Comments Add Comment

जिम्बाब्बेविरुद्ध मुस्फिकर रहिमले बनाए दोहोरो शतक

१२ फागुन, काठमाडौं । बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले टेष्ट क्रिकेटमा तेस्रो दोहोरो शतक प्रहार गरेका छन् । घरेलु मैदानमा भइरहेको जिम्बावे विरुद्धको एक मात्र टेष्टको तेस्रो दिन रहिमले दोहोरो शतक पूरा गरे ।

उनको यो तेस्रो दोहोरो शतक हो भने जिम्बावेविरुद्ध दोस्रो हो । उनले १५४ औं ओभरको दोस्रो बलमा एनसले एनलोऐलाई चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका हुन् ।

रहिम २०३ रनमा अविजित रहे । उनले ३१८ बल खेल्दै २८ चौका प्रहार गरे । रहिमको दोहोरो शतकपछि बंगलादेशले ५६०-६ मा इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

टेष्टमा बंगलादेशको लागि तीन दोहोरो शतक प्रहार गर्ने रहिम एक मात्र खेलाडी हुन् । जिम्बावे विरुद्ध दोहोरो शतकपछि रहिम टेष्टमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडीमा समेत शीर्ष स्थानमा उक्लेका छन् । रहिमले ४ हजार ४१३ रन बनाउँदै तमिम इकवाललाई पछि पारे । इकवालले ४ हजार ४०५ रन बनाएका छन् ।

यस्तै बंगलादेशका लागि कप्तान मोमिनुल हकले पनि शतक प्रहार गरे । उनले २३४ बल खेल्दै १४ चौका मद्दतमा १३२ रन जोडे । नजमुल होसेन सान्तो र विकेटकिपर लिटन दासले अर्धशतक बनाएपछि बंगलादेशले उच्च स्कोर बनाएको हो ।

तेस्रो दिनै दोस्रो इनिङ्स शुरु गरेको जिम्बावेले ५ ओभर खेल्दा २ विकेट गुमाइसकेको छ भने ९ रन जोडेको छ । पहिलो इनिङ्समा जिम्बावेले २६५ रन बनाएको थियो । जिम्बावे अझै २८६ रनले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment