Comments Add Comment

छाप्रोमा बस्दै आएका ७५ वर्षीय वृद्धलाई रेडक्रसको सहयोग

९ फागुन, रामेछाप । दश वर्षदेखि भत्किएको छाप्रोमा बस्दै आएका एक ७५ वर्षीय वृद्धलाई नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले सहयोग गरेको छ ।

मन्थली नगपालिकाको बान्द्रे पुल नजिकै भत्किएको छाप्रोमा बस्दै आएका वृद्ध ज्ञानबहादुर विकलाई रेडक्रसले लत्ताकपडा, भाँडाकुँडा तथा खाद्य सामग्री सहयोग गरेको हो ।

वृद्ध विक बस्ने गरेको छाप्रोमा नै पुगेर रेडक्रस रामेछाप शाखाका सभापति शिवकुमार कार्कीसहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।

परिवारका सबै सदस्य गुमाएका लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका विक १० वर्षदेखि पुलको छेउमा रहेको सार्वजनिक जग्गाको बंगुर पाल्न बनाएको छाप्रोमा बस्दै आएका थिए ।

लामो समय भारतमा बसेका उनी नेपाल फर्किएपछि पनि विभिन्न ठाउँ घुम्दै घरायसी प्रयोगका फलामका भाँडाकुँडा तथा घरेलु हातहतियार बनाउने गर्दथे । यसैगरी जाँतो र घट्ट बनाई बिक्री गरेर पनि उनले जीविका चलाउँदै आएका थिए । उनले दाउरा समेत बेच्ने गरेका थिए ।

१० दाजुभाइ र २ दिदीबहिनी मध्ये उनी र उनको एक भाइ बाहेक सबै दाजुभाइको सानैमा मृत्यु भएको उनी बताउँछन् । यसैगरी २ बहिनी मध्ये उनकी एक बहिनी जिवित छन् । उनी पनि छोरीको घरमा बस्दै आएकी छिन् । ज्ञानबहादुर भने अविवाहित हुन् ।

शारीरिक रुपमा कमजोर रहेका उनी १० वर्षदेखि बाद्रेको पुल नजिकै तामाकोसी नदी किनारमा बस्दै आएका छन् । सानातिना घरेलु फलामे औजारहरु मर्मत गरे वापत स्थानीयले दिने धेरथाेर रकम उनको जीवन जिउने आधार बनेको छ । त्यो पनि शारीरिक अशक्तताको कारण नियमित गर्न नसकेको उनी बताउँछन् ।

छाप्रो भत्किने अवस्थामा पुगेपछि बंगुर पाल्न छाडिएको थियो । उनले सोही छाप्रोलाई आफू बस्ने घरको रुपमा प्रयोग गर्दै आइरहेका छन् । छाप्राको छाना पनि अहिले पाल राखेर रेडक्रसले मर्मत गरिदिएको छ ।

उनलाई खाद्य सामग्री, भाँडाकुँडा, ओड्ने आछ्याउनेसहित लत्ताकपडा उपलब्ध गराएको रेडक्रसका मन्त्री जयप्रकाश श्रेष्ठले बताए ।

उनलाई अस्थायी शौचालय निर्माण गर्न ट्वाइलेट प्यान समेत उपलब्ध गराइएको उनले बताए ।
रेडक्रसको सहयोगपछि खुशी बनेका विकले आफूलाई बस्नको लागि सो ठाउँमा सानो घर कसैले बनाइदिए ठूलो सहयोग हुने बताए । उनले भने, ‘बाँचुञ्जेल म बस्थें । मेरो अन्तिम इच्छा एउटा छाप्रोभित्र बस्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment