Comments Add Comment

क्वाँ क्वाँ जिन्दगी !

सञ्चारमन्त्री गोकुल बास्कोटाको मन्त्री पद कमिसनको वार्गेनिङ आरोपमा चट् भयो । विगत तेह्र वर्षमा संघीय सरकारका १० मन्त्रीले पद गुमाए र प्रदेशतर्फ ४ जना मन्त्रीहरु बर्खास्त भए । मन्त्रीहरुले पदीय आचरण अनुकूल काम नगर्नाले पद गुमाएका हुन् ।

देखिएका घटना र काण्ड त यी भए तर यस्ता कयाैं काण्डहरु होलान् जुन पर्दामा आएका छैनन् । अहिलेको लक्षण हेर्दा अब क्रमशः आउँदै जाने छन् भन्न सकिन्छ । मन्त्रीहरुको यस्तो आचरण, व्यवहार, प्रवृत्ति र संस्कार गम्भीर चिन्ताका विषय हुन् ।  यस्तो कार्यले देशको भविश्य अन्धकारतिर जाँदैछ भन्ने संकेत गर्छ ।

एकातिर निमुखा गरिब नेपाली ओठ कलेटी लाएर बस्न बाध्य छन भने अर्कोतिर सरकारका ठेकेदार जनतालाई लात हानेर आफ्नो भुँडी भर्ने कार्यमा लिप्त छन् । गरिब जनता देशमा भई रहेको लुटतन्त्रको जिउँदो प्रमाणबाहेक अरु केही गर्न सकेका छैनन् । देशको दुर्गती टुलुटुलु हेर्न हेर्न बाध्य छन् । सरकार र राजनैतिक नेतृत्वको यस्तो बदनियपूर्ण व्यवहार भयानक क्यान्सरमा परिणत भएको छ । आज पनि जनताका सैयाैं समस्या र दुःखहरु जस्ताका तस्तै छन् । नागरिकलाई जीवन चलाउनै कठिन छ । क्याँ क्याँ गरेर बाँच्नु परेको छ ।

मानिसलाई दैनिक आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न नै धौधौ छ भने अन्य आवश्यकता परिपूर्तिको कुरै छाडौं । देशलाई विभिन्न बहानामा अस्तव्यस्त बनाउँदा समग्र नेपालीको जीवन नै समस्याको थुप्रो भएको छ । महंगीले आकाश छोएको छ । गरिबहरुकाे जीवन कष्टकर बन्दै गइरहेकाे  छ ।

नेपालमा कुनै तन्त्रले काम गरेन, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुदै अहिले राज्य ठोकतन्त्र र मनपरितन्त्र तिर आइ पुगेको छ । देशमा हत्या, हिंसा, बलात्कार, लुटपाट अपहरण आदी जस्ता समाज र कानून विपरीतका क्रियाकलापमा कमी आएको छैन । कानूनी शासनको प्रत्याभूति हुन सकेको छैन । राज्य सञ्चालकहरु आफनो ध्यान जनताको हितभन्दा आफ्नो भँडी बढाउनेतर्फ मात्र केन्द्रित छन् । जुन गतिविधिले गर्दा सोझा साझा नागरिकको आशाको त्यान्द्रो चुँडिएको छ ।

सर्वाधिक आशा गरिएको अहिलेको सरकारले नागरिकले अनुभूत गर्ने गरी कुनै पनि काम गर्न सकिरहेको छैन । प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र नेतालाई मात्र आयो, जनतालाई कहिल्यै आएन । जनता त बलीका बोका मात्र हुन् ।

अहिलेको कम्युनिष्ट सरकार गरिव जनताको दुःखको साथी बन्न पनि सकेन । अब्राहम लिङ्कले भनेका थिए प्रजातन्त्र भनेकोे जनताको लागि, जनताद्वारा, जनताले नै गर्ने शासन व्यवस्था हो । तर, नेपालको हकमा लिङ्कनको भनाइलाई उल्टो पारियो । यहाँ प्रजातन्त्र भनेको नेताका लागि, नेताद्वारा, जनता झुक्याउने तन्त्र प्रजातन्त्र हो ।

गणतन्त्रका र देशका ठेकेदार हौं भन्ने नेताको अदुरदर्शिताको परिणाम स्वरुप जनताको निराषा बढ्दो छ । अहिलेसम्म जनताको जीवनस्तर फेरिएन, जस्ताको त्यस्तै छ । जीवनस्तर कसैको फेरियो त नेताको मात्र ।

शासन चलाउने नेताको अल्पज्ञान, न्यून शिक्षाको स्तर, स्वार्थीपना, कुहिएको मानसिकता, सत्तामा पुगेपछि जे गरे पनि हुन्छ भन्ने मानसिकता, रुपया“ कमाउने उच्च चाहना आदी जस्ता कुराको परिणाम नागरिक टाउकोमा हत राख्न बाध्य छन् ।

स्वास्थ्य शिक्षाजस्ता आधारभूत कुराहरु उपलब्ध भएका छैनन् । कुनै गम्भीर प्रकृतिको रोग लाग्यो भने घर खेत बेच्नुपर्ने बाध्यता छ । तर, नेतालाई हाछयु आयो भने सरकारी पैशामा विदेश कुद्ने गर्छन् । राज्यले किसानलाई मल वीउ, विद्यार्थीलाई शिक्षा, रोगीलाई उपचार, बृद्धबृद्धालाई सहारा केही नै दिन सकेको छैन ।

श्रम गरेर खाने श्रमिकले आनन्दको सास फेर्न सकेको छैन । गरिव, असहाय र श्रमिकहरुको सरकार भनिएको अहिलेको सरकार दलाल पुँजीपतिहरुको चाकरीमा मात्र लागेको छ । गरिवहरुको संरक्षक बन्न सकेको छैन ।

तमाम समस्याहरुसंग देश जुधिरहेको परिप्रेक्ष्यमा चारैतिर अन्धकार मात्र देखिन्छ । विदेशीको चाकरी र दलाली गरेर नेपाल र नेपाली जनतालाई लात हान्नाले देश भयावह अवस्थामा पुगेको छ ।

मुलुकको समृद्धि र भविश्यलाई राजनीतिक चेतनाले नै मार्गदर्शन गर्छ । तर राजनैतिक मूल्य मान्यता अनुरुप सरकार अगाडी बढन नसक्नु नेपालीको दुर्भाग्य हो । मुलुक लामो समय राजनैतिक अस्थिरताबाट गुज्रिदै आयो । तर, अहिले स्थिर सरकार बनेको छ । खोक्रा सपना भन्दा अरु केही पाएका छैनन् । नेपालमा राजनीति नै भ्रस्ट भयो । कमाउनका लागि राजनीति गरियो । राजनैतिक संस्कार बसाल्ने काम गरिएन । राजनैतिक दलहरुको आचरण व्यक्ति केन्द्रित हुनु, पार्टीलाई गुटकरण गरी महासंघमा रुपान्त्तरण गर्नु, विदेशीको एजेन्टको रुपमा उपल्लो तहका नेताहरुले कार्य गर्नु, विकासको नाममा भ्रष्ट्राचारमा लिप्त हुनुजस्ता कारणहरुले गर्दा जनताले दुःख पाएको स्थिति छ ।

सरकार बनेको पनि दुई बर्ष पूरा भैसक्यो । तर, नागरिकका आधारभूत आवश्यकतालाई पनि सामान्य सम्बोधन गर्न सकेको छैन । यत्रो शक्तिशाली सरकारकोे यस प्रकारको गतिले कसरी समृद्धि आउला ।

अहिले नागरिकको सरकारप्रति अनास्था र वितृष्णा बढिरहेको छ । यस्तो हुनु चरम विडम्बना र दुःखद पक्ष हो । शक्तिशाली सरकार बने पछि आम जनतालाई ठूलो ठूलो स्वरमा कुर्लिएर मिठो र ठूला सपना देखाइएको थियो । तर, सबै सपना हावाले उडाइ दियो । आखिर जुन सरकार आए नि उस्तै त हुने रहेछ भन्ने नै जनतालाई महसुस भएको छ ।

अहिले राज्य सञ्चालक अलिकति पनि जनताप्रति जवाफदेही छैनन् । सरकारले जनताको जीवनस्तर रुपान्त्तर गर्नुपर्ने, तर नेताहरु आफैं परिवर्तन भए । महलमा बस्ने भए, महंगा गाडी चढ्ने भए । नेताहरुले जनतालाई बारम्बार डाटे, झुक्याए त्यसैले अहिले यो देशमा सबैभन्दा बढी आलोचना नै नेताको र सरकारको हुने गरेको छ ।

आफ्नो भाग्यको रेखा आफै कोर्ने बलियो आँट र आत्मविश्वास बोकेका नेपाली जनता राजनैतिक दल र नेताहरुको निकृष्ट व्यवहारबाट हैरान भएका छन् । आशै आशामा बाँच्नु बाहेक जनताको अर्को कुनै विकल्प छैन ।

राजनीतिलाई सेवाको रुपमा बुझ्नुपर्नेमा गरीखाने भाँडो बनाउँदा जनताप्रति अन्याय भएको छ । राजनैतिक आदर्श र दर्शन सपनाका व्यापार होइनन् । जीवन्त यथार्थ हुन् । ती सत्तामा पुग्ने भर्‍याङ होइनन्, जीवन चरित्रका यथार्थ हुन् भन्ने कुरा व्यवहारमा लागू नहँुदासम्म्म सिङगो राजनीति र राजनीतिक नेतृत्वप्रति वितृष्णा घट्ने होइन झन् बढ्ने हुन्छ । त्यसले राजनीतिलाई मूल्यहीन मात्र पार्दैन, राजनीतिक नेतृत्वलाई समेत पाखण्डी बनाउँछ । अहिले नेपालमा त्यही भइरहेको छ । जुन नहुनुपर्ने थियो ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तो नागरिकका आवश्यकता एकातिर सरकारको ध्यान अर्कातिर । सरकारले कुनै ठूला–ठूला काम गर्न पर्दैन । नागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गरे मात्र पुग्छ । विकास र समृद्धिको प्रधानमन्त्रीको नारा यस्तै पारा र गतिशीलताले पूरा हुने देखिँदैन । समाजवाद उन्मुख भनिएको हाम्रो देश पुँजीपतिको चंगुलमा फसेको छ । सरकार र अन्य राजनैतिक दलका नेताहरु तिनीहरुकै चाकरीमा लाग्नाले जनता आज सिलौटो माथि बसेर रुन बाध्य छ । अब सरकारले ढिलो नगरी योजनावद्ध ढंगले विकासको खाका तयार गरी अहोरात्र काम गर्नुपर्छ ।

समाजवादी सरकारले पुँजीपतिको भन्दा गरिव र श्रमिक बर्गको हितमा कार्य गर्नुपर्छ । अब पनि सरकार र अन्य राजनैतिक दलहरुले यस्तै हर्कत गर्दै जाने हो भने जनता पुन विद्रोहमा उत्रेर राज्यव्यवस्था फेर्न पुनः एकपटक नलड्लान् भन्न सकिन्न । राज्य चलाउनेहरुको घैंटोमा चाँडै घाम लागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment