
२९ माघ, काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरिएपछि त्रास बढेको छ ।
कोरोना भाइरसको जस्तो लक्षणका बिरामी भेटिएपछि जुगल गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक अनील साउदसहितको टोली प्रभावित क्षेत्रमा पुगेकाे थियो । साउदका अनुसार, कोरोनाको जस्तो मिल्दाजुल्दा लक्षण देखिए पनि सम्पर्कमा आएकाहरू औषधि सेवनपछि निको भएका छन् ।
अहिले त्यहाँका बिरामीहरुको अवस्था कस्तो छ ? उपचार कसरी भइरहेको छ ? विरामीहरु सिकिस्त नै छन् ? के ती विरामीहरु कोरोना भाइरस संक्रमित नै हुन् ? हामीले यी प्रश्नहरु जुगल गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक साउदसमक्ष राखेका थियौ । उनले त्यहाँको अवस्थाबारे अनलाइनखबरलाई यसरी जानकारी दिए-
कोरोना भाइरसको त्रास संसारभर फैलिइरहँदा यहाँ त्यस्तै लक्षण भएका बिरामी देखिएपछि हामी डराएका हौँ ।
डराउनु पनि स्वाभाविक हो । किनकि, योभन्दा अघिल्लो वर्षमा यति धेरै उस्तै किसिमका बिरामी आउँदैनन् थिए । त्यसैले हाम्रो गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई कोरोनासँग मिल्दोजुल्दो रोग देखिएको भन्दै पत्राचार गरेको हो ।
अहिले मौसम परिवर्तनको समय भएकाले मौसमी फ्लुको बिरामी देखिनु स्वाभाविक हो । तर अरु वर्षभन्दा यो वर्ष अस्वाभाविक बिरामी देखिएका छन् । यस्ता लक्षण भएका बिरामीहरु गुम्बा सामुदायिक स्वास्थ्य शाखामा गत २३ गते पुगेका थिए । एकैपटक धेरै मानिसहरु स्वास्थ्य इकाई जाँदा त्यहाँ भएको औषधि पनि सकियो । पर्याप्त मात्रामा औषधि नभएपछि जुगल गाउँपालिका स्वास्थ्य शाखाबाट हामीले औषधि लिएर गयौं ।
अत्यन्तै सिरियस भएका बिरामीहरु औषधि खाएपछि ठीक हुँदै गएका छन् । बिरामी ठीक हुँदै गएपछि हामीलाई कोरोना भाइरसको संक्रमण होइन कि भन्ने लागेको छ । किनकि, लक्षण मिले पनि कोरोनालाई मौसमी रुघाखोकीको औषधिले काम गर्दैन । तर, त्यसलाई जाँच्ने किट नभएकाले हामीले ठोकुवाका साथ भने भन्न सक्दैनौं । यो एकिन स्वास्थ्य मन्त्रालयले गरोस् भनेर हामीले पत्राचार गरेका हौं । अहिले यो पत्र सामाजिक सञ्जालमा फैलिएको छ ।
हामीले पत्र लेखेपछि स्वास्थ्य मन्त्रालयले, ‘त्यहाँ चीनबाट आएका मानिसहरु प्रवेश गरेका छन् कि ?’ भनेर सोध्यो । हामीले यहाँ सोधपुछ गर्दा यो महिना चिनियाँ नागरिक प्रवेश गरेको थाहा पाएनौं । त्यसैगरी यहाँबाट बाहिर गएर चीनबाट फर्केका मानिसँग संगत गरेको पनि भेटेनौं ।
अहिले बिरामीको लक्षण र सुधार हेर्दा हामी कोरोना होइन भन्ने अवस्थामा पुगेका छौँ । तर, अस्वाभाविक रुपमा बिरामीको संख्या बढी भएकाले एकपटक स्वास्थ्य मन्त्रालयलाई जाँच गरिदिन आग्रह गरेका हौं । किनकि, हामीसँग कोरोना जाँच गर्ने किट छैन । एक पटक स्वास्थ्य मन्त्रालयले विज्ञ टोली पठाएर जाँच गरोस् भन्ने हाम्रो माग छ ।
बिरामीहरु अहिले घरमै छन् । उनीहरुले स्वास्थ्य चौकीबाट वितरण गरिएको औषधि खाइरहेका छन् ।
प्रतिक्रिया 4