काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतमा त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदा सन्दीप लामिछाने एक्लैले ६ वकिट लिए ।
अमेरिकालाई ३५ रनमै अलआउट गरेको नेपालले ५.२ ओभरमा लक्ष्य पूरा गरेको थियो । अमेरिकालाई अलआउट गर्न नेपाली स्पीनरले नै १० विकेट लिएका थिए, जसमा सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिए ।
नेपालको लागि ६ विकेट लिने पहिलो खेलाडी बनेका सन्दीपले सुशनको तारिफ गरे । ‘मैले भन्दा पनि सुशनले राम्रो बलिङ गरे । उनको तारिफ गर्नुपर्छ’ सन्दीपले खेलपछि भने, ‘उनले सिरिजभरी नै निरन्तर राम्रो प्रदर्शन गरिरहे । ब्रिलियन्ट प्रदर्शन रह्यो ।’
सन्दीपले अमेरिकाविरुद्ध ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिएका थिए । सुशनले ३ ओभर मात्र बलिङ गर्दा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।
म्यान अफ दि म्याच भने सन्दीप बनेका थिए ।
यसै सिरिजमार्फत ओडिआईमा डेब्यु गरेका सुशनले ४ खेलमा कूल ११ विकेट लिए । उनले पहिलो खेलमा ओमान विरुद्ध ३ दोस्रो खेलमा अमेरिकाविरुद्ध ३ विकेट लिएका थिए । अघिल्लो खेलमा ओमानविरुद्ध १ विकेट मात्र लिएपनि उनले बुधबार अमेरिकाविरुद्ध ४ विकेट लिए । यस सिरिजमा सुशन नेपालका लागि सर्वाधिक विकेट लिने बलर समेत बने ।
सन्दीपले भने सिरिजमा कूल ८ विकेट लिए । उनले ओमानविरुद्ध दुवै खेलमा विकेट लिन सकेनन् । यसअघि अमेरिकाविरुद्ध २ विकेट लिएका सन्दीपले आइतबार भने उत्कृष्ट बलिङ गरे ।
सन्दीपको ६ विकेट नेपाली खेलाडीले ओडीआई इतिहासमा गरेको उत्कृष्ट प्रदर्शन समेत हो । यसअघि सोमपाल कामीले गत वर्ष युएई टुरमा एकै खेलमा ५ विकेट लिएका थिए ।
ओमानविरुद्ध किन विकेट लिन नसकेको भन्ने प्रश्नमा सन्दीपले सबै दिन एक नास नहुने र प्रदर्शन पनि एकनासको नहुने प्रतिक्रिया दिए ।
प्रतिक्रिया 4