Comments Add Comment

गोरखकाली रवर उद्योग बन्यो स्याल र बाँदरको बासस्थान

१२ फागुन, गोरखा । विहान पौने सात बजे साइरन बज्थ्यो । पहिलो सिफ्टका कामदार तयार हुन्थे ।

तीन बजे बज्ने साइरनको आवाजले दोस्रो सिफ्ट सुरु भएको जनाउ दिन्थ्यो । गोरखा नगरपालिका–१३ मझुवा वरपरका वासिन्दा पनि गोरखकाली रवर उद्योगमा बज्ने साइरनबाटै समय थाहा पाउँथे ।

राति ११ बजेसम्म टायर उत्पादनमा कामदारहरु व्यस्त हुन्थे । उद्योगबाट दैनिक ३० देखि ६० लाखसम्मको टायर उत्पादन हुने पूर्वमजदुर ईश्वर परियार बताउँछन् ।

एकै दिन साना ठूला गरी ५ सय ५८ वटासम्म टायर उत्पादन गरेको उनी सम्झन्छन् । तीन सय भन्दा बढी कर्मचारीको चहलपहल हुने उद्योग सुनसान हुन थालेको पनि धेरै भइसक्यो ।

उद्योगमा न कर्मचारी छन् न मजदुर ।

करिव सात सय रोपनी क्षेत्रफलमा फैलिएको उद्योगको कर्मचारी र मजदुरका परिवारको वासस्थानका लागि बनाइएको ४२ वटा ब्लक प्रयोगविहीन छ । करोडौका मेसिन थन्किएका छन् । उद्योग क्षेत्रमा झाँडी पलाएको छ, साँझपख स्याल दौडिने गर्छ । सुनसान बनेको उद्योग क्षेत्रमा बाँदर छ्याछ्याप्ती भेटिन्छ ।

गोरखकाली रवर उद्योगबाट उत्पादित पहिलो टायर । यसलाई उद्योग परिसरमा मन्दिर आकारको घरमा सं‌रक्षण गरेर राखिएको छ ।

अहिले उद्योग क्षेत्र सुरक्षाका लागि पाँच जना सुरक्षागार्ड खटिएका छन् । पालैपालो उनीहरु ड्युटी गर्छन् । उनीहरुको काम उद्योग कुरेर बस्ने मात्र हो । शुरुका समयमा मानिसहरु सोधपुछका लागि आउने गरे पनि अहिले खासै नआउने उनीहरु बताउँछन् ।

माघ ३ गते बसेको मन्त्रिपरिषद निर्णयअनुसारको अवकाश योजनामा मजदुृर र कर्मचारीले दुई किस्ता रकम बुझिसकेका छन् । अब एक किस्ता रकम बुझ्न बाँकी छ ।

यही महिनाभित्र तेस्रो किस्ता पनि उपलब्ध गराउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल बताउँछन् । ‘कुल ९४ करोड लाग्ने अनुमान गरेका हौ, ६० करोड बाँडिसक्यौं अब ३४ करोड बाँड्न बाँकी छ,’ उनले भने ।

एक किस्ता रकम बाँडेपछि गोरखकाली रबर उद्योगको एउटा अध्याय समाप्त हुन्छ । त्यसपछि के हुन्छ कसैलाई थाहा छैन । २०७१ साल चैत २३ गतेबाट बन्द भएको उद्योग पुनः संचालनमा आउने हो वा होइन केही टुंगो छैन ।

उद्योग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई दिने हल्ला चलेको छ । एक/दुई पटक चिनियाँ टोलीले उद्योगको निरीक्षण समेत गरिसकेको छ । तर उद्योगको अवस्था के हुन्छ अहिले नै टुंगो छैन ।

स्वदेशमै टायर उत्पादन गरेर विदेशी टायरको आयात घटाउने उद्देश्यले २०४२ सालमा उद्योगको शिलन्यास गरिएको थियो । २०४९ सालबाट टायर उत्पादन शुरु गरेको उद्योग अहिले बन्द छ ।

व्यवस्थापन पक्षको कमजोरीका कारण उद्योग सञ्चाचनमा आउन नसकेको मजदुरहरुले बताउँदै आएका छन् । कर्मचारी संगठनको विवादका कारण पनि धेरैजसो समय उद्योग बन्द हुदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment