+
+

ललिता निवास प्रकरण : सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते २०:०३

४ फागुन, काठमाडौं । बालुवाटारको ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ ।

गृहमन्त्रालयले दिएको किटानी जाहेरी शुक्रबार दर्ता गरिएको हो ।

मुलुकी ऐनको ठगी र कीर्तेसम्बन्धी कसूरमा अनुसन्धानको माग गर्दै जाहेरी दर्ता भएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले अनलाइनखबरलाई बताए ।

जाहेरी दर्ता भएसँगै प्रहरीले आरोपितलाई पक्राउ गर्ने बाटो खुलेको छ । आइतबार प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्न अदालतबाट अनुमति पनि लिइसकेको स्रोतको दाबी छ । यद्यपि, नाम खुलाइएको छैन ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सीआईबीले यसअघि त्यति नै संख्याका व्यक्तिलाई कारबाहीको माग गर्दै छानविन प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको थियो ।

तर, गृहले १७२ जनाविरुद्ध मात्रै कीर्ते र ठगी अभियोगमा जाहेरी दिएको छ । ‘अनुसन्धान सुरु भइसकेको छ । अहिल्यै व्यक्तितिर नजाउँ’, एसपी पाण्डेले भने, ‘अनुसन्धानका क्रममा अरु पनि छानविनको दायरामा आउन सक्छन् ।’

ललिता निवास र त्यसले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमाथि छानविन गरेर प्रतिवेदन बुझाउन २८ फागुन २०७५ मा सीआईबीले जिम्मेवारी पाएको थियो । उक्त प्रतिवेदन १६ माघमा प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा बुझाइएको थियो ।

एसपी पाण्डेका अनुसार जाहेरीपछि अनुसन्धान थालिएको छ । उनले भने, ‘यसअघि गरिएको छानविनपछि तयार पारिएको प्रतिवेदनलाई आधार बनाएर अब विस्तृत अनुसन्धान थालिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?