Comments Add Comment

वाणिज्य बैंकको सेयर मूल्य ‘आईपीओ’कै हाराहारीमा !

२ फागुन, काठमाडौं । जलविद्युत् कम्पनीहरुको सेयर मूल्य त कम छ नै, नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका बैंकहरुको सेयर मूल्य निकै कमजोर छ । यतिसम्मकी, साधारण सेयर (आईपीओ) कै मूल्यमा केहि बैंकहरुको सेयर कारोबार नेप्सेमा भइरहेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक कुनै बेला १ हजार ८ सय माथि पुगेको थियो । बैंकहरुले धमाधम हकप्रद सेयर जारी गर्दै पुँजी बढाउने तर्फ लागे । यसको प्रभाव सेयर मूल्यमा पर्‍यो ।

४ वर्ष अघि २ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढेर अहिले ८ अर्ब रुपैयाँभन्दा माथि छ । एकातर्फ बैंकहरुको पुँजी बढ्दै गयो, अर्कोतर्फ भने बैंकको सेयरमूल्य घट्दै गयो ।

दशक अघि बैंक सञ्चालनमा आउदा प्रतिकित्ता एक सय रुपैयाँमा किनेको सेयरको मूल्य अहिले पनि प्रतिकित्ता एक सय रुपैयाँ हाराहारीमै कारोबार भइरहेको छ । धेरै वाणिज्य बैंकहरूकाे सेयर मूल्य २ सय रूपैयाँ भन्दा कम छ ।  सूचिकृत भएपछि नबढेर एक सय रुपैयाँमै सेयर मूल्य यथावत भएको भने होइन ।

कुनै बेला वाणिज्य बैंककै सेयर मूल्य ९ हजार २ सय भन्दा माथि पुगेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । पछि भने बैंकको सेयर मूल्य लगातार ओरालो लागेको उनको भनाइ छ । ‘स्टाण्डर्ड चार्टड बैंकको सेयर मूल्य ९ हजार भन्दा माथि पुगेको थियो, पछि लगातार घट्दै जाँदा अहिले यो हालत छु प्रवक्ता पराजुलीले भने ।

सर्वसाधारण र संस्थापकबीचको खाडल

अधिकांश बैंकहरुको संस्थापक समूह र सर्वसाधारण समूह भनेर नेप्समो छुट्टाछुट्टै कारोबार हुन्छन् । सरकारी बैंकहरूकाे भने छुट्टै काराेबार हुने गरेका छैनन् ।

नेप्सेमा छुट्टै समूह भनेर सेयर सूचीकृत नभएकाले दुई वटा समूहमा यि बैंकहरुको कारोबार नभएको प्रवक्ता पराजुली बताउँछन् । यदि यी बैंहरुले पनि सूचीकरण लागि निवेदन दिए सूचीकृत भएर दुई वटा समूहमा कारोबार हुने उनले बताए ।

यहाँ गर्न खोजिएको कुरा चाँहि संस्थापक र सर्वसाधारण समूहको सेयर मूल्यको विषय हो । कुनै बैंकको संस्थापक समूहको सेयर मूल्य धेरै छ भने कुनै बैंकको सर्वसाधारण समूहको सेयर मूल्य धेरै छ । गत फागुन १ गतेसम्म भएको कारोबार हेर्ने हो भने अहिले सेयर मूल्य सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको छ ।

एसबीआई बैंकको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ४ सय २० रुपैयाँ छ । यो नै नेप्सेमा कारोबार हुने नेपालका सबै वाणिज्य बैंक मध्येको धेरै हो । तर सर्वसाधारण समूहको सेयर मूल्य भने जम्मा ४०४ रुपैयाँ प्रतिकित्ता रुपैयाँमात्रै छ ।

यो बैंकमात्रै होइन अन्य बैंकहरुको अवस्था पनि उस्तै छ । सर्वसाधारण समूहतर्फको सबैभन्दा बढी सेयर मूल्य भएको नविल बैंकको संस्थापक समूहको सेयर मूल्यमा भने एसबीआईभन्दा पछाडि छ । नविलको संस्थापक सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ छ भने सर्वसाधारण समूहको सेयर मूल्य ७२३ रुपैयाँमात्रै छ ।

एभरेष्ट बैंकको पनि संस्थापक र सर्वसाधारण समूहको सेयर मूल्यका बीचमा ठूलो खाडल छ । एनबीआई र नविलको ठीक विपरित यसको संस्थापक सेयर मूल्य भन्दा सर्वसाधारण समूहतर्फको सेयर मूल्य बढी छ । सर्वसाधारण प्रतिकित्ता ६३९ रुपैयाँ छ भने संस्थापक प्रतिकित्ता १४५ रुपैयाँमात्रै छ ।

हिमालयन बैंकको पनि सर्वसाधारण सेयर मूल्य प्रतिकित्ता ५२८ रुपैयाँ हुँदा संस्थापक २९० रुपैयाँमात्रै छ भने एनआइशी एशिया बैंकको सर्वसाधारण ५०३ रुपैयाँ छ भने संस्थापक २५० रुपैयाँ छ ।

सिं नं. बैंकको नाम सेयर मूल्य (सर्वसाधारण) सेयर मूल्य (संस्थापक
१. एनआइडीसी डेभलपमेन्ट बैंक १५० रावा बैंकमा मर्ज पछि कारोबार रोक्का
२. नेपाल बैंक २६७ सूचीकृत नभएको ।
३. कृषि विकास बैंक ३८४ सूचीकृत नभएको ।
४. ग्लोबल आइएमई बैंक २७६ १७३
५. एनआईसी एशिया बैंक ५०३ २५०
६. प्रभु बैंक २४१ १५६
७. कुमारी बैंक १९३ ११३
८. सेञ्चुरी कमर्शीयल बैंक १८३ ११६
९. प्राइम कमर्शीयल बैंक २७७ १७३
१०. सिभिल बैंक १५१ १००
११. माछापुच्छ्रे बैंक २३१ १४८
१२. सानिमा बैंक ३४४ कारोबार नभएको ।
१३. एभरेष्ट बैंक ६३९ १४५
१४. स्टाण्डर्ड चार्टड बैंक ६०९ कारोबार नभएको ।
१५. नेपाल एसबीआई बैंक ४०४ १४२०
१६. नविल बैंक ७२३ ७७२
१७. सिद्धार्थ बैंक ३०९ १९०
१८. एनएमबि बैंक ३८० २०५
१९. मेगा बैंक २०४ १००
२०. नेपाल इन्भेष्टमेन्ट बैंक ३७५ ३३०
२१. हिमालयन बैंक ५२८ २९०
२२. बैंक अफ काठमाण्डू २३२ १४७
२३. एनसीसी बैंक १९३ १२०
२४. लक्ष्मी बैंक २२४ ११२
२५. सिटिजन्स बैंक इन्टरनेशनल १९० १५३
२६. सनराईस बैंक २४४ १६२
२७. नेपाल बंगलादेश बैंक २०४ ११४

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment