Comments Add Comment

सुन तस्करी प्रकरणमा गोरेकी श्रीमतीसहित चारजना धरौटीमा छुटे

१९ जनाविरुद्ध ३५ दिने सूचना

५ फागुन, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा फरार रहेका चारजना हाजिर भएलगत्तै धरौटीमा छुटेका छन् । चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारीसहित चारजना धरौटी बुझाएर छुटेका हुन् ।

मोरङ उर्लाबारीका समन शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा २०७५ बैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएर ‘अपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दर्ता भएको थियो । थप दुईवटा पुरक अभियोगसहित जम्मा ७५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अभियोगलगत्तै फारर रहेका वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि.न्यूरोडका सञ्चालक गीता श्रेष्ठ, सुनील श्रेष्ठ, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भनिने चेतनाथ भण्डारी र चुडामणि उप्रेती गोरेकी श्रीमती निरु भनिने नर्बदा उप्रेती सुटुक्क हाजिर भएका थिए ।

फरक फरक मितिमा हाजिर भएका उनीहरुलाई जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।

अदालतले गत पुस ४ पुसमा नर्वदालाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । पुस १६ गते गीता र सुनील श्रेष्ठलाई जनही एक लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । पुस २१ गते हाजिर भएका चेतनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । रोशन भनिने गुप्तलाल भुसाललाई पनि धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशपछि सरकारी वकिलको कार्यालय पुनरावेदनका लागि उच्च अदालत विराटनगर पुगेको छ ।

२०७४ फागुन १८ गते उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सुन तस्करीको जालो बाहिर आएको थियो । त्रिभुवन विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएपछि नाइके भनिएका चुडामणि उप्रेती गोरेसहितको समूहले करेन्ट लगाएर यातना दिदा मोरङको मंगलबारमा शाक्यको ज्यान गएको थियो । शाक्यको शव १८ फागुनमा नाटकिय ढंगले विराटनगरमा फेला परेको थियो ।

शाक्य हत्या अनुसन्धानपछि १९ वैशाख २०७५ मा जिल्ला अदालत मोरङमा ६३ जना विरुद्ध ‘अपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दर्ता भएको थियो ।

अदालतमा दायर गरिएको मुद्धामा सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्रा म(करिब ३८ क्वीन्टल) अबैध रुपमा सुन आयात गरिएको दाबी थियो ।

तत्कालिन समयमा बहालवाला प्रहरी अधिकृत एसएसपी दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल पूर्व डिआइजी गोविन्द निरौला सहित २९ जना पक्राउ परेका थिए ।

सुन मुद्दामा प्रहरी अधिकृतहरु लोहनी, खनाल, केसी र सञ्जेल उच्च अदालत विराटनगरको आदेशपछि काममा फर्किएका छन् । डिएसपी सञ्जय राउत भने पूर्पक्षका लागि झुम्का कारागारमा छन् ।

१९ जनाविरुद्ध पत्रिकामा सूचना

जिल्ला अदालत मोरङमा ७५ जनाविरुद्ध दायर भएको मुद्दामा फरार रहेका १९ जनाविरुद्ध जिल्ला अदालत मोरङले ३५ दिने सूचना जारी गरेको छ ।

जिल्ला अदालत मोरङले म्याद तामेली नभएका १९ जनाको नाममा ३५ दिन भित्र हाजिर हुने गरी सूचना जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment