+
+
Shares

ज्ञानको बन्ध्याकरण फिर्ता लिन चेतावनी

आन्दोलनका कार्यक्रमहरु कम भएकोमा राम कार्कीको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते २०:११

१४ फागुन, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा विदेशी पुस्तक आयातमा लगाएको भन्सार महसुलको विरोधमा पूर्वप्रधानमन्त्री एवं मन्त्रीहरुले ऐक्यबद्धता जनाएका छन् ।

ज्ञानको दायरा फराकिलो बनाउनुपर्नेमा सरकार झनै संकुचित हुँदै गएको तर्फ सत्ता पक्षका एवं विपक्षी दलका नेताहरुले समेत विरोधमा ऐक्यवद्धता जनाएका हुन् ।

सरकारले पुस्तक आयातमा लगाएको करको विरोधमा उत्रिएका पाठकहरुको मागप्रति ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री राम कार्की, राजनीतिक विश्लेषक सिके लाल लगायत बुधबार साँझ पाटन दरबार क्षेत्र आएका थिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले आयातित पुस्तकमा कर लगाउने नाममा गरिएको ज्ञानको बन्ध्याकरण फिर्ता लिन चेतावनी दिए । निःशुल्क गर्नुपर्ने पुस्तकहरुमाथि झनै कर बढाएर सरकार काशी जान कुतीको बाटो हिँडेको आरोप लगाए । सरकारले कर फिर्ता नलिए त्यो सरकार कै लागि भारी पर्नेतर्फ सचेत गराएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा सांसद राम कार्कीले अहिले देशमा आन्दोलन हुनै छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन् । रोजा अलेजेन्ड्रोले भनेको जस्तै नेपालमा अहिले समाजवादी चेतना जबर्जस्ती लाद्ने नाममा वर्गीय संगठनहरुको जैविक चेतना नष्ट हुँदै गएकोमा चिन्ता जाहेर गरेका छन् । यस्ता स्वतन्त्र मुद्दाहरुमा पहिले पाटनका गल्लीमा स्वतस्फूर्त हजारौं मानिस जम्मा हुने भएपनि अहिले वर्गीय संगठन बनेपछि महत्वपूर्ण मुद्दामा समेत आन्दोलन हुन छाडेको उनको बुझाइ छ । वैचारिक रुपमा हस्तक्षेप गरेपनि नेतृत्व चयनमा वर्गीय संगठनमाथि हस्तक्षेप नगर्न राजनीतिक पार्टीलाई कार्कीले आग्रह गरे ।

कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरुले समाजवादी सरकारमा पुस्तक सस्तो हुनुपर्नेमा किताब पढ्नै नसक्ने बनाउनुले सरकारको नियतमाथि शंका उब्जिएको बताए । उनीहरुले बिन्तीपत्र हालेर प्रजातन्त्र नचल्ने भन्दै आफ्नो मौलिक हकको लागि आवाज उठाउनै पर्नेमा जोड दिएका छन् ।

राजनीतिक विश्लेषक सिके लालले आन्दोलन गर्नुपर्ने सारा मुद्दाहरु छाडेर पुस्तकमा कर नलगाउ भनेर आन्दोलन गर्नुपरेकोमा दुःख व्यक्त गरे । सभ्य समाजमा पुस्तकमाथि अनुदान दिनुपर्नेमा झनै कर लगाउनुले सरकारको नियत स्पष्ट भएको बताए । ‘आजभोलि धेरै साथीहरु फेसबुक विश्वविद्यालयबाट, ह्वाट्स एप युनिभर्सिटी, ट्वीटर पाठशाला र गुगल बराजुलाई आधार मानेर पढ्ने गरेका छन् । यो पनि नराम्रो कुरा होइन । तर, अरु कुराले सोधेको कुरा मात्रै बताउँछ । तर, पुस्तक मात्रै त्यस्तो ज्ञान हो । जसले सोचेको कुरा बताउँछ ।’

मोबाइल फोन र अरु विद्युतीय साधनहरुमा पनि पुस्तक पढेर ज्ञान पाउन सकिने भएपनि पुस्तकले चिन्तनसहितको ज्ञान दिने भएकोले पुस्तकको विकल्प नरहेको उनको बुझाइ छ ।

मेक बुक ट्याक्स फ्रि अभियान अन्तर्गत बुधबार दशौं दिन पाठक एवं दर्शकहरुले पाटन दरबार परिसरमा विरोध प्रदर्शन गरेका छन् । यही विरोधमा अहिले दमकमा तीनदिनदेखि, पोखरामा दुईदिनदेखि प्रदर्शन चलिरहेको छ । करको विरोधमा बुटवल, इटहरी लगायतका शहरहरुमा समेत प्रदर्शन चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?