Comments Add Comment

कोरोनाको त्रास : ईपीएल क्रिकेट के हुन्छ ?

२१ फागुन, काठमाडौं । नेपाली खेलकुदकै सबैभन्दा चर्चा बटुल्न सफल एभरेष्ट प्रिमयर लिग (ईपीएल) टी–२० को चौथो संस्करण १ चैतदेखि काठमाडौंमा आयोजना हुँदैछ । फ्रेन्चाइज टिमहरुले भटाभट विदेशी खेलाडीहरु अनुबन्ध गरिरहेका छन् ।

तर विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा प्रतियोगिता के होला भन्ने चासो सुरु भएको छ । किनकी स्टार खेलाडी आउने भएकाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल हेर्न हजारौं दर्शक पुग्न सक्छन् ।

जबकी कोरोना संक्रमण नफैलिओस् भनेर सरकारले सभा, सभारोह स्थगित गरेको छ भने अरुलाई पनि नगर्न आग्रह गरेको छ । विश्वका अरु मुलुकहरुमा पनि कोरोनाकै कारण ठूलाठूला खेदकुद प्रतियोगिताहरु प्रभावित भएका छन् ।

त्यसैले इपीएल हुन्छ कि हुन्न भनने कौतुहलता क्रिकेट समर्थकहरुमा उठेको छ ।

आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रतियोगिताको तयारी भइरहेको बताए । अहिलेसम्म माथिल्लो निकायबाट खेल रोक्नु भनेर कुनै जानकारी नआएकाले आफूहरु प्रतियोगिता गर्न तयार रहेको उनले बताए ।

यस्तै नेपाल क्रिकेट संघले पनि अहिलेको अवस्थामा ईपीएल आयोजना हुने जनाएको छ । आफूहरुले त्रिवि क्रिकेट मैदान मात्र उपलब्ध गराउने भन्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘दर्शकलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य विषय हो । यसबारेमा छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ ।’

क्रिस गेल, केसरिक विलियम्स, जर्ज मुन्से जस्ता विदेशी खेलाडी अनुबन्ध गरेको पोखरा राइनोजका मालिक दिपा अग्रवालले पनि ईपीएलका लागि तयारी भइरहेको बताए ।

अहिलेसम्म लिग नहुने कुनै जानकारी नआएको भन्दै भनिन्, ‘कोरोनालाई लिएर सरकारले निगरानी गरिरहेको छ । दर्शकलाई कसरी व्यवस्थापन गर्ने आयोजकले सोचिरहेको छ । हामी हाम्रो तर्फबाट तयार भएर बस्नुपर्छ खेल्नुका लागि । हाम्रो विदेशी खेलाडी लगायत सबै टिम मार्च १२ मा काठमाडौं आइपुग्छ ।’

अरु देशमा के भइरहेको छ ?

कोरोनाको प्रभाव इटलीमा बढी परेको छ । सिरी ए का थुप्रै खेलहरु स्थगित भएका छन् । युरोपको क्लब प्रतियोगिता युरोपा लिगका खेलहरु दर्शक बिना खाली स्टेडियममा खेलाइएको छ । जापानमा यही जुलाई(अगष्टमा हुने भनिएको विश्व खेलकुदको कुम्भ मेला ओलम्पिक पनि हुने नहुने अन्योल कायमै छ । जापानका ओलम्पिक मन्त्रीले मंगलबार मात्र ओलम्पिक सर्ने सम्भावना रहेको तर २०२० भित्रै हुनसक्ने जानकारी गराएकी थिए ।

तर नेपालमा खेलकुद मन्त्रालयले खेलकुदका गतिविधिबारे केही औपचारिक निर्णय गरेको छैन ।

क्यान र ईपीएल आयोजकले भने सरकारबाट कुनै निर्देशन आए बेवास्ता गर्न नमिल्ने जनाएको छ ।

ईपीएलमा नेपालका ६ शहरको नामबाट ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्, जसमा साविक विजेता ललितपुर प्याट्रिओट्ससहित भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, विराटनगर वारियर्स र चितवन टाइगर्स छन् ।

यो पटक विश्व क्रिकेटका स्टारहरु क्रिस गेलसहित न्यूजिल्याण्डका कवरे एण्डरसन, वेष्ट इन्डिजकै ड्वाने स्मिथ र केसरिक विलयम्स, आयरल्याण्डका केभिन ओ ब्रायन र पउल स्ट्रलिङ, श्रीलंकाका उपल थरंगा, अफगानिस्तानका मोहमद शेहजाद जस्ता खेलाडीहरु नेपाल आउने पक्का भको छ ।

मंगलबार मात्रै टी २० का किङ गेलले ट्वीट गर्दै आफू नेपाल आएर खेल्न आतुर रहेको र गेल स्ट्रोमका लागि तयार हुन आग्रह गरेका थिए ।

ईपीएल प्रालिका प्रबन्ध निर्देशक अख्तरले पनि नेपाल आउने विदेशी खेलाडीहरु सरकारले अनअराइभल भिसा नदिने निर्णय गरेका देश भन्दा बाहिरका भएकाले असर नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment