Comments Add Comment

जुद्धको नासो मासिने चिन्ता

भत्काउने महानगरको तयारी, बल प्राधिकरणको कोर्टमा

काइ वाइजेको फेसबुकबाट ।

१३ फागुन, काठमाडौं । काठमाडौं, केशरमहल बस्दै आएका पुरातत्वविद् काइ वाइजे दिनहुँ जसो जुद्ध वारुण यन्त्रको भवनबाट ओहोरदोहोर गर्छन् । ‘वसन्तपुरमा निर्माण भइरहेको काष्ठमण्डपमा साइकल जाँदा आउँदा यो ऐतिहासिक भवन किन भत्काउन मरिहत्ते गरेको होला जस्तो लाग्छ’, वाइजे भन्छन् ।

विश्व सम्पदाका ज्ञाता वाइजे काठमाडौं महानगरपालिका वा कुनै पनि निकायले भवन भत्काउन नहुने बताउँछन् । उनले जुद्ध वारुण यन्त्रको भवनप्रति मोह देखाउनुको कारण हो, पुरातत्व विभागले नै भत्काउन अनुमति दिनु ।

न्यूरोडमा रहेको जुद्ध वारुण यन्त्रको भवन भत्काउन काठमाडौं महानगरले दुई वर्षअघि देखि प्रयत्न गरिरहेको थियो । पुरातत्व विभागले पनि पुरानो मौलिक स्वरुप कायम राखेर बनाउन अनुमति दिएको विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन् । ‘नाप नक्सा हेरेर भवनको जीर्णोद्वार गर्न अनुमति दिएका छौं’ उनले भने, ‘ऐन कानून हेरेर पुराना भवनको संरक्षणसम्बन्धी मान्यता अनुरुप नै मौलिक स्वरुप नबिग्रिने गरी काम गर्न सहमति दिएका हौं ।’

पुराना भवनको संरक्षणमा पुरातत्व विभागको चासो रहन्छ । विभागको ऐतिहासिक र पुरातात्विक भवन अनुमतिविना भत्काउन पनि कानूनले दिँदैन । काठमाडौंका थुप्रै पुराना दरवारहरु भत्काउने सरकारी योजनालाई विभागले रोकेको पनि छ ।

तर, जुद्ध वारुण यन्त्रको भवनलाई भत्काउने महानगरपालिकाको योजनामा विभागको पनि साथ छ ।

के छ महानगरको योजना ?

अदालतको आदेश र विज्ञ समितिको प्रतिवेदनपछि बागदरबार भत्काउने योजना विफल भएसँगै महानगरपालिका वारुण यन्त्र भवनतिर सोझिएको छ । यसलाई सम्पदा प्रेमीहरुले सम्पदामाथि महानगरको ‘गिद्दे नजर’ भन्ने गरेका छन् ।

महानगरपालिकले भने जुद्ध वारुण यन्त्रको भवनलाई भत्काएर आधुनिक र पुरानो स्वरुपको संयोजन गरेर नयाँ भवन बनाउे बताएको छ । नयाँ भवन तीन तले बनाउन प्रस्ताव गरेको छ ।

अहिलेको भवनको भुइँ तलामा ५ वटा दमकल राख्ने गरिएजस्तै नयाँ भवनमा पनि दमकल अट्ने क्षमता भने साविककै राख्न प्रस्ताव गरिएको छ । भवनको दोस्रो तलामा कर्मचारीको आवास र स्टोर तथा तेस्रो तलामा १२० जना अट्ने सभाहल बनाउने योजना छ । सभाहलमा कर्मचारीलाई तालिम, सेमिनार जस्ता क्रियाकलापमा सहभागी गराउने योजना बनाइएको छ ।

भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने भएकाले भत्काएर नयाँ बनाउने खोजिएको महानगरको तर्क छ । त्यसका लागि टेन्डर गर्ने तयारी भइरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । तर महानगरपालिकाले बनाउने भनेको भवन पुरातात्विक महत्वको जुद्ध वारुण यन्त्र भवन हुनेछैन, बाहिरबाट हेर्दा मात्र त्यस्तो देखिनेछ ।

पुरानो भवन भत्काएर नयाँ भवन बनाउनका लागि महानगरपालिकाले १० करोड बजेट खर्च गर्ने योजना बनाएको छ । भवन भत्काइहाल्नुपर्ने अवस्था देख्ने चाहिँ काठमाडौं महानगरपालिका र पुरातत्व विभाग मात्रै हुन् । जुद्ध वारुण यन्त्रकै कर्मचारीहरू आफैं यस्तो मौलिक भवनको अस्तित्व मेटाउने निर्णयको पक्षमा छैनन् ।

वारुण कै कर्मचारी असन्तुष्ट

जुद्ध वारुण यन्त्र कार्यालय एक कर्मचारी ऐतिहासिक भवन भत्काइहाल्नुपर्ने कुनै ठोस कारण नरहेको बताउँछन् । प्रवलीकरण (रेट्रोफिटिङ) गरेर दुरुस्त गर्दा हुने भवनलाई ठेक्काको कमिसन पाउने चक्करमा भत्काउन तयारी गरिएको उनको दाबी छ ।

‘पुराना दरबार र भवन भत्काएर त्यसको ठेक्का हात पर्ने गिरोहले ऐतिहासिक जुद्ध वारुणको भवनलाई माटोमै मिसाउने भए,’ नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्, ‘संसारमा कति पुराना भवन रेट्रफिटिङ गर्दा सयौं वर्ष टिक्छन्, यो भवन सानोतिनो भूकम्पले भत्किने अवस्था अझै पनि छैन ।’

जुद्ध वारुण यन्त्र काठमाडौंको कार्यालयमा अहिले तीन दर्जन कर्मचारी कार्यरत छन्, जसमध्ये झण्डै ३० जना कर्मचारी अहिले पनि नियमितरुपमा सोही भवनको माथिल्लो तलामा बस्छन् । माथिल्लो तलामा हाल १० वटा कोठा छन् ।

त्यहाँ कर्मचारीको बसोबाससँगै उपकरण स्टोर, लत्ताकपडा, विभिन्न सामग्री राख्न प्रयोग भइरहेका छन् । दुई रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलाका दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट ल्याइएको ‘मोरिस’ कम्पनीको पुराना मोडलको दुई दमकल संग्रहित गरेर राखिएको छ । तल्लो तलामा पाँचवटा दमकल तयारी अवस्थामा राखिन्छन् ।

जुद्धको नासो मासिने चिन्ता

वि.सं. १९९० सालको भूकम्प गएको ४ वर्षपछि १९९४ मा जुद्ध वारुण यन्त्र स्थापना भयो । राणाकालका सातौं प्रधानमन्त्री जुद्धसमशेर जबराले आफ्नै नाम दिएर उपत्यकामा वारुण यन्त्र संस्था स्थापना गराएका थिए । बेलायत भ्रमणमा जाँदा त्यहाँको दमकल सेवाबाट प्रभावित भएर उनले दमकल स्थापना गरेका थिए ।

काठमाडौंमा स्थापना भएको सात वर्षपछि विसं २००१ मा ललितपुर र भक्तपुरमा पनि जुद्ध वारुण यन्त्रको सेवा विस्तार गरिएको थियो । जुद्ध वारुण यन्त्र भक्तपुरको भवन ०७२ को भूकम्पले समान्य क्षति पु‍र्‍याएको छ । तर, भत्काइहाल्नुपर्ने अवस्था नरहेको महानगर कै कर्मचारीको स्वीकारोक्ति छ ।

‘कर्नरहरु चर्किएको छ, अगाडिको गारो केही भत्किएको छ, तर पुरै भत्काइहाल्नुपर्ने छैन,’ एक अग्नि नियन्त्रक भन्छन्, ‘सुधार्ने अवस्था हुँदाहुँदै डोजरले हान्नुपर्ने किन ?’

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ ऐतिहासिक महत्वको भवनलाई संरक्षणको योजना ल्याउनुपर्ने समयमा स्वरुप बिगारेर नयाँ भवन बनाउन खोज्नु गलत भएइको बताउँछन् । ‘विश्व सम्पदा सम्पदा क्षेत्रमा रहेको यस्तो ऐतिहासिक भवन भत्काएर नयाँ भवन बनाउने विषय यति हल्काफुल्का छैन,’ उनी भन्छन्, ‘सम्पदा जोगाउने अभियानमा जनताको भन्दा बढी भूमिका महानगरपालिका, जनप्रतिनिधि र पुरातत्व विभागको हुनुपथ्र्यो, तर यस्ता विडम्बनापूर्ण निर्णयहरु लगातार आउँदैछन्, जुन भावी पिँढीका लागि सुखद् छैनन् ।’

बल पुननिर्माण प्राधिकरणको कोर्टमा

जुद्ध वारुण यन्त्रको भवन भत्काउने कि नभत्काउने भन्ने सवाल अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुगेको छ ।

प्राधिकरणका प्रवक्ता मनोहर घिमिरेले भवनको प्राविधिक रिपोर्ट प्राधिकरणमा आएको जानकारी दिए । प्राधिकरणको प्राविधिक टोलीले भवनबारे अध्ययन गरेपछि मात्रै यसबारे के गर्ने भन्ने निर्णय हुने घिमिरेले बताए । उनी भन्छन्, ‘प्राधिकरणले प्राविधिक विषय हेर्छ र उचित निर्णय लिन्छ ।’

पुरातत्व अभियन्ता काइ वाइजे भने जुद्ध वारुण पनि विश्व सम्पदा क्षेत्रकै एउटा भाग भएको बताउँछन् । वाइजेले दमकल राख्न नमिल्ने भए पुरानो भवनलाई संग्राहलय बनाउन सकिने बताए । ‘यो भवन भत्काईहाल्नुपर्ने अवस्थामा छैन । यो भवनका दुई वटा भागमा बनेको छन्, त्यही दुई भाग जोडिएको ठाउँमा सामान्य चर्किएको छ,’ उनले भने, ‘आवश्यक नै हो भने सँगैको खाली भागमा मापदण्ड पुरा गरेर भवन थप्दा हुन्छ, तर पुरानो भत्काउनु हुन्न । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment