Comments Add Comment

नव दम्पतीको अव्यक्त प्रेम

विवाह गरेपछिको रोमाञ्चकता त तपाईंहरुले अनुभव गरेकै हुनुपर्छ । फरक परिवेश, फरक चालचलन, फरक मान्छेहरुसँग घुलमिल हुनु तपाईंको लागि रोमाञ्चक अनुभव हुनुपर्छ । हिजो तपाईं आफ्नो लागि सोच्नुहुन्थ्यो, आज अरु कसैको लागि पनि सोच्नुपर्ने अवस्थामा हुनुहुन्छ । हिजो तपाईंका लागि सोच्ने कोही थिएनन्, आज तपाईंको ख्याल राख्ने अरु कोही पनि छन् ।

किनमेल गर्दा, रेष्टुरेन्टमा खाना खाँदा, सिनेमा हेर्दा, घुमफिर गर्दा तपाईं अब एक्लो हुनुहुन्न । तपाईंसँग रमाउने साथी पनि छन् । ति साथी जो तपाईंको जीवनकै अभिन्न हुन् । उनैसँग एकाकार भएर तपाईं नयाँ परिवारको रचना गर्नुहुनेछ ।

यी भए पछिका कुरा । अहिले तपाईंहरु केही जटिलता वा अप्ठ्यारा पनि त झेलिरहनु भएको होला । खासगरी मागी विवाह गरेको सन्दर्भमा । आफ्ना पार्टनरको आनीबानी थाहा हुँदैन । के गर्दा रिसाउँछ, के गर्दा खुसी हुन्छ ? केही थाहा हुन्न ।

आफ्ना पार्टनरको स्वभाव, प्रवृत्ति, आचरण सबै कुरामा अनभिज्ञ हुन्छन् दुबै । यस्तो अवस्थामा आफुले कस्तो व्यवहार गर्ने, कस्तो बोलीबचन गर्ने भन्ने कुरामा पनि ख्याल राख्नुपर्ने हुन्छ । किनभने आफुले सोचेजस्तो व्यवहार गर्दा पार्टनर रिसाउने, दुखी हुने भय रहन्छ । यसले पारिवारिक जीवनको पूवार्द्ध नै खल्लो बनाइदिन्छ । र, दाम्पत्य जीवनको लागि यो एक खराब सुरुवात हुनसक्छ ।

कति पार्टनर चाहन्छन्, मेरा श्रीमती वा श्रीमान् हँसमुख होस् । रोमान्टिक होस् । ख्याल ठट्टा गरिरहने होस् । परिवारमा सबैसँग घुलमिल हुने, रमाइलो गर्ने, केही न केही उटपट्याङ गरिरहने होस् । जबकी कतिपय पार्टनरलाई आफ्ना श्रीमान्/श्रीमती यस्तो भएको मन पर्दैन ।

उनीहरु अलि गंभिर, संवेदनशिल पार्टनरको अपेक्षा गर्छन् । पार्टनरले ख्याल ठट्टा गरेको कुरा उनीहरुलाई छिल्लिएको लाग्छ । पार्टनरले हाँसोठ्टा गरेको कुरा उनलाई पार्टनर हल्का लाग्छ । परिवार, करियर, समाज वा जीवनप्रति जिम्मेवार पो छैन कि भन्ने चिन्ताले पनि सताउन थाल्छ ।

कतिपय पार्टनर आफ्ना श्रीमान् वा श्रीमती धर्मकर्ममा आस्था राख्ने होस् भन्ने लाग्छ । जबकी कतिपय पार्टनरलाई यस्ता कुरा आडम्बर र ढोंग पनि लाग्छ । वा पुरातन शैली पनि लाग्छ ।

यसरी फरक पृष्टभूमी, फरक चालचलन, फरक घर र फरक परिवारमा हुर्किएका युवा र युवतीबीच सजिलै तालमेल हुँदैन । खासगरी भावनात्मक तालमेल ।

यही कारण नव विवाहित जोडीबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । यो भनेको एक किसिमको घर्षण पनि हो । जब दुई बस्तु आपसमा जोडिन्छन्, त्यसमा घर्षण हुन्छ । कम्पन हुन्छ । यसलाई अन्यथा लिनु हुँदैन ।

नव दम्पतीबीच केही भ्रम र असमझदारी पनि रहन्छ । एउटाले अर्कोमाथि हावी हुने यत्न गर्ने पनि प्रवृत्ति हुन्छ । आफ्ना पार्टनरको स्वभाव, रुची, इच्छा, आकंक्षा आदिबारे नबुझ्दा उनीहरु झगडा गर्छन् । जबकी त्यही झगडा, भनाभनले उनीहरु को-कस्ता ? कसलाई के मनपर्ने ? कसलाई के मन नपर्ने भन्ने कुरा खुलस्त हुन्छ । झगडामा दुबै जना राम्ररी अभिव्यक्त हुन्छन् । मनको कुरा खोलेर चर्काचर्की पर्छ । यसबाट उनीहरुबीच के कुरा मिलेको छैन ? के कुराले उनीहरुको दाम्पत्य बिझाइरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । यो भनेको चिकित्सकले विभिन्न परीक्षणबाट रोग पत्ता लगाएजस्तै हो ।

दम्पतीको झगडाले उनीहरुबीचको समस्या पनि पहिल्याउँछ । अतः त्यही समस्यामा टेकेर उनीहरु समाधान खोज्न सक्छन् । बाँकी जीवन खुसीपूर्वक विताउन सक्छन् ।

दाम्पत्य जीवनको सुरुवातमा झगडा हुनु, मनमुटाव हुनु सामान्य क्रिया हुन् । तर, यसलाई असामान्य बनाउने गल्ती गर्नु हुँदैन । एकअर्कामा भनाभन हुँदा, बोलचाल बन्द हुँदा त्यसलाई तन्काउने वा गंभिर रुपले सोच्ने गल्ती गर्नै हुन्न । यो भनेको प्रेमको विजारोपण पनि हो ।

जब श्रीमान् श्रीमतीबीच भनाभन हुन्छ, नोकझेंक हुन्छ, मनमुटाव हुन्छ, यसले उनीहरुमा एकअर्काप्रति चासो बढाइदिन्छ । एकअर्काको चिन्ता बढाइदिन्छ । र, यो मायामा रुपान्तरण हुन्छ । चलचित्रमा हेर्नुभएकै छ, दम्पतीबीच जति धेरै नोकझोंक हुन्छ, उनीहरुको सम्बन्ध उत्तिनै रसिलो र कसिलो पनि हुन्छ ।

दाम्पत्य जीवनमा सुरुवातमा एकअर्कावीच रहने असमझदारी, अप्ठ्याराहरु यसरी नै सल्टिदै र मिल्दै जाने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment