Comments Add Comment

भरत खवास लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी

काठमाडौं । भरत खवासले नेपालको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।

लिग अन्तर्गत मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध गोल गर्दे भरतले ५० औं गोल पूरा गरे । ब्रिगेड ब्वाइज क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले ३-० को सहज जित हात पार्ने क्रममा भरतले पहिलो गोल गरेका थिए । आर्मीका कप्तानसमेत रहेका भरतले खेलको पाँचौ मिनेटमै जर्ज प्रिन्स कार्कीको क्रसमा गोल गरेका थिए ।

ए डिभिजन लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी बनेका छन् । यसअघि लिगमा बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष तामाङले ५० गोल पूरा गरेका थिए ।

सन्तोष साहुखलले यसै सिजन लिगमा १०० गोल पूरा गरेका छन् । च्यासलबाट लिग खेलिरहेका सन्तोष लिग १०० गोल गर्ने पहिलो र एकमात्र खेलाडी हुन् ।

२०६३ सालमा संकटा क्लबबाट ए डिभिजन लिग करियर सुरु गरेका भरतले त्यसपछि फ्रेण्ड्स, नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए ।

आर्मी उनको चौथो क्लब हो । २०६३ सालमा संकटाले सरस्वती क्लबलाई ५-० ले हराउँदै भरतले लिगमा पहिलो गोल गरेका थिए । आर्मीको जागिरका लागि भारतीय क्लब पुनेको ट्रायलसमेत त्यागेका भरतले राष्ट्रिय टिमका लागि पनि १० गोल गरेका छन् ।

अब उनको लक्ष्य यस सिजन आर्मीलाई लिग च्याम्पियन बनाउने छ भने राष्ट्रिय टिमबाट साफ च्याम्पियन जित्ने अनी हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान तोड्ने लक्ष्य छ ।

मोरङ जिल्लामा मोजाको बल खेल्दै फुटबल खेल्ने सोख पूरा गर्दै फुटबलमा लागेका भरत एन्फाको तेस्रो ब्याचका खेलाडी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment