Comments Add Comment

सय दिनमा शहरी विकास राज्यमन्त्रीले के-के गरे ?

राज्यमन्त्री मानन्धर भन्छन्– काठमाडौं उपत्यकालाई घेर्ने गरी थप १० नयाँ शहर बनाउन छलफल थालिएको छ

१९ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दस स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालिएको शहरी विकास मन्त्रालयले जनाएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले १०० दिनमा भएका प्रगति विवरण सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

नुवाकोटको छहरे–थानसिंह, बट्टार–बिदुरदेखि बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गँगटे–पिपलटार–बुहुनीबेसी–देबीघाट–महादेवफाँट–गल्छी नयाँ सहर र गल्छीदेखि नुवाकोटको चाउथे हुँदै बन्चरेडाँडा–तीनपिप्ले नयाँ शहर निर्माणका लागि सरोकारवालासँग बृहत्तर योजनासहित छलफल थालनी भएको राज्यमन्त्री रामवीर मानन्धरले बताए ।

यसैगरी धादिङको नौबिसे–गल्छी, मकवानपुरको इन्द्रसरोबर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित गरेर बृहत्तर शहर निर्माणसँगै बृहत्तर राजधानीको विकास, प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पना गरिएको छ ।

यस्तै धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक शहर निर्माणका लागि आवश्यक छलफल थालनी गरिएको राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।

राज्यमन्त्री मानन्धरका अनुसार स्वच्छ, सुन्दर र व्यवस्थित शहरीकरण विकासका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा निर्माणाधीन चार शहरको विस्तृत परियोजना र प्राविधिक प्रस्ताव अध्ययन चालू अवस्थामा छ ।

शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ३७ प्रतिशत वित्तीय प्रगति गरेको छ । ३६ अर्ब ८५ करोड कूल बजेटमध्ये १३ अर्ब ६५ करोड खर्च भएको छ ।

पाँच अर्ब तीन करोडको लागतमा १२ भवनसहित निर्माणाधीन संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास र सभागृह निर्माणलगायतका काम अघि बढेका विषयलाई प्रगति विवरणमा समेटिएको छ । साथै बालाजुबाट भित्री ग्रामीण क्षेत्र प्रवेश गर्ने दगुर्नेपानीमा वर्षौंदेखि ल्झिएको मुआब्जा विवाद समाधान गराइएको र यो मार्ग भएर जाने काँठ क्षेत्रको आवागमनमा सहजता आएको राज्मन्त्री मानन्धरले बताए ।

इचङ्गुनारायण जग्गा एकीकरण आयोजनाको प्रवेशमार्ग फराकिलो बनाउन त्यस ठाउँमा रहेका घरजग्गाको मुआब्जा विवाद समाधान गरिएको, सरकारले घोषणा गरेका २७ नयाँ शहरमध्ये मध्यपहाडी लोकमार्गमा पर्ने १० शहर निर्माण अघि बढाइएको र काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमास्थलस्थित बञ्चरेडाँडामा स्यानेटरी ल्याण्डफिल साइटको निर्माण आगामी वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए ।

हेर्नुहोस् राज्यमन्त्री मानन्धरले सार्वजनिक गरेका १८ बुँदे प्रगति विवरण

सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्पसहितको महाअभियानमा मिति २०७६ मंसिर ५ गतेदेखि शहरी विकास राज्यमन्त्रीका रुपमा नियुक्त भई सय दिनको यात्रा पुरा गरेको छु । यो अवधिमा राज्यमन्त्रीका रुपमा मैले माननीय मन्त्रीज्यूसँग समन्वयमा रही निम्न प्रयासहरु गरेको अवगत गराउँदछु ।

१. काठमाडौं उपत्यकाको फोहर दीर्घकालीन व्यवस्थापनका लागि निर्माणाधिन नुवाकोट र धादिङको सीमानास्थित बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइटको निर्माणलाई तीव्रता दिन पुस १८ गतेपछि पटक पटक स्थलगत अनुगमन गरिएको छ । अनुगमनका साथै निर्माण कार्यलाई तीव्रता दिन आवश्यक निर्देशन र बजेट व्यवस्थापनमा सहजीकरण गरिएको छ । यस्तै फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगसँगै फोहरलाई छुट्याउनेर उmर्जा र प्रांगारिक मल उत्पादन गर्ने र नसड्ने फोहरलाई भट्टीमा जलाई निस्किएको धुलोबाट निर्माण सामग्री जस्तै– ईटा, ब्लक, टायल लगायत निर्माण सामग्री बनाउन सकिने बहुउद्देश्यीय र बहुउपयोगी प्रविधि भित्र्याउनेबारे छलफल अगाडि बढाइएको छ । बन्चरे डाँडामा आगामी नयाँ वर्षदेखि फोहर विसर्जन गर्नेगरी कामलाई तीव्रता दिन आवश्यक व्यवस्था मिलाइएको छ ।

२. आधुनिक युग र प्रविधिको विकाससँगै सबैको चाहना अनुरुपको स्वच्छ, सुन्दर र व्यवस्थित शहरीकरणको विकासका लागि काठमाडौं उपत्यकाको तीनै जिल्लामा निर्माणाधीन चार नयाँ सहरहरुको डिपीआर लगायत प्राविधिक पक्षहरुको अध्ययन चालु अवस्थामा छ । ती शहर निर्माण आरम्भ गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिइएको छ ।

३. काठमाडौं उपत्यकाको जनघनत्व कम गर्नका लागि उपत्यकासँगै जोडिएका जिल्लाहरुमा नयाँ शहर निर्माण थालली गर्नका लागि सम्बन्धित पक्षहरुसँग निरन्तर छलफलमा जुटिरहेका छौं । बृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं उपत्यकाको नजिक वैकल्पिक सहर निर्माणको लागि प्रस्तावित टोखा(छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटेहुँदै देबीघाट, रातमाटेहुँदै गल्छीसम्म र थानकोट–नौविसे निर्माणाधिन सुरुङ मार्गको नौविसेदेखि गल्छीसम्मको भू–भागमा सुविधासम्पन्न नयाँ सहर निर्माणका लागि बृहत्तर छलफल अगाडि बढाएका छौं । नुवाकोटको छहरेदेखि धादिङको गल्छीसम्मको करिब ३५ किलोमिटर र धादिङको गल्छीदेखि नुवाकोटको चाउथे–बन्चरे हुँदै काठमाडौंको तीनपिप्ले–बालाजु जोड्ने करिब ३० किलोमिटर सहित जम्मा ६५–७० किलोमिटरको उपत्यकालाई उत्तरतर्फको बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक राजमार्ग/चक्रपथ निर्माणका लागि सम्बन्धित पक्षसँग (सम्बन्धित जिल्लाका संघीय र प्रदेश सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेत) समन्वय गर्दै निरन्तर छलफल भइरहेको छ । उक्त राजमार्गमा रहनेगरी नयाँ शहर निर्माणका लागि सम्बन्धित जिल्लाका सांसद/स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफलको क्रममा रहेको छ ।

४. काठमाडौं उपत्यकाको जनचापको समुचित व्यवस्थापनको लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दस स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालिएको छ । नुवाकोटको छहरे–थानसिंह, बट्टार–बिदुरदेखि बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गँगटे–पिपलटार–बुहुनीबेसी–देबीघाट–महादेवफाँट–गल्छी नयाँ सहर र गल्छीदेखि नुवाकोटको चाउथे हुँदै बन्चरेडाँडा–तीनपिप्ले नयाँ शहर निर्माणका लागि सरोकारवालासँग बृहत्तर योजनासहित गहन छलफल थालनी भएको छ । धादिङको नौबिसे–गल्छी, मकवानपुरको इन्द्रसरोबर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित गरेर बृहत्तर शहर निर्माणसँगै बृहत्तर राजधानीको विकास, प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पनासहित छलफल आरम्भ गरिएको छ । यस्तै धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक शहर निर्माणका लागि आवश्यक छलफल थालनी गरिएको जानकारी गराउँदछौं ।

५. बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको छ । गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नती गर्नेको लागि पहल भएको छ ।

६. तनहुँको ब्यास–देवघाट–कालीगण्डकी करिडोर हुँदै दामोदरकुण्डसम्मको ८ सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणबारे आवश्यक अध्ययन गर्न मन्त्रालयस्तरबाट आवश्यक छलफल थालनीमा रहेको जानकारी गराउँदछौं ।

७. काठमाडौं उपत्यकासहित देशका मुख्यमुख्य सहरहरुमा देखिएको अव्यवस्थित पार्किङको समस्या समाधानका लागि पहल थालिएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउनका लागि सरोकारवालासँग पटक–पटक छलफल गर्दै गुरुयोजनाको परिकल्पना गरिएको छ । काठमाडौं उपत्यकाको अव्यवस्थित पार्किङको समस्या दीर्घकालीन रुपमा समाधानका लागि लैनचौर, नारायणहिटी दरबार क्षेत्र, भृकुटीमण्डप, विष्णुमति, बागमति, धोविखोला करिडोरमा व्यवस्थित पार्किङ स्थल निर्माणका लागि आवश्यक छलफल प्रक्रियाको थालनी गरिएको छ ।

८. काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गराईएको छ ।

९. कलंकीदेखि चाबहिलसम्म निर्माणाधीन चक्रपथ विस्तारलाई ट्राफिक मैत्री बनाउन आयोजना निर्माण पक्ष र सोसँग सम्बन्धित पक्षहरूसँग आवश्यक सुझाव संकलन गरी कार्य अगाडि बढाउन छलफललाई तीव्रता दिइएको छ । अण्डरपास, फ्लाई ‌ओभर, सुरुङ लगायतका प्राविधिक विषयको सुझाव संकलन थालिएको छ । वागमतीमा मिसिने चक्रपथ अन्तर्गत शाखा नदीहरुको प्राकृतिक वहाव व्यवस्थापन पक्षबारे छलफल थालिएको छ ।

१०. काठमाडौं उपत्यकाका भित्री सहरका सडकहरुको मर्मत सम्भार, खाल्डाखुल्डी पुर्नेलगायत अन्य व्यवस्थापकीय कार्यलाई तीव्रता दिन सरोकारवाला निकायसँग निरन्तर छलफल, अनुगमनसहित आवश्यक निर्देशन र कार्यान्वयनमा तिब्रता दिइएको छ ।

११. उपत्यकामा धुवाँ र धुलो न्युनीकरणका लागि पहल थालिएको छ । अन्तर मन्त्रालय समन्वयलाई मजबुत गराउँदै समन्वयात्मक ढंगबाट अव्यवस्थित तवरबाट सडकमा थुपारिएका निर्माण सामग्रीहरु हटाउन निर्देशन दिने र आवश्यक कारबाहीका लागि प्रशासनलाई समेत निर्देशन दिइएको छ । भित्री सहरका सडक र मुख्य बजार क्षेत्रका सइकमा पिच गर्ने कामको मन्त्रालयबाट पहल गरिएको छ । फलश्वरुप धुलो नियन्त्रणको अवस्थामा पुगेको छ ।

१२. काठमाडौंको उत्तरी क्षेत्र बालाजुदेखि भित्री ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दगुर्नेपानीमा वर्षौंदेखि अल्झिएको मुआब्जा विवाद समाधान गराइएको छ । योसँगै उक्त बाटो हुँदै पुगिने काँठ क्षेत्रको आवागमन सहज हुने भएको छ । शेषमति–जरंकु–ठाँटी सडक कालोपत्रे गराइएको छ भने बालाजुको माछापोखरी–बाइपास सडकमा पिच गराइएको छ । यस्तै इचंगुनारायण जग्गा एकीकरण आयोजनाको प्रवेश मार्ग फराकिलो गर्नका लागि आवश्यक घर टहराको मुआब्जा विवाद समाधान एवं सो मार्ग विस्तारका लागि आवश्यक प्रयास भएको छ ।

१३. नेपाल सरकारबाट घोषणा भएका २७ वटा नयाँ सहरहरुमध्ये मध्यपहाडी लोकमार्गमा अवस्थित कार्यालय स्थापना भई निर्माणकार्य अगाडि बढाइएका दसवटा नयाँ सहरहरु क्रमशः तेह्रथुमको बसन्तपुर, पाँचथरको फिदिम, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, बागलुङको बुर्तीवाङ, तनहुँको डुम्रे भन्सार, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन शहर निर्माणका लागि मन्त्रालयबाट आवश्यक कामको थालनी भएको छ ।

१४. मन्त्रालय र अन्तर्गत संस्थागत आवश्यकता अनुरुप जनशक्ति व्यवस्थापनको लागि संगठनात्मक सर्वेक्षण ९इल्ः० को थालनी गरिएको छ । मन्त्रालय र अन्तर्गत कार्यरत अस्थायी/करार/ज्यालादारी कर्मचारीको विवरण एकिन गरी अध्यावधिक गर्ने कार्य गरिएको छ ।

१५. ५ अर्व ३ करोड लागतमा १२ वटा भवनसहित निर्माणाधीन संसद भवन/मन्त्री निवास/मुख्यमन्त्री निवास/सभाहलको निर्माणलाई तीव्रता दिन मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइएको छ ।

१६. आ.ब. २०७६/०७७ को दोस्रो चौमासिक अवधीमा ३६ अर्व ८५ करोड कूल बजेटमध्ये १३ अर्व ६५ करोड खर्च भएको छ । वित्तीय प्रगति ३७ प्रतिशत रहेकोमा संचालनमा रहेको आयोजना र कामहरुको गतिलाई थप गतिशिल बनाउन अनुगमन र निर्देशन दिइएको छ । स्रोत र साधनको समूचित परिचालन गरी उद्देश्य अनुरुपको लक्ष्य हासिल गर्न क्रियाशिल रहेका छौं ।

१७. मन्त्रालय मातहत चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक निर्देशनसहित स्रोत र साधनको समेत परिचालन गरिएको छ ।

१८. शहरी विकास मन्त्रालयको आन्तरिक व्यस्थापन र कार्यसम्पादन क्षमतालाई अभिवृद्धि गरी नमुना मन्त्रालयको रुपमा स्थापित गर्न हर तरहको प्रयास गरिरहेका छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment