Comments Add Comment

कन्हैया कुमारले भने– दिल्ली सरकारलाई धन्यवाद

१७ फागुन, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारले आफूविरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएकामा दिल्ली सरकारलाई धन्यवाद दिएका छन् ।

‘सत्यमेव जयते’ अर्थात् ‘सत्यको जित हुन्छ’ भन्दै उनले दिल्ली पुलिस र सरकारी वकिलहरुलाई यस मुद्दालाई गम्भीरतापूर्वक लिन र फास्टट्र्याकबाट किनारा लगाउन आग्रह गरेका छन् ।

अरविन्द केजरीवाल नेतृत्वको सरकारले शुक्रबार कन्हैया कुमारसहित १० जनाविरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको थियो ।

दिल्ली प्रहरीको आरोप पत्रमा कन्हैया कुमारसँगै भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) नेता डा. राजाकी छोरी अपराजिता, जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयू विद्यार्थी संघका नेता शैहला रशीदसहित ३६ जनाको नाम छ । आरोपपत्रसँगै सीसीटीभी फुटेज, मोबाइल फुटेज र अन्य दस्ताबेज प्रमाणको रुपमा पेस गरिएको छ ।

के हो मुद्दा ?

सन् २०१६ फेब्रुअरी ९ तारिखमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा केही अज्ञात व्यक्तिले भारतीय संसदमा हमलाका दोषी अफजल गुरुलाई मृत्युदण्डको सजायँ दिइएको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा केही युवाले भारतविरोधी नारा लगाएका थिए । त्यतिबेला कन्हैया कुमार जेएनयूको विद्यार्थी संघको अध्यक्ष थिए । उनले विरोध प्रदर्शनलाई सम्बोधन पनि गरेका थिए ।

प्रहरीले कन्हैया कुमार र उमर खालिदलाई राजद्रोहको आरोपमा त्यतिबेलै पक्राउ गरेको थियो । तर, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरुविरुद्ध मुद्दा चलाउन अनुमति नदिएपछि उनीहरु रिहा भएका थिए ।

यो पनि पढ्नुहोस नरेन्द्र मोदीलाई अत्याउने कन्हैया कुमार !

रोचक कुरा त के छ भने केजरीवालले त्यतिबेला शानदार भाषण गरेको भनेर कन्हैया कुमारको प्रशंसा गरेका थिए, तर अहिले भने केजरीवालले नै कन्हैया कुमारलगायतलाई राजद्रोहको मुद्दा चलाउन अनुमति दिएका छन् ।

कन्हैया कुमार मोदी सरकारका कट्टर आलोचक हुन् । उनी हालै भारतको लोकसभा निर्वाचनमा बिहारको बेगुसराय क्षेत्रबाट भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवार बनेका थिए । कन्हैया कुमारलाई चुनाव प्रचारमा हौसला दिन नेपालका विद्यार्थी नेताहरु पनि बिहार पुगेका थिए ।  यद्यपि कन्हैया कुमार चुनावमा गिरिराज सिंहसँग पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment