Comments Add Comment

प्रचण्डको कार्यकारी भूमिका : नदेखाएको कि देखाउन नपाएको ?

२२ फागुन, काठमाडौं । करीव चार महिनाअघि नै कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनमा ‘कार्यकारी भूमिका’ देखाउन नसकेका हुन् वा अधिकार नपाएका हुन् ? नेकपाकै नेताहरुले प्रश्न उठाउन थालेका छन् । १५ दिनभित्र पार्टी एकीकरणका बाँकी काम सम्पन्न गरिसक्ने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको कार्यान्वयनमा कार्यकारी अध्यक्ष प्रचण्डको भूमिका नदेखिएपछि उनीमाथि प्रश्न उठेको हो ।

गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले एकताका बाँकी काम १५ दिनभित्र टुंग्याइसक्ने निर्णय गरेको थियो । तर पार्टी सञ्चालनको कार्यकारी जिम्मा पाएका अध्यक्ष प्रचण्डले एकीकरणका बाँकी काम अर्का अध्यक्ष ओलीसँगको परामर्शमा यसबीचमा टुंगो लगाइसक्नुपर्नेमा कुनै काम अघि नबढेको नेकपा स्रोतले जनाएको छ ।

उनले महासचिव बिष्णु पौडेलसँग सामान्य छलफल गरेपनि केन्द्रीय कमिटीको निर्णय कार्यन्वयन भएको छैन ।

पार्टी एकीकरणको मुख्य काम भने यसअघि नै सम्पन्न भइसकेको छ । दुई अध्यक्ष मिलेर मात्र हुने निर्णयहरु अब थोरै मात्र बाँकी छन् । केन्द्रीय सल्लाहकार परिषद, अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोग लगायतका केन्द्रीय निकायहरुलाई पूर्णता दिन बाँकी छ ।

त्यस्तै कतिपय जनवर्गीय संगठनका केन्द्रीय समितिलाई पूर्णता दिन बाँकी रहेकाले सो जिम्मा पनि केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ । केन्द्रीय कमिटीका ३२ वटा विभागका सदस्यहरुको टुंगो लगाउन बाँकी छ ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल केन्द्रीय कमिटीको निर्णय कार्यन्वयन गर्ने सन्दर्भमा कार्यकारी अध्यक्ष प्रचण्डले महासचिवको सहयोग लिएर एकीकरणका बाँकी काम टुंग्याउन सक्ने अधिकार रहेको बताउँछन् ।

आवश्यक पर्दा अर्का अध्यक्षसँग पनि परामर्श हुने भएकाले केन्द्रीय कमिटीको निर्णय कार्यन्वयनमा सचिवालय गम्भीर हुनुपर्ने रिजाल बताउँछन् । रिजाल भन्छन्– १५ दिनभित्र पार्टी एकीकरणका बाँकी काम टुंग्याउने निर्णय भएको हो । यसमा किन ढिलाई भयो भन्ने बुझ्न पाइएको छैन । केन्द्रीय कार्य योजना अनुसार प्रदेशका भेला बैठकहरु भएका छन् । बाँकी निर्णय पनि समयभित्रै कार्यन्वयन हुनुपर्छ ।’

केन्द्रीय कार्यालयबाट विभाग तथा अन्य आयोग र निकायहरुलाई पूर्णता नदिइँदा प्रदेश कमिटीले समेत एकीकरणका काम टुंग्याउन पाएका छैनन् । केन्द्रका विभागहरुमा नरहने व्यक्तिलाई प्रदेशमा समेट्नुपर्ने भएकाले चाँडो माथिबाट टुंग्याइदिए राम्रो हुने प्रदेश १ का इन्चार्ज भीम आचार्यले बताए ।

नेकपाले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदा थप २ हजार कार्यकर्ताले जिम्मेवारी पाउने रिजालले जानकारी दिए । कतिपय जिल्ला र प्रदेशको विवाद टुंग्याउने जिम्मा भने केन्द्रीय संगठन विभागलाई दिइएकाले यसमा कार्यकारी अध्यक्ष प्रचण्डको भूमिका अहिले नै खोजिएको छैन ।

पार्टी एकीकरणपछि दुवै अध्यक्षको हैसियत बराबरी भनिए पनि बैठकको अध्यक्षता गर्नेदेखि हरेक काममा केपी शर्मा ओली नै कार्यकारी भूमिकामा रहेपछि असन्तुष्ट बनेका प्रचण्डलाई गत मंसिर ४ गते सचिवालय बैठकले ‘कार्यकारी’ भूमिका दिएको थियो ।

सो बैठकले केपी ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र सरकार सञ्चालनको भूमिका केन्द्रित रहने भनेको थियो भने प्रचण्डलाई पार्टी सञ्चालनको भूमिकामा रहने जिम्मा दिएको थियो । यद्यपि पार्टी र सरकार सञ्चालन गर्दा दुवै अध्यक्षले आवश्यकता अनुसार सल्लाह गर्ने भनिएको थियो ।

कार्यकारी भूमिका पाए लगत्तै उत्साही भएका प्रचण्डले सचिवालयको एउटा बैठकसमेत पार्टी कार्यालयमा राखेका थिए भने स्थायी कमिटीको बैठकको अध्यक्षता उनैले गरेका थिए । ती दुवै बैठकमा ओली सहभागी थिएनन् ।

प्रचण्ड कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाउँदा जति उत्साही थिए, अहिले पार्टी सञ्चालनमा उनको ध्यान त्यसअनुसार केन्द्रित नभएको भन्दै नेकपामा आलोचना भइरहेको छ ।

अध्यक्ष प्रचण्ड केन्द्रीय कार्यालय पनि विरलै जान्छन् । नेकपा केन्द्रीय कार्यालय अचेल सुनसान हुनेगर्छ । अधिकांश नेताहरु कार्यालय जाँदैनन् । महासचिव बिष्णु पौडेल दिनमा प्रायः एकपटक कार्यालय पुग्छन् ।

जबकी पार्टीका भेला बैठक गर्ने, कार्ययोजना बनाउने र आवश्यकता अनुसार समन्वय गरेर नियमित पार्टी सञ्चालनका काम गर्ने जिम्मेवारी प्रचण्डलाई रहेको नेताहरु बताउँछन् ।

तर, अध्यक्ष प्रचण्डलाई चिन्ने पूर्वमाओवादीका नेताहरु भने उनी दैनिक पार्टी सञ्चालनका प्राविधिक काममा केन्द्रित रहने स्वभावका नेता नभएको बताउँछन् ।  प्रचण्ड ठूला राजनीतिक जोडघटाउ र अन्तरक्रियाहरुमा बढी रुची राख्छन् ।

त्यसैले पार्टीका आन्तरिक सांगठानिक संरचनाहरु सञ्चालन गर्न प्रचण्डको रुची नदेखिएको उनीहरु बताउँछन् । एक नेताले भने, ‘एउटा अध्यक्ष बिरामी भएर अस्पताल परे पनि अर्को अध्यक्षले पार्टी सञ्चालन गर्नुपर्ने हो । केन्द्रीय कमिटीका निर्णय कार्यन्वयन गर्न खासै ठूलो समस्या पनि छैन । तर, पनि कार्यकारी अध्यक्षले आफ्नो भूमिका देखाउन नचाहनुभएको हो वा नसक्नु भएको हो, बुझ्न सकेका छैनौं ।’

अध्यक्ष ओलीनिकट नेताहरु भने प्रचण्डको रुची पार्टीका नियमित कार्य सञ्चालन र संगठन व्यवस्थापनमा भन्दा पनि जोड घटाउमा देखिएको टिप्पणी गर्छन् । पछिल्ला भैंसेपाटी र खुमलटार बैठकबाट ओलीलाई सचिवालयमा अल्पमतमा पारिएपछि ती नेताहरुको यस्तो टिप्पणी आएको हो ।

तर, प्रचण्ड स्वयं पनि दैनिक पार्टी सञ्चालनका प्राविधिक कामहरुमा रुची राख्ने नेता भने होइनन् । लामो समय युद्धको तयारी र युद्धको सञ्चालन गरेका कारण उनले पार्टी सञ्चालनमा पूर्वएमालेको जस्तो व्यवस्थित तौरतरिका नजानेका हुन सक्छन् । पूर्वएमाले समूहका नेताहरुले व्यवस्थित र संरचनागत पार्टी सञ्चालनको अनुभव प्रचण्डलाई सिकाउन नसकेका को पो हुन् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment