Comments Add Comment

कौटिल्यको अर्थशास्त्र : भ्रष्टाचारीलाई के गर्ने कारबाही ?

सरकारी कर्मचारीको दुरुपयोग गर्ने योजना पत्ता लगाउनै सकिँदैन

हाम्रा नेता, मन्त्रीहरु भ्रष्ट छन् । राज्यको ढुकुटीमाथि ¥याल चुहाएर बसेका छन् । मौका पाउनसाथ उनीहरु आफ्नो खल्ती भर्न थाल्छन् । त्यसैले पनि सर्वसारण नेता÷मन्त्रीप्रति विश्वस्त छैनन् । राजनीतिप्रतिको चरम वितृष्णा बढ्दो छ । यसै सन्दर्भमा कौटिल्याको एक प्रसंग यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ ।

‘कौटिल्यको अर्थशास्त्र’ आचार्य चाणक्यको एउटा उत्कृष्ट कार्य हो । जसमा उनले वर्णन गरेका छन् कि एउटा प्रभावकारी शासन प्रणालीमा कस्तो चरित्र हुनुपर्छ । मन्त्री, कर्मचारी र अरु शासकहरुको आचरण कस्तो हुनुपर्छ ? भन्ने कुरा त्यसमा उल्लेख छ ।

राजाले जनहितका लागि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा समेत यसमा उल्लेख गरिएको छ । चाणक्य ईसापूर्व साढे २ सय वर्ष अघि चन्द्रगुप्त मौर्यको शासन स्थापित गर्ने आचार्य हुन् । ग्रीक शासक अलेक्जेण्डर उनका समकालीन थिए । पछि अशोक उही मौर्य गोत्रमा महान् सम्राट भयो । त्यस समयको प्रणाली राजा केन्द्रित थियो । त्यसैले पनि राजाले नै ती सबै कुराहरुको नियन्त्रण गर्ने गर्नुपर्ने मान्यता छ । अहिले राजाको प्रणाली नभएकोले राजाको अर्थ राज्य सञ्चालनका प्रमुख व्यक्तिलाई नै यहाँ प्रयुक्त राजा शब्दले जनाउने गर्छ ।

पूर्वीय दर्शनमा राज्य व्यवस्था सञ्चालनका विभिन्न उपायहरु बताइएको छ । प्राचीनकालमा उल्लेख गरिएका यावत् ग्रन्थहरुले भ्रष्टाचार र राज्यद्रोहको कुरालाई पहिलेदेखि नै महत्वका साथ हेर्दै यसलाई बर्जित गरिएको छ । भारत वर्षमा चाणक्यकाल पूर्वका चर्चित नीतिहरुमा भीष्म नीति, विदुर नीति, मनु नीति (मनुस्मृति), चार्वाक दर्शन, शुक्रनीति, बृहस्पतिनीति, परशुरामनीति, गर्गनीति आदि महत्वपूर्ण छन् । यी सबै नीतिहरुले राजनीतिज्ञ र सरकारी कर्मचारीको सुशासन एवं आत्मानुशासनबारे ज्ञान दिएका छन् । आचार्य चाणक्य पूर्वका नीतिज्ञहरुमा भर्तृहरि, हर्षवर्धन, बाणभट्ट, विदुर आदि महत्वपूर्ण छन् । यही विदुर नीतिका प्रणेता विदुर धृतराष्ट्रका सौतेनी भाइ हुन् । उनी एक दासी पुत्र थिए ।

भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको विषयमा चाणक्य नीतिले पनि धेरै जानकारी दिएको छ । विशेषगरी भ्रष्टाचारी बिरुद्ध आक्रामक नीति अँगाल्नु चाणक्य नीतिको विशेषता हो । यही भ्रष्टाचारीहरुलाई ईंकित गर्दै चाणक्य नीतिमा भनिएको छ :

अपि शक्या गतिर्ज्ञातुं पततां खे पतत्त्रिणाम् ।

न तु प्रच्छन्नभावानां युक्तानां चरतां गतिः ।।

(कौटिलीय अर्थशास्त्र, प्रकरण २५– उपयुक्तपरीक्षा)

अर्थात्, आकाशमा उड्ने चराहरूको आन्दोलनलाई बुझ्न (कुन दिशामा तिनीहरू सर्ने वा घुम्ने आदि) सकिन्छ । तर, राज्यमा नियुक्त व्यक्तिको दिमागमा (लुट्ने, दुरुपयोग गर्ने आदि) लुकेका भावनाहरू जान्न सम्भव छैन।

सरकारी पैसाको दुरुपयोगको बारेमा कसैले पनि सरकारी कर्मचारीको योजना पत्ता लगाउन सक्दैनन् । केवल जब दुरुपयोग गरेको पत्ता लाग्छ कि अनि थाहा हुन्छ उनीहरुले कुन तरिका अपनाएर दुरुपयोग गरे भने ।

त्यस्तै, सोही नीतिमा भनिएको छ :

आस्रावयेच्चोपचितान् विपर्यस्येच्च कर्मसु ।

यथा न भक्षयन्त्यर्थं भक्षितं निर्वमन्ति वा ।।

अर्थ  : राजाको कर्तव्य हो कि शाही काममा नियुक्त भएका कुनैपनि व्यक्तिले राज्यको सम्पति लुटेर खाएको खण्डमा उसलाई तल्लो पदमा घटुवा गर्नुपर्छ । ताकि उनीहरूले लुटेको राज्यको सम्पत्ति राज्यले उनीहरुबाट उठाउन सकोस् ।

यो वाक्यांशको अभिप्राय यो हो कि भ्रष्ट राज्यकर्मीलाई सजाय दिनुपर्छ । सबैभन्दा अर्थपूर्ण र डरलाग्दो सजाय यो हो कि उसको सर्वश्वहरण गर्नुपर्छ ताकि उसले त्यो सम्पत्ति फिर्ता गरेर त्यसको सजाय समेत भोगोस् । दुर्भाग्यवस यसलाई वर्तमान सरकारी प्रणालीमा पूर्णतः लागू गर्ने गरिएको छैन । आर्थिक अपराधीहरूलाई बिरलै सजाय दिइन्छ । त्यो पनि राजीनामा दिएपछि सबै चोखिने परिपाटी रहेको छ । सजायको अभावमा त्यस्ता व्यक्तिहरुको मनोभाव उच्च हुने गरेको छ ।

सोही नीतिले थप उल्लेख गरेको छ:

न भक्षयन्ति ये त्वर्थान् न्यायतो वर्धयन्ति च ।

नित्याधिकाराः कार्यास्ते राज्ञः प्रियहिते रताः ।।

अर्थात्, जसले सरकारी पैसा नहडपी राज्यलाई फाइदा पुग्नेगरी उचित विधिको प्रयोग गर्छन् । त्यस्ता कामदारहरूलाई सशक्त पदहरूमा नियुक्ति गर्नुपर्छ । राज्यको कर्मचारी नियुक्त गर्ने क्षमताको एक अत्यावश्यक पक्ष भनेको राज्यप्रतिको वफादारी हो । शैक्षिक योग्यता राज्यको चासो होइन । सरकारले व्यक्तिको मनसाय र राज्यप्रतिको कर्तव्यलाई ध्यानमा राखी कर्मचारी नियुक्त गर्नुपर्छ । हाम्रो प्रणालीमा, शैक्षिक योग्यता खोजिन्छ । तर, इमान्दारिता खोजिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment