+
+
Shares

हेडसरको चिन्ता – गाउँ उजाड हुँदैछ, पढ्ने बच्चाबच्ची भएनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १८:१४

११ फागुन, काठमाडौं । ‘यही स्थिति रहने हो भने आउँदो २० वर्षमा बोर्लाङ उजाड हुन्छ’ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौड्यालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यसो भन्दा धेरैको अनुहार मलिन देखियो ।

विभिन्न पेशा, व्यवसाय र पढाइका लागि गाउँ छाडेर काठमाडौं पसेकाहरुको भेलामा स्थानीय विद्यालयका हेडसरको भनाइ सुन्दा धेरैले गाउँ सम्झिरहेका थिए ।

‘हाम्रा शैक्षिक धरोहरहरु दिनदिनै कमजोर हुँदैछन्,’ पौड्यालले अघि भने, ‘एउटा स्कुल मर्ज भइसकेको छ, अरुको पनि अवस्था राम्रो छैन, १५० घरधुरी रहेको गाउँको स्कुलमा २०/२२ जनामात्रै विद्यार्थी छन् ।’

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ र ८ (साविकको बोर्लाङ गाविस) नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थानको रुपमा चिनिन्छ । त्यहाँ भीमसेन थापाकालीन पुराना घर, मन्दिर, सत्तल, बगैंचालगायत पनि छन् । तर अहिले भीमसेन थापाको घर पुनर्निर्माणका लागि भत्काइएको छ भने आँपका ठूलो बगैंचाका धेरै रुख काटिएका छन् ।

ऐतिहासिक रुपमा समृद्ध भए पनि गाउँको अवस्था अहिले दयनीय भएको र तीब्र बसाइँसराइका कारण खाली हुन थालेको कार्यक्रमका सहभागीहरुले बताए ।

बुढीगण्डकी आयोजनाबाट बोर्लाङको खेतीयोग्य टारहरु क्यामुन्टार, सिमलटार, पीपलटार, महादेवटार र घाटवेशी डुब्दैछ । डुवान क्षेत्रका वासिन्दा आफ्ना खेतबारीको मुआब्जा लिएर धमाधम काठमाडौं र चितवनजस्ता शहर पस्दैछन् ।

शनिबार काठमाडौंको नयाँबजारमा आयोजित बोर्लाङबासीको भेलामा एक सयभन्दा धेरै सहभागी थिए । त्यहाँ प्राध्यापक, इन्जिनियर, उच्च सरकारी अधिकारी, कृषिविज्ञ र व्यापार व्यवसायमा सफल व्यक्तिहरुसम्म थिए ।

‘बोर्लाङ त काठमाडौंमै रहेछ, बोर्लाङमा कुनै विशेष कार्यक्रम गर्दा पनि यत्तिको जुझारु टिम पाउन सकिदैन, बोर्लाङको टाउको त यहाँ पो देखेँ’ प्रधानाध्यापक पौड्यालले यत्ति भन्दै मन्तव्य सुरु गरेका थिए । बोर्लाङमा हाल तीनवटा माध्यमिक विद्यालय छन् । सबै विद्यालयमा अहिले विद्यार्थी संख्या घटेको छ, मुख्य कुरा कक्षा १ मा भर्ना हुनेको संख्या नगन्य छ ।

भीमसेन थापा गाउँपालिका ८ ऐरीभञ्ज्याङमा पूर्वसभासद एकनाथ ढकालको आर्थिक सहयोगमा बनेको भवानी प्राथमिक विद्यालय भवनमा एक दिन पनि विद्यार्थी पढेनन् । हाल उक्त विद्यालय अर्कोमा मर्ज भइसकेको छ भने विद्यालय भवनमा वडा कार्यालय राखिएको छ ।

बोर्लाङको जागेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ सापकोटाले गाउँमा युवामात्र होइन बालबच्चा पनि नभएको बताए । ‘गाउँका घरमा बुढाबुढी बाआमा छन्, पढ्ने बच्चाबच्ची पनि छैनन्’ उनले भने ।

बुढीगण्डकीले डुबायो !

गाउँको मुख्य खेतीयोग्य क्षेत्र बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने भएपछि अहिले गाउँबाट बसाइँ सर्नेहरुको संख्या निकै ठूलो छ । त्यसैले डुवान क्षेत्रमा पर्ने गाउँमा जनसंख्या धेरै पातलिएको छ ।

भीमसेन थापा गाउँपालिका – ७ का वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार गाउँबाट ८० प्रतिशत बाहिरिएका छन् । ‘मुआब्जा बुझ्नेहरु ८० प्रतिशत गाउँमै बस्नुहुन्छ र २० प्रतिशत बाहिरिनुहुन्छ होला भन्ने अनुमान थियो, तर ठीक उल्टो भयो ।’

सरस्वती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी देवलप्रसाद भट्टराईले गाउँको २० मुरी हुने खेतको मुआब्जाले काठमाडौंमा ४ आना घडेरी किनेर बस्दा समग्रमा राज्यलाई घाटा भएको बताए ।

‘व्यक्तिको हिसाबमा गाउँबाट शहर आउँदा फाइदा त भयो होला, तर राज्यको स्तरबाट हेर्दा २० मुरी धान फल्ने खेत बाँझिएर मान्छेहरु गमलामा खेती गर्ने अवस्थामा आइपुग्नु घाटा हो,’ उनले भने ।

जागेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले बुढीगण्डकी आयोजनाबाट प्रभावितको पुनस्र्थापनाको ग्यारेन्टी नहुँदा गाउँ बस्ने मनस्थिति भएकालाई पनि बस्न नसकेका बताए ।

वडाअध्यक्ष भन्छन् – तपाईंहरु नफर्किए बाहिरका आउँछन्

कार्यक्रममा उपस्थित वडा नम्बर ७ का अध्यक्ष नारायण श्रेष्ठले गाउँमा विकास निर्माणको कामले गति लिइरहेकाले गाउँप्रति कोही पनि निराश हुनु नपर्ने बताए ।

सडक सबै टोलमा पुगेको र अबको दुई वर्षमा बोर्लाङमा एक घर एक धारा हुने भन्दै श्रेष्ठले काठमाडौं बस्ने गाउँलेहरुलाई भने, ‘तपाईंहरु नफर्किए अरु मान्छे आउँछन्, सस्तोमा जग्गा लिएर उद्योग, फर्म चलाउँछन्, मुआब्जा बुझ्नेहरु महंगो जग्गा किन्न शहर पसे, अब बाहिरकाले आएर किन्छन् ।’

वडाध्यक्ष श्रेष्ठले सबै काम जनप्रतिनिधिले नजान्ने भन्दै आफूलाई गाउँ विकासको योजना दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?