Comments Add Comment

मोरङमा रहस्यमय बनेको दुई मृत्युका घटना

पूर्वपत्रकार र लेखापरीक्षक मृत्युको घटनामा के गर्दैछ प्रहरी ?

८ फागुन, विराटनगर । पछिल्लो तीन महिनामा विराटनगरमा तीनवटा शव भेटिए । गत २२ मंसिरमा काठमाडौं बसोबास गर्दै आएका ७४ वर्षका जयप्रसाद दाहालको विराटनगर– २ मा शंकास्पद अवस्थामा शव भेटियो ।

त्यस्तै ६ माघ सोमबार दिउँसो साथी भेट्न हिँडेका विराटनगर– २ का लेखा परीक्षक प्रवल घिमिरे भोलिपल्ट बिहान सिंघिया खोलामा मृत अवस्थामा भेटिए । २४ माघमा विराटनगर– १२ मा रहेको उखुबारीमा हत्या गरि फालिएको अवस्थामा महिलाको शव भेटियो ।

पछिल्ला तीन गम्भीर प्रकृतिको घटना अनुसन्धान गरेको मोरङ प्रहरीले महिलाको हत्या गरी शव उखुबारीमा फाल्नेलाई पक्राउ गर्दै अनुसन्धान निश्कर्षमा पुर्‍यायो ।

तर पूर्व पत्रकार दाहाल र लेखापरीक्षक घिमिरे मृत्यु प्रकरणको अनुसन्धान गर्न कठिन बनेको छ । दाहाल र घिमिरे एउटै वडाका बासिन्दा हुन् ।

यी दुई गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा खासै प्रगति नभएको मोरङ प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राई दुबै घटना प्राथमिकतामा राखेर अनुन्धान गरिरहेको बताउँछन् ।

काठमाडौं बसोबास गर्दै आएका पूर्वपत्रकार दाहाल २१ मंसिरमा घर जग्गा बिक्रीका लागि विराटनगर आएका थिए । उनको शव भोलिपल्ट बिहान आधा जलेको र घाटी रेटिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार दाहाल सुत्ने कोठामा भान्साकोठाबाट सिलिण्डर ल्याएर बालेको देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको निश्कर्ष निकाले पनि घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

दाहालको विराटनगरको घर रेखदेख विराटनगरका राधेश्याम दराकले गर्दै आएका थिए । मंसिर २१ गते शनिबार साँझ दराककै घरमा खाना खाएर फर्किएका दाहाललाई मंसिर २२ गते विहान दराकले नै भेट्न आउँदा ढोका नखोलेपछि छिमेकीलाई बोलाएका थिए । प्रहरीका अनुसार दाहालको घर पनि दराकले नै भाडामा लिएका थिए । दाहाल काठमाडौंबाट आएकै दिन उनले घर खाली गरेका थिए ।

घटना अनुसन्धानका क्रममा प्रहरीले दराकको बयान पनि लिएको थियो । तर घटनाको तीन महिना पुग्नै लाग्दा कसैको संलग्नता देखाउन सकेको छैन ।

त्यस्तै विराटनगर २ का लेखा परीक्षक प्रवल घिमिरे मृत्यु प्रकरण पनि शंकास्पद छ । घिमिरे ६ माघ बेलुका उद्योगी नन्दकिशोर राठीले बोलाएपछि गएका थिए ।

राठीसँग केही समय काम गरेपछि उनी आमाज बेकरी क्याफे हुँदै होटल मुन र लोटस बारमा पुगेका थिए । राति अबेरसम्म घिमिरे घर नआएपछि उनको परिवारले खोजी गरेको थियो । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो ।

लामो समयदेखि राठीको उद्योगको लेखापरीक्षण गर्दै आएका घिमिरे यस पटक पनि अडिटकै सिलसिलामा उद्योग पुगेका थिए । राठीको उद्योगमा केही समय बसेपछि उनीहरु त्यहाबाट आमाज वेकरी पुगे । आमाजबाट राठलृ उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरु भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगे ।

मुन होटलमा विराटनगरका सुन पसल सञ्चालक अरुण राठी, अशोक अटल, झापा सताक्षीधामका विनय कर्ण,उर्लाबारीका अनिल चाण्डकसँग भेट भयो । होटलमा मुन होटल सञ्चालक विजयराज प्रसाईसँग पनि बसेर खानपान गरे । त्यसपछि उनीहरु लोटस बार पुगे ।

लोटस बारबाट अनिल चाण्डकको गाडीमा वडा प्रहरी कार्यालय विराटनगर अगाडि उत्रिएका उनी श्रीमतीले फोन गर्दा घर आउदैछु भने पनि पुगेनन् । भोलिपल्ट विहान सिंघिया खोलामा डुबेको अवस्थामा शव भेटिएपछि आफन्तले सँगै होटलमा बसेका सातजना विरुद्ध अनुसन्धान गर्न जाहेरी दिएका छन् ।

मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार घटना भएको राति सँगै रहेका नन्दकिशोर राठी, विराटनगरका सुन पसल सञ्चालक अरुण राठी, अशोक अटल, झापा सताक्षीधामका विनय कर्ण, उर्लाबारीका अनिल चाण्डक, नन्दकिशोरका सवारी चालक पशुपति खड्का, चाण्डका सवारी चालक चन्द्रबहादुर दर्जी माथि अनुसन्धान गर्न माग गर्दै जाहेरी परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment