Comments Add Comment

कोरियामा कोरोना भाइरसविरुद्ध ‘विशेष स्याहार क्षेत्र’ घोषणा

२२ फागुन, काठमाडौं । दक्षिण कोरियाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि विशेष स्याहार क्षेत्र घोषणा गरेको छ । दक्षिण कोरियामा रहेका अमेरिकी सेनामा पनि भाइरसको संक्रमण पाइएपछि त्रास बढेको हो ।

बिहीबार दक्षिण कोरियाले गेयोङसान सहरमा एक विशेष स्याहार क्षेत्र घोषणा गरेको हो । यो सहरमा २ लाख ७५ हजार मानिसको बसोबास छ । राजधानी सोलबाट २५० किलोमिटर दक्षिणपूर्वमा पर्ने यो शहरमा पर्याप्त मास्क उपलब्ध गराइनेछ ।

दक्षिण कोरियाको यो सहरमा पछिल्लो समय उल्लेख्य संख्यामा नयाँ संक्रमित देखिएका छन् । दक्षिण कोरियाले यसअघि नै डेगु र चियोङदो सहरमा यस्तो क्षेत्र घोषणा गरिसकेको छ ।

दक्षिण कोरियाको ७५ प्रतिशत संक्रमित डेगुको आसपासमा देखिएका छन् । यो दक्षिण कोरियाको चौथो सबैभन्दा ठूलो सहर हो । चीनबाट आएको यो भाइरस धार्मिक समूहमा व्यापक मात्रामा फैलिएको छ । डेगुका मेयर क्वोन योङ–जिनले प्रत्येक दिन युद्धजस्तै बितिरहेको तर आफ्ना नागरिकले समझदारी र साहस देखाएको बताए ।

अहिले दक्षिण कोरियाका अस्पताल नयाँ संक्रमितको संख्या घटाउन संघर्ष गरिरहेका छन् । यो सहरका अस्पतालमा अहिले २११७ बिरामी कोठाको लागि प्रतीक्षा गरिरहेका छन् । दक्षिण कोरियामा अहिलेसम्म यो भाइरसबाट मर्नेको संख्या ३५ पुगेको छ ।

दक्षिण कोरिया चीन बाहिर संक्रमण सबैभन्दा धेरै फैलिएको मुलुक हो ।

अष्ट्रेलियाले दक्षिण कोरियासँगको हवाई प्रतिबन्ध बढाउने निर्णय गरेको छ । बिहीबार मात्र दक्षिण कोरियामा ४३८ जना संक्रमित थपिएका छन् । यससँगै दक्षिण कोरियामा समग्र संक्रमितको संख्या ५ हजार ७ सय ६६ पुगेको छ ।

अमेरिकी सेनामा संक्रमण

यूएस फोर्स कोरियाले बिहीबार दुई जनामा भाइरसको नयाँ संक्रमण भेटिएको बताएको छ । यससँगै सेनामा यो भाइरस संक्रमितको संख्या ६ पुगेको छ । भाइरसको संक्रमण भेटिए पनि अमेरिकी सेनाले आफ्नो नियमित काम भने छाडेको छैन ।

कमाण्डरले आफ्नो बेसलाई बाहिरी मानिसहरुबाट बचाइएको बताएका छन् । उनले उत्तर कोरियाबाट हुनसक्ने कुनै पनि चुनौतीका लागि आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् ।

अष्ट्रेलियाले दक्षिण कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि अमेरिकाले पनि दक्षिण कोरिया भ्रमणमा प्रतिबन्ध लगाउन सक्ने आशंका बढेको छ । बुधबार दक्षिण कोरियाको लागि अमेरिकी राजदूतले अमेरिकालाई दक्षिण कोरिया भ्रमणमा प्रतिबन्ध नलगाउन आग्रह गरेका थिए ।

दक्षिण कोरियामा कसरी फैलियो भाइरस ?

दक्षिण कोरियामा सिन्चेओन्जी चर्च अफ जेससबाट यो भाइरसको प्रकोप फैलिएको हो । उक्त चर्चबाट यो भाइरस फैलिएसँगै चर्चका प्रमुख ली मान–हीले सार्वजनिक रुपमा माफी मागिसकेका छन् । उक्त चर्चबाट भाइरस फैलिएसँगै अभियोक्ताहरुले मान–हीमाथि अनुसन्धानको माग गरेका छन् ।

दक्षिण कोरियामा फैलिएको अधिकांश भाइरस उक्त चर्चसँग सम्बन्धित देखिएको छ । यसअघि चर्चले त्यहाँ पुगेका मानिसको सूची पनि सरकारलाई दिएको थिएन । तर, चर्चले आफ्ना सदस्यको सुरक्षाको लागि भन्दै उक्त सूची नबुझाएको भन्दै बचाउ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment