Comments Add Comment

सप्तरीमा मुस्लिम धार्मिकसभा सुरु

३ फागुन, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा मुस्लिम धर्माम्बलीहरुको सभा शनिबारदेखि सुरु भएको छ ।

बोदे बर्साइन नगरपालिकाको जाँजरस्थित खड्ग नदी किनारमा धार्मिकसभाको आयोजना गरिएको छ । धार्मिकसभामा नेपाल र भारतका मुस्लिमहरु सहभागी छन् । धार्मिकसभामा सहभागिता जनाउनका लागि अहिले पनि मानिसहरु आउने क्रम जारी नै रहेको आयोजकले जनाएको छ । ‘सहभागीहरु आउने क्रम जारी रहेको छ’ आयोजकका इस्लामले भने, ‘हामी शान्तिपूर्ण तरिकाले सभाको आयोजना गरेका छौं ।’

सभास्थलमा महिला र बालबालिकाका प्रवेशलाई निषेध गरिएको छ ।

धार्मिकसभामा नेपाल र भारतका मुस्लिमलाई मात्रै बोलाउने जनाएको आयोजकले तेस्रो मुलुकबाट पनि बोलाएपछि गृह मन्त्रालयले सभा रोक्न बिहीबार सर्कुलर जारी गरेको थियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः सभा सञ्चालन गर्न गृहले अनुमति दिएको छ । गृहले तेस्रो मुलुकबाट आएकालाई फर्काउने शर्तमा अनुमति दिएको हो ।

सरकारको आदेश बमोजिम अन्य देशबाट आएकालाई फर्काइएको मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले बताए ।

पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो ।

मुस्लिम धर्माम्बलीको धार्मिकसभामा औपचारिक रुपमा उद्घाटन र भाषण ठोक्ने काम गरिएको छैन् । सिधैं प्रवचनको कार्यक्रम गरिएको छ ।

धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट हजरत मौलाना साद साहेब आएका छन् । उनी नै मुख्य प्रवचनकर्ता रहेको अन्सारीले बताए ।

साद साहेब जमात विश्वका अध्यक्ष समेत हुन् । उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सहभागिता छ ।

सभास्थल आसपास सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

मदिराजन्य सामग्री निषेध

मुस्लिम समुदायले धार्मिकसभा आयोजना गरेको बोदे बर्साइन नगरपालिकाले यस क्षेत्रमा मदिरा बिक्री, वितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सभा हुने समय तीन दिन सम्मकै लागि बोदे बर्साइन बजार तथा आसपासका क्षेत्रमा मदिरा बिक्री, बितरण र प्रयोगमा रोक लगाएको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मदिराजन्य पदार्थ बिक्री बितरण गरेको पाइएमा व्यवसायीको दर्ता खारेज गरी कानून बमोजिम कारबाही गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment