Comments Add Comment
सफलताको कथा :

मुसहर बस्तीका एक्ला ‘एसएलसी होल्डर’

२२ फागुन, काठमाडौं । सरस्वती पूजाको दिन थियो । सरस्वतीको प्रसाद खाने दिन मौसम छर्लङ्ग खुलेको थियो । सरस्वतीको तस्वीरजस्तै बर्दिवास बजार घामले धपक्क बलेको थियो ।

बर्दिवास बजारबाट हामीले फोन लगायौं, ‘लौ न, एकपटक भेटौँ ।’

बर्दिवास बजार नजिकैको नमुना मुसहर बस्तीबाट मञ्जय सदाले फोन उठाए, ‘ओहो ! सर । आज स्कुलमा मेरा जिम्मेवारी छन् । स्कुल पुगेर विद्यार्थीहरुसँग सरस्वती पूजा गर्छु, अनि आइहाल्छु ।’

त्यतिबेला बिहानको आठ बजेको थियो । मञ्जय विद्यालयका लागि आफूलाई तयार पार्दै थिए ।

योभन्दा बढी दवाब दिन हामीसँग अधिकार थिएन । किनकि, मञ्जय जनता नमुना उच्च माध्यमिक विद्यालयका प्रावि शिक्षक हुन् ।

मुसहर समुदायको संस्कार र चरम गरिबीको चुनौतिलाई चिरेर मञ्जय जनता विद्यालयबाटै शिक्षाको उज्यालोतर्फ लम्किइरहे । बस्तीका अरु कसैले एसएलसी पास नगरेको तितो यथार्थ मञ्जयले १२ पास गरे देखाए । बीबीएस पढ्न शुरु गरे । र, शिक्षक भए ।

अहिलेसम्म पनि यो बस्तीबाट १० पास गर्ने अर्को कोही निस्किएको छैन । तर, अहिले बस्तीका ५० घर धुरीकै वालवालिका विद्यालय भने जान थालेका छन् । मञ्जय शिक्षक मात्र होइनन्, अध्याँरो बस्तीको चम्किलो बत्ति पनि हुन् ।

विद्यालयमा सरस्वती पूजा सकेर बर्दिवास बजार उक्लिएका मञ्जयले भने, ‘अहिले म आफैंले हाजिर बोलाउँछु । बस्तीका सबै वालवालिकालाई विद्यालय पठाउन उत्प्रेरणा दिइरहेको छु ।’

मञ्जयको बस्ती अहिले रातै भएको छ । मान्छेहरुलाई बस्ती छिर्न ५० रुपैयाँको टिकट लाग्छ । सफाचट छ बस्ती । हरेकजसो घरमा सीताराम कट्टेल र कुञ्जना घिमिरेका तस्वीर झुण्डिएका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले दुई वर्षअघि बस्ती निर्माण गरेपछि ऐलानी जग्गामा भएका अधिकांश मुसहरले लालपूर्जायुक्त घर पाएका छन् । घरसँगै बोनसमा ओढ्ने ओछ्याउने र ग्यास चुलो पनि । घरको भुँई तलमा तीन कोठा छन् । एउटा भान्सा र अरु दुई सुत्ने कोठा । कसैले फ्रिज राखेका छन् । पहिलो तलामा फराकिलो एउटा कोठा छ । अन्न भण्डार गर्न बनाइएको आँटी ।

बस्तीभित्रै सानु सदाको पसल छ । सबैका घरमा झलमल्ल बिजुली छन् । सयौँ वर्षदेखि चरम गरिबीमा पिल्सिएका मुसहरलाई अकस्मात आइपुगेको चिठ्ठा हो यो ।

जब मञ्जय सानै थिए, मुसहर बस्ती छि छि दुरदुरको एउटा नमीठो विम्ब थियो । न बस्तीमा सरसफाइ थियो, न मान्छे आफैंको । न घरहरु सफा थिए, न फोहोरको उचित व्यवस्थापन थियो । बस्तीका घरहरु घरजस्ता नभएर गोठजस्ता थिए । फुसले छाएको छाप्रो । मञ्जयको घरमा न ओढ्ने–ओछ्याउने थिए । न खाने अन्नको भण्डार । थियो त मात्र निराशा अनि ठूल्ठूला दुःखका पहाड ।

घरमा कापी किताव किन्ने पैसा नभए पनि मञ्जय बस्ती नजिकैको स्कुल जान थाले । स्कुल त्यस्तै १० मिनेटको दुरीमा थियो ।

मञ्जयको कक्षा कोठामा मुसहर बस्तीका साथी कोही थिएनन् । उनी कक्षा कोठामा छुट्टै बस्थे ।

मञ्जय शुरुवाती दिनहरु सम्झन्छन्, ‘मान्छेहरु मेरो नजिकै पर्दैनथे, सबैले जिस्क्याउँथे ।’

र, पनि उनले विद्यालय ओहोर–दोहोर गर्न छाडेनन् ।

घरमा पढ्ने वातावरण थिएन । घरभित्र पराल राखेर न्यानोबाट बच्थे । कहिलेकाँही पानी पर्‍यो कि नबर्सिदिनका लागि भगवानसँग प्रथना गर्दै रातभर जाग्राम बस्थे । पालीबाट पानी चुहिएर सुत्ने अवस्था नै हुँदैनथ्यो । र, पनि उनका बाबाले भन्थे– पढ्नुपर्छ बाबु, पढ् ।

उनी पाँच कक्षामा पुगे । तर, परिवारको अवस्था उस्तै थियो । बाबा–आमा बिहानै दाउरा लिन जंगल पुग्थे । र, बर्दिवास बजारको चोकमा ल्याएर बेच्थे । त्यही पैसाले बेलुकाको खानेकुरा लिन्थे । अनि आफूसँगै दुई छोरा र एउटी छोरीको ज्यान बचाउँथे ।

‘बचत भन्ने केही थिएन । दाउरा बेच्यो, त्यही पैसाले छाक टार्‍यो’, मञ्जय सम्झन्छन्, ‘दाउरा नबिकेको दिन भोकै बस्नुपर्थ्यो ।’

मञ्जयको मात्र होइन, सिंगो मुसहर बस्तीकै अवस्था त्यही थियो ।

बिहान स्कुल जाँदा कहिले उनको भान्सामा खाना पाकेको हुन्थ्यो, कहिले हुँदैनथ्यो । स्कुलबाट फर्किसकेपछि मञ्जय, उनको दाइ र बहिनी जंगल गएका बाबुआमाको बाटो हेरेर बस्थे । कहिले बाबा–आमा घर आइपुग्नका लागि ९/१० नै बजाउँथे । उनीहरु परालमा पक्लाक पुक्लुक, भोकै सत्थे ।

र, पनि उनले चप्पल लगाएर स्कुल जान छाडेनन् । बस्तीको एक मात्र मिहिनेती र जेहेन्दार विद्यार्थी भएकाले उनले स्कुलबाट पुस्तक पनि निःशुल्क पाउन थाले । समुदायका अरु विद्यार्थी कक्षा छोड्दै जान्थे, उनी कक्षा थप्दै जान्थे ।

उनी कक्षा ६ मा पुगे । एक कक्षामा जस्तै कक्षा ६ मा पनि दुईवटा सेक्सन थिए । १८० भन्दा बढी विद्यार्थी थिए । उनी तेस्रो भएर सात कक्षामा उक्लिए ।

रिजल्टको दिन घर फर्कंदा उनका हातमा नयाँ कापी थियो । र, निधारमा विजयको रातो अबीर । घरमा आएर मञ्जयले बाबा आमालाई भने, ‘म त तेस्रो भएँ नि !’

बुवा आमाको अनुहारको भावमा कुनै परिवर्तन आएन । दुःखले मख्लख्ख परेको अनुहार अघिल्लो दिन जस्तो थियो, मञ्जयको खबरपछि पनि उस्तै देखियो । बरु उत्साहित मञ्जयको खुशीको पारो सलाकसुलुक्कै घट्यो । मञ्जय भन्छन्, ‘मेरो बस्तीमा पढाइ भनेकै थाहा थिएन । मेरो बाबा आमालाई पढिरहेको छ भन्ने थियो, त्यसबाहेक केही थाहा थिएन ।’

तैपनि, बाबाले ढाडस चाहिँ दिन्थे, ‘मैले दुःख गरे पनि तैंले पढ् छोरा । धेरै पढ्नुपर्छ ।’

उका बाबामा शिक्षाप्रति यस्तो चेतना कसरी विकास भयो मञ्जयलाई नै थाहा छैन ।

आफैंमा मञ्जयको त्यो सफलता चानचुने थिएन । विदाका दिन जंगलमा दाउरा लिन गएर किताब हेरेर पढेका थिए उनले । बिहान अरुको खेतमा छेउकुना खन्न गएर बचेको समयमा पढेका थिए मञ्जयले ।

बस्तीमा कसैको घरमा बिजुली थिएन । टुकीको उज्यालोमा आफ्नो भविश्य खोज्दै तेस्रो भएका थिए मञ्जय ।

तर, बस्तीले उनको सम्मान गर्नुभन्दा उल्टै उडाउँथ्यो । बाबा आमासँग आएर भन्थे, ‘तेरो छोराले पढेर के गर्छ ? यी मेरो छोरा काममा गएर तीन/र सय कमाएर दिन्छ ।’

बस्तीबाट स्कुल जादा आउँदा पनि उनलाई साथीहरुले नै मजाकको पात्र बनाउँथे । उनलाई पढ्ने वातावरण पनि कहाँ थियो र बस्तीका हरेकजसो मानिस रक्सी पिउँथे र रातभर झगडा गर्थे । ‘गाउँले र बाबा ममीको दुःखले निकै पिरोल्थ्यो । अन्य समाज देख्थे, उनीहरुको घरमा विजुली बत्ति छ, राम्रो कपडा खाना छ’, मञ्जय भन्छन्, ‘मेरै समुदायमा किन यस्तो अँध्यारो भएको होला ? आज मैले राम्रो पढ्न सकिनँ भने पछि मैले पनि अरुकोमा गएर गुलाामी गर्नुपर्छ, अरुले हेप्छ भन्ने सोचाइ आउँथ्यो ।’

त्यसैले त उनले आठ कक्षा पनि तेस्रो भएर नै पास गरे । यतिबेलासम्म स्कुलका साथीहरुले उनलाई फरक ब्यवहार देखाउन थालिसकेका थिए । उनीहरुले भन्थे, ‘मलाई पनि तँसँगै हिँडा त ! परीक्षामा सिकाइदेलास् है ?’

तर, अबचाहिँ उनको खुट्टामा जाँगेबाट पाइन्ट लगाउन थालेका थिए । त्यही वर्ष उनकी आमाले सहकारीबाट थोरै ऋण निकालिन् । पैसा देखेपछि मञ्जयले भने, ‘मलाई जुत्ता किन्दिनु न !’

बाबाले भने, ‘किन्दे न त पढिरहेको छ ।’ त्यसपछि मञ्जयको खुट्टाले पहिलो पटक जुत्ता देखे । उनी सम्झन्छन्, ‘जुत्ता लगाएपछि अरु दिनभन्दा आधा घण्टा अघि स्कुल पुगेको थिएँ ।’

तर, कतिपय गाउँलेले अझै उनलाई जिस्क्याउन छाडेका थिएनन् । भन्थे, ‘तैं पढ्, तैं डाक्टर इञ्जिनियर बन् ।’

बस्तीमा झगडा होहल्ला हुन छाडेको थिएन । मञ्जय ती दिन सम्झन्छन्, ‘पछि पछि त अरुले झगडा गरेर डिस्टर्भ गर्छन् भनेर सम्साँझै सुत्न थालेको थिएँ । अनि अरु सुतेपछि १२–१ बजेतिर उठेर रातभर पढ्थेँ ।’

त्यसैले त बस्तीमै पहिलो पटक, पुस्तामै पहिलोपटक मञ्जयले एसएलसी पास गरे । २०७१ सालमा ।

मञ्जय एसएलसी पास भएको रिजल्टले दंग थिए । उनकै बस्ती नजिकैकी भवानी पौडेल (आण्टी)ले खुशी हुँदै पाँच हजार हातमा थमाइदिइन् । र, भनिन्, ‘यस्तो समाजमा बसेर पनि तिमीले कसरी पढ्यौँ ? मेरो छोराले पनि बोर्डिङ स्कुलबाटै एसएलसी पास गर्‍यो । तर, त्योभन्दा बढी खुशी मैले तिमीलाई एसएलसी पास गरेको देख्दा भएँ ।’

भवानीले सँधै स्कुल जाऊ गरेको मञ्जयले सम्झिए ।

उता घरमा पनि बाबाआमामा खुशीको सीमा थिएन । दुःखको भुमरीबाट उम्रिएको चाँदीको घेराजस्तो खुशी ।

त्यस दिन मुसहर बस्तीमा भोज नै भयो । ‘बाख्रा घरमै थियो, त्यसैलाई काट्यौँ । अलिकति चिउरा र मुरही किन्यौँ,’ मञ्जयले सुनाए, ‘गाउँभरिकालाई भोज खुवायौँ ।’

भवानीले पुरस्कारस्वरुप दिएको पैसा भने मञ्जयले भोजमा खर्च गरेनन् । २५ सय रुपैयाँमा तार, हुक किनेर ल्याए । अनि आफ्नै घरमा पहिलोपटक बिजुलीको उज्यालो छरे । ‘खासमा त्यो चोरीजस्तै हो । तर, उज्यालोमा पढ्नका लागि मसँग त्योभन्दा अर्को विकल्प थिएन’, मञ्जय आफैं प्रष्टीकरण दिन्छन्’, टुकीमा पढ्दा पढ्दा आँखै कमजोर भएको थियो ।’

उनको खुशी तीब्र गतिमा बढ्दै थियो । उनले तत्काल ‘होम ट्युसन’ को काम पाए । छ/सात जनालाई पढाउँथे । एकजनाको महिनामा दुई सय ५० रुपैयाँ । त्यतिबेला पहिला गिज्याउने गाउँलेहरुले जिब्रो टोक्दै भन्न थाले, ‘ओहो ! यो त मास्टर्स भैसकेछ रे ।’

मञ्जयले ट्युसनको पैसा खुरुक्क लिएर घरमा बुझाउँथे ।

उनी ११ कक्षामा भर्ना भए । त्यति नै बेला धुर्मुस–सुन्तली राहत बाँड्न उनको गाउँ आइपुगे । धुर्मुस सुन्तलीबाट पनि उनले पाँच हजार इनाम पाए ।

अब मञ्जयले ट्युसन पढाउन छोडेर गाउँलेलाई निःशुल्क पढाउन थाले ।

बेलुकीको समय एक घण्टा पढ्नका लागि उनीसँग ७० जना मुसहर बालबालिका आउँथे । शुरु–शुरुमा त पैसा पाइने लोभले बालबालिका नियमित आउन थाले । तर, उनकै अभिभावकले भन्न थाले कि पैसा कमाउने छोराछोरीलाई जम्मा गरेर मञ्जयले के गर्न खोजेको ? यिनीहरु पढेपछि घरको काम कसले गर्ने ? तर, मञ्जय सम्झाउँथे, ‘नपढेसम्म हामी कसैको पनि विकास हुँदैन । त्यसैले पढाउनुपर्छ ।’

सात महिना पढाएपछि मञ्जयको परीक्षा नजिकियो त्यसैले पढाउन छोडे । तर, त्यहीबेला उनको खुशीको तार च्वाट्ट चुँडियो ।

मञ्जयलाई सधैं पढाउन उत्प्रेरणा दिने उनका बाबा रहेनन् । मञ्जयको गला अवरुद्ध हुन्छ, ‘बुवाले जुन सपना साँच्नुभएको थियो । मलाई शिक्षक भएको नै देख्न पाउनुभएन । मेरो कमाइ खान पाउनुभएन । एक्लै हुँदा बुवालाई सम्झेर रुन्छु ।’

तर, फेरि अर्को खुशी मञ्जयको सामुन्ने आइपुग्यो ।

उनले १२ पास गरे । अनि बर्दिवास सिद्धार्थ बोर्डिङको शिक्षक भए । महिनाको १० हजार तलव अनि अतिरिक्त ‘कोचिङ क्लास’को आठ हजार रुपैयाँ । ‘आफ्नो पढाइ र बोर्डिङको अध्यापनले दिमाग खराबै हुन्थ्यो’, मञ्जय हाँस्छन्, ‘१० बजे गएपछि एघार घण्टी पढाउनुपथ्र्यो । ब्याचलर पहिलो वर्षमा निकै दुःख गरियो ।’

तर, वस्तीमा मञ्जयको जुन सान थियो, त्यसले उनी तृप्त हुन्थे । मान्छेहरु विना हिच्किचाहट भन्न थालेका थिए, ‘मञ्जय सर नमस्कार !’

एक वर्षपछि फेरि अर्को खुशी उनी सामुन्ने उभियो । आफैंले पढेको स्कुलमा करार शिक्षकको अफर आयो उनलाई । र, श्री जनता उच्च माध्यामिक विद्यालय बर्दिवास वडा १४ को शिक्षक बन्यो एउटा मुसहर ।

अहिले उनकी आमा दाउरा लिन जंगल गइरहनुपर्दैन । दाइले ट्याक्टर किनेर व्यापार गरेका छन् । समुदायमा सरकारी शिक्षकका रुपमा मञ्जयको कद निकै उच्च छ ।

बीबीएस तेस्रो वर्षमा अध्ययनरत मञ्जय अझै थुप्रै सपनाहरु चाङ लगाएर बसेका छन् । उनले अधिकृत बन्ने चाहाना पालेका छन् । अहिलेसम्म एकजनाले पनि एसईई पास नगरेको मुसहर बस्तीमा मञ्जय प्रेरणाको सतिसाल बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment