Comments Add Comment

कोरोना भाइरस : संक्रमणबाट जोगिन के गर्ने ?

विश्व स्वास्थ संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै दक्षिणतर्फको छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा समेत कोरोना बिरुद्ध उच्च सतर्कता अपनाइएको छ । यो खतरनाक भाइरसबाट अहिलेसम्म करिब तीन हजारभन्दा बढीको निधन भइसकेको छ भने ९० हजार भन्दा बढी संक्रमित भएका छन् ।

सबैभन्दा समस्याको विषय के छ भने अहिलेसम्म यसको उपचार पत्ता लाग्न सकेको छैन । चीनपछि यो भाइरसले ईरान, हङकङ, जापान, इटली, अमेरिकासहित दर्जनौं देशहरुलाई चपेटामा पारिसकेको छ ।

भारतमा गत सोमबारमात्र कोरोना भाइरसका दुई नयाँ बिरामी देखा परे । एउटा दिल्लीमा तथा अर्को तेलंगानामा । भारतमा अहिलेसम्म कुल ५ जना बिरामीमा यो भाइरस भेटिएको पुष्टि भइसकेको छ ।

नेपालमा यसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि नै विभिन्न कडा कदमहरु चाल्न थालेको छ । त्यसलाई आम नागरिकले व्यवहारमा उतारेर भाइरसको संक्रमणबाट जोगिन सक्ने चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ संगठनको एड्भाइजरीका अनुसार दैनिक जीवनमा हामीले यदि सानो–साना काम गरिरह्यौं भने संक्रमणको खतरा निकै कम हुने देखिन्छ ।

नियमित रुपले हात धुने

दिनमा कति पटक नियमित रुपले साबुन र पानीले हातलाई कम्तिमा २० सेकेण्डसम्म धुनुपर्छ । ब्याक्टेरिया मार्ने क्षमता भएको राम्रो सेनेटाइजरको समेत उपयोग गर्न सकिन्छ । यसो गर्नाले हातहरुमा भएका भाइरसहरुबाट सजिलै छुटकारा मिल्छ ।

उचित दुरी बनाउने

आफ्नो वरपरका मानिसहरुबाट कम्तिमा तीन फिटको दुरी बनाइरहने कोसिस गर्नुपर्छ । खासगरी त्यस्ता व्यक्तिसँग, जसलाई रुघा अथवा खोकी लागेको छ । जब कुनै व्यक्तिले खोक्छ अथवा हाछ्युँ  गर्छ । त्यसबाट हावामा भाइरस फैलिन्छ । यदि तपाईं अत्यन्त नजिक रहनुभयो भने स्वासमार्फत् उक्त भाइरस तपाईंको शरीरमा सजिलै प्रवेश गर्नसक्छ ।

नाक, मुख र आँखालाई पटकपटक नछुने

प्राय: हामी आफ्नो नाक, मुख तथा आँखालाई पटक–पटक छोइरहन्छौं । त्यस्तो गर्नुहुँदैन । हाम्रो हत्केलाले थुप्रै प्रकारका वस्तुहरु छोइरहेको हुन्छ । त्यस्तो बेला हत्केलामा भाइरस समेत सर्नसक्छ । दुषित हत्केलामार्फत् भाइरस नाक, मुख तथा आँखामार्फत् शरीर भित्र पस्न सक्छ ।

हाछ्युँ गर्दा टिस्युको प्रयोग

आफ्नो वरपर कत्तिको सफा छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । ध्यान दिनुपर्ने अर्काे कुरा भनेको हाछ्यूँ गर्दा अथवा खोक्दा नाक तथा मुखलाई टिस्यूले छोप्नुपर्छ र तुरुन्त उक्त टिस्यूलाई डस्टबिनमा फ्याँक्नुपर्छ । हाछ्यूँ गर्दा निस्कने तरल पदार्थमा थुप्रै भाइरसहरु हुनसक्छन् र ती तीब्र गतिमा फैलन सक्छन् ।

ज्वरो, रुघाखोकीलाई हल्का रुपमा नलिने

यदि तपाईंलाई ज्वरो, खोकी अथवा श्वास फेर्न समस्या भइरहेको छ भने तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ । यसका साथै त्यस्तो भएको छ भने बढीभन्दा बढी घरमै बस्ने कोसिस गर्नुपर्छ । डाक्टरसँग सकेसम्म छिटो भेट्नाले बिरामीलाई समयमै पहिचान गर्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment