Comments Add Comment

कस्तो थियो १५ सय वर्ष अघि राजदरबारको जीवनशैली

आज भन्दा १५ सय वर्ष अघिको जनजीवन कस्तो थियो होला ? राजा र रैतीबीचमा कस्तो संवाद हुन्थ्यो रु राज्यले सर्वसाधरणका लागि दिनुपर्ने केही सूचनालाई कसरी प्रवाह गथ्र्याे होला रु यी विषयहरु धेरैलाई चासोको विषय हो ।

धेरै रोचक छ १५ सय वर्ष अघिको राजदरवारको जीवनशैली । एक हजार जनाभन्दा धेरै सैनिकहरु राजदरवार भित्र नै बस्ने गर्दथे । हरेक कामका लागि छुट्टाछुट्टै पदको व्यवस्था गरिएको थियो । राजाको बिहान नै भगवान स्तुतिबाट सुरु हुन्थ्यो । दिनभरी भारदार सेनाप्रमुखहरुसँग राजकाजको विषयमा छलफल र साँझमा मनोरञ्जनात्मक कार्यक्रमहरुको सिलसिला । हुबहु दैनिकीको बारेमा यकीन जानकारी इतिहासको आधिकारिक स्रोतहरुमा नभेटिएको भएपनि यस्तै थियो राजदरबारको दैनिकी ।

हामीहरुको औषत आयुलाई मान्दा हामी १०० वर्षपनि बाँच्न सक्दैनौं । यो कुरा १५ सय वर्ष अघिको हो । जुन हामीहरुको झण्डै डेढ दर्जन पुस्ता अघिको इतिहासलाई हामीले अहिलेपनि ढुंगाको पत्रमा देख्न सक्छौं ।

हाँडिगाउँको प्रसिद्ध डबलीको कुनामा भेटिएको अंशुवर्माको एक अभिलेख तत्कालीन राज्य व्यवस्था, त्यतिबेलाको राजा र जनताको सम्बन्ध आदि अध्ययनको लागि महत्वपूर्ण स्रोतको रुपमा मान्न सकिने देखिन्छ । २९ अंगुल लामो र १७ अंगुल चौडाको शिलालेख संवत् ३० मा लेखिएको अभिलेखको अन्तिममा उल्लेख छ । जुन तत्कालीन समाज र जनजीवनको विषयमा जानकारी मूलक रहेको छ ।

तत्कालीन राजाहरुले अभिलेख लेख्ने क्रममा सबैभन्दा पहिले जनताको स्वास्थ्य अवस्थाको कामना गरेर लेख्ने गरेको पाइन्छ । यो अभिलेखलाई धनवज्र वज्राचार्यले आफ्नो पुस्तक लिच्छविकालका अभिलेखुको ७२ औं संख्यामा यहाँको अभिलेखको बारेमा उल्लेख गरेका छन् । जसको अनुवाद यसरी गरिएको छ :

कल्याण होस् । कैलासकुट भवनबाट अर्काको हित गर्ने बानी परेको हुनाले सत्य युगको । अनुसरण गर्ने, भगवान पशुपतिनाथको पाउको अनुग्रह पाएका, बुबाको पाउको अनुग्रह पाएका श्रीमहासामन्त अंशुवर्माले अहिले बहाल रहेका र पछि बहाल हुनेसमेत निगाह गरिन लागेका र सो तोकिएका मर्यादाका पण लिने अधिकारीहरुलाई समेत आज्ञा गर्नुभएको छ । तिमीहरुलाई थाहा होस् ।

हाँडिगाउँको अंशुवर्माको यस अभिलेखले राजदरवारको केही झलक र राजदरवारका जागिरदारहरुले दर्शनभेटको रुपमा बुझाउनुपर्ने मर्यादापणु को बारेमा उल्लेख गरेको छ ।

भारतीय कवि वाणभट्टले लेखेको कादम्बरीमा त्यतिबेलाको राजाहरुको दिनचर्याको वर्णन गरिएको छ । त्यतिबेला भारतको र नेपालका राजाहरुको दिनचर्या लगभग उस्तै हुने गरेको विभिन्न साहित्यिक स्रोतहरुमा पाउने गरिन्छ । कवि वाणले स्नानपछि देवमन्दिरमा गई पूजा गरेको, त्यताबाट फर्की अग्निशालामा गई होम गरेको र त्यताबाट फर्किएपछि मात्रै खाना खाने गरेको उल्लेख गरिएको छ ।

यो अभिलेखले तत्कालीन दरबारमा रहने विभिन्न कर्मचारीहरु र उनीहरुको पारिश्रमिकको विषयमा उल्लेख गरिएको छ । जसमा सबैभन्दा पहिले आफ्नो इष्टदेवता र कूलदेवताको लागि भाग छुट्टयाउने गरिन्थ्यो । त्यसपछि राजा र युवराजलाई चिनाइने श्रीभट्टारकलाई २५ पण दिने उल्लेख गरिएको छ । त्यसपछि महाबलाध्यक्षको भागलाई उल्लेख गरिएको छ । सेनाको सर्वाेच्च पद भएकोले सेनाको प्रमुखलाई पनि राजालाई जत्ति नै भाग दिने गरिएको सो अभिलेखमा उल्लेख गरिएको छ ।

राजा र सेनापति पछि प्रसादाधिकृतको समेत तलब राजाको जत्ति नै रहेको अभिलेखमा उल्लेख छ । यद्यपि प्रसादाधिकृत भन्ने शब्दले कुन पदलाई चिनिन्छ भन्ने कुरामा इतिहासकारहरुबीच अझै यकीन मत आउन सकेको छैन ।

राजाद्वारा निगाहपूर्वक जनतालाई गरिदिएको व्यवस्थालाई त्यतिबेला प्रसादु भन्ने गरिन्थ्यो । राजाबाट भएको प्रसादलाई जनतासम्म पुर्‍याउने व्यक्तिलाई दूतक भनिन्थ्यो । सोही दूतकलाई प्रसादाधिकृत भनिएको हुनसक्ने तर्क धनबज्र बज्राचार्यको छ । दूतक जहिलेपनि राजाको विश्वासपात्र हुने गर्दथे । लिच्छविकालको अन्तिमतिर दूतकको रुपमा युवराजलाई नै नियुक्त गर्ने चलन सुरु भएको समेत पाइन्छ ।

यसका बाहेक भाग पाउनेहरुको सूचीमा धावकगेच्छिम्जाक समेत रहेका छन् । उनीहरुले ३ पुराण र एक पण पाउने उल्लेख छ । ुधावकगेच्छिम्जाकु भनेको सरकारी चिठीपत्र लाने ल्याउने व्यक्तिलाई धावक भन्ने गरिन्थ्यो । यसबाहेक राजदरवारको भण्डारको रेखदेख गर्ने भाण्डनायकलाई २ पुराण र २ पणमात्रै भाग दिने गरिएको थियो ।

यस बाहेक राजकीय चिहृनहरुमा चमर लगाउने चामरधारलाई २ पुराण २ पण, राजकीय ध्वजा बोक्ने ध्वजमनुष्यलाई २ पुराण २ पण, कारखाना विशेषमा काम गर्ने पानीय कर्मान्तिकुलाई २ पुराण २ पण र पीठाध्यक्षलाई २ पुराण भाग तोकिएको थियो ।

लिच्छविकालमा नान्दीवाद र शङ्खवाद नामक दुई पदलाई निकै ठूलो भाग दिने गरिएको थियो । प्राचीन परम्परा अनुसार राजाको दैनिक कार्यक्रम नान्दीद्वारा सुरु हुन्थ्यो भने राजदरवारमा भएको विशेष कार्यक्रममा शंखवाद गरिन्थ्यो । नान्दीवादुभनेको मंगलबाजा हो भने शंखवाद भनेको शंख बजाउने हो । यही दुई पदलाई लिच्छविकालमा निकै ठूलो महत्व दिइन्थ्यो । यो दुबै अधिकारीहरुलाई २५ पुराण दिने गरिन्थ्यो ।

यसबाहेक राजाको अंगरक्षक सैनिकका नाइके भाटनायकको ६ पुराण २ पण भाग थियो भने राजाको यात्रा भएको बेलामा बन्दोबस्त गर्ने यात्राका नायकलाई २० पुराण दिने गरिन्थ्यो ।

अभिलेख अनुसार लिच्छविकालमा राज्याभिषेक धुमधामसँग गरिन्थ्यो भन्ने पाइन्छ । राज्याभिषेकको समयमा सिन्दूरजात्रा गरिनेकुरा बज्राचार्यको पुस्तकमा उल्लेख गरिएको छ । त्यस बेला चढिने हात्ती घोढाको पछिसम्म पनि सम्मानका साथ राख्ने गरिन्थ्यो । अभिषेकहस्ती र अभिषेकाश्व भनेर त्यसैको नाममा समेत भाग दिने चलन त्यतिबेला थियो ।

लिच्छविकालमा कसलाई कति दिइन्थ्यो भाग ?

श्रीदेवीलाई ३ पुराण १ पण

अग्निलाई ३ पुराण १ पण

श्रीकुलदेवतालाई ३ पुराण १ पण

षष्ठीदेवकुल -मन्दिरलाई ३ पुराण १ पण

श्रीभट्टारक (गद्दीनशीन राजा) प्रत्येकलाई २५ पुराण

महाबलाध्यक्षलाई २५ पुराण

प्रसादाधिकृत -सनद आदि निगाहको काममा खटिएका दूतक० लाई २५ पुराण

राज्याभिषेकको हात्तीलाई ३ पुराण १ पण

राज्याभिषेकको घोडालाई ३ पुराण १ पण

धावक -हल्करा छिजाकलाई ३ पुराण १ पण

भाण्डनायक -भण्डारीलाई २ पुराण

निशानेलाई २ पुराण २ पण

पुजारीलाई २ पुराण २ पण

प्राचीन सम्पदा चित्रमा ख्यातिप्राप्त कलाकार हरिप्रसाद शर्माले तयार गरेका कैलाशकुट भवनको चित्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment