Comments Add Comment

वैज्ञानिकहरूले बनाए अनौठो जेनेरेटर

पानीको एक थोपाले १ सय वटा बल्ब बल्ने

विश्वमा हरेक दिन विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ नयाँ तथा अत्याधुनिक आविष्कारहरू भइरहन्छन् । यस्ता वैज्ञानिक आविष्कारले दुनियाँलाई नयाँ दिशा दिने गरेका छन् । युनिभर्सिटी अफ हङकङका वैज्ञानिकहरूले हालै एउटा यस्तै क्रान्तिकारी आविष्कार गरेका छन् । वैज्ञानिकहरूले एउटा यस्तो जेनेरेटर बनाएका छन् जसले एक थोपा पानीबाट १ सय वटा एलइडी बल्ब बाल्न सक्ने बिजुली उत्पादन गर्न सक्दछ ।

नेचर जर्नलका नयाँ अंकमा यो आविष्कारसम्बन्धी शोध प्रकाशित भएको छ ।

हङकङ विश्वविद्यालयका इन्जिनियर तथा प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरका माध्यमबाट १५ सेन्टिमिटरको उचाइबाट १ सय माइक्रोलिटर आकारको एक पानीको थोपाबाट १ सय ४० भोल्ट ऊर्जा उत्पादन गर्नेछ । यो परिमाणको ऊर्जाबाट १ सय वटा एलईडी बल्ब बाल्न सकिन्छ ।

प्राध्यापक जुआनकाई वांगका अनुसार, यो जेनेरेटरमा दुईवटा इलेक्ट्रोड हुनेछन् । जसमा एक आल्मुनियम तथा दोस्रो पोलीटेट्राफ्लोरोएथिलोन कोटेड इन्डियम टिन अक्साइडबाट बनेका छन् । वास्तवमा पोलीटेट्राफ्लोरोएथिलिन इलेक्ट्रोडमा पानीको थोपा पर्दासमेत त्यसबाट बिजुली उत्पन्न हुन्छ । त्यसैले यो इलेक्ट्रोडबाट धेरैभन्दा धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार, यो जेनेरेटर उच्च क्षमताको रहेको छ र एकपटकमा आफ्नो क्षमताबाट कैयन् गुणा अधिक ऊर्जा उत्पादन गर्न सक्षम छ । यो जेनेरेटरबाट आगामी दिनमा वर्षात्को पानीको भरपूर प्रयोग गरी बिजुली उत्पादन गर्न सकिने सम्भावना सिर्जना भएको छ । यसले विश्वमा ऊर्जा उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याउने वैज्ञानिकहरूको दाबी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment