रामीण पर्यटनबाट स्वास्थ्यसहितको विकास कमाउने आधार हुनेछ ।

उपभोगवादी संस्कारलाई क्रमशः जैविक, अर्गानिक र वातावरणमैत्री विकासतर्फ प्रयोग गर्नुपर्ने भएको छ । हिमाल, पहाड, तराईका अतिरिक्त बुद्ध, पाणिनि, पतञ्जली र राजा जनकको प्रिय एवं पवित्रभूमिलाई संसारसामू खोल्न सर्वप्रथम आन्तरिक पर्यटनमा यसको परिचय बन्न जरूरी देखिन्छ । संघीयताको स्थायित्वका लागि पनि ग्रामीण पर्यटन कोशेढुंगा बन्नेछ ।

प्रस्तावित ग्रामीण पर्यटनले निर्वाचित जनप्रतिनिधिको काम देखिनेछ र अर्को चुनाव यसैले जिताउनेछ । काममा आधारित चुनावको नारा अबको नौलो राजनीतिक आयाम हो। यसलाई दिल्ली चुनाबले पुष्टि गरिसकेका छ । यतिबेला स्थानीय सरकार बलियो हुनुपरेको छ । यो वास्तवमा अपूर्व अवसर हो । बजार नियन्त्रण होस् । गुणस्तर कायम गरियोस् । सबैजना मिलेर ट्रेकिङ जाने र यसरी नै रूटको समुदघाटन होस् । माला र अबीरको संस्कारमा पनि पुनरावलोकन जरूरी छ । यसको प्रयोग गर्नैपरे स्वास्थ्य परीक्षण पछि गरियोस् । आरोग्यता र गुणस्तरलाई अबीरमालाको पर्याय बनाइयोस् । सरकारप्रति जनताको भरोसा बढ्दै जानेछ ।

तालिम अवधिभर जापानले आफ्नो इतिहास सुनायो र वर्तमान देखायो । म मेरै गामठामको रहरमा हराइरहे । धन्य, अन्तिममा एउटा गृहकार्य दियो । जापानको आधुनिकीकरणको कुन पक्ष आफ्नो देशको विकासका लागि सुहाउँदो छ ? अथवा तिमीले अनुभूत गरेको अन्य थप भए किन र कसरी ? प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुथियो । प्रस्तुत कार्ययोजना यसैको परिणाम थियो । लामै समयपछि सही तर, आज यसले प्रकाशनबाट प्रस्तावित हुने अवसर पाएको छ ।

लागत, वातावरण र समयमैत्री ट्रेकिङ खोल्न उपयुक्त मुलुक रहेको, प्रकृतिले अदभूत माटो, बाटो, छटा दिएको, समाजले धर्म, संस्कार र सभ्यता विकास गरेको एक मात्र देश नेपाल हो । आजको साघुरो विश्वमा बुद्धत्व पाउन, प्रकृति हेर्न र शान्तिको प्रार्थना गर्न नेपाल नै जानुपर्ने मौलिक र अनुकूलन प्रस्तावित सपनाको नाम हो ग्रामीण पर्यटन । अत्याधुनिक प्रविधिको प्रयोग गरेर नै विकासको गतिलाई तेज गर्न सकिन्छ । आफू अनुकूलन विकासको सिद्धान्त लागु गरेर जादु गर्न सकिन्छ ।

भलै यो फगत कोरा कल्पना मात्रै हो र औपचारिकता भरको गृहकार्यकाबीच जन्मिएको प्रस्तावित कार्ययोजना । थुप्रै मुलुकका प्रतिनिधिलाई ग्रामीण पर्यटन नेपालको सम्भावना भएको स्वीकार गरेको महसुस गरे । यही अवसरमा नेपाल आउन निम्ता पनि गरेकोछु । यो प्रस्ताव हरेक स्थानीय निकायमा कार्यरत जनप्रतिनिधि र कर्मचारीका लागि पनि बनोस् ।

संसारमा गरेर नहुने केही छैन । प्रतिकूल गर्दा शक्ति र सामर्थ्यको बढी प्रयोग हुन्छ र अनुकूलन गर्दा उत्पादकत्वमा अभिवृद्धि हुने हो । विकसित मुलुकलाई पछ्याउने होइन, कसरी जित्न सकिन्छ भनेर अतिरिक्त समय र अतिरिक्त मेहनत गर्नुको अर्को विकल्प हामी नेपालीसँग छैन । संघीय नेपालको स्थानीय सरकारका जनप्रतिनिधिज्यू तथा कर्मचारीसाथीहरू र सरोकारवाला समक्ष प्रस्तावित ग्रामीण पर्यटन विषयक संस्मरण कस्तो लाग्यो ? यसो गरे कसो होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment